सकियो प्रधानमन्त्री बालेनको भारत भ्रमण,कूटनीतिक भेटघाटसँगै केही देखिए रोचक दृश्य
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सकिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमण औपचारिक कूटनीतिक भेटघाटसँगै केही रोचक दृश्य र प्रतीकात्मक क्षणका कारण पनि चर्चामा रह्यो । कालो दौरा–सुरुवाल, कालै कोट, भादगाउँले टोपी र आँखामा कालो चस्मा । भारतको राजधानी नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दा प्रधानमन्त्री शाह आफ्नो परिचित ‘सिग्नेचर लुक’मै देखिए । तर, यो भेटमा पहिरनभन्दा बढी चर्चा भयो दुई प्रधानमन्त्रीबीचको कसिलो अंकमाल र उपहार आदानप्रदानको ।
प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भ्रमणको दोस्रो दिन राष्ट्रपति भवनमा औपचारिक स्वागत गरियो । भारतीय सेनाले गार्ड अफ अनर प्रदान गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं स्वागतका लागि उपस्थित थिए । त्यसपछि शाह महात्मा गान्धीको समाधिस्थल राजघाट पुगे र श्रद्धाञ्जली अर्पण गरे । आगन्तुक पुस्तिकामा उनले गान्धीका आदर्शले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्व निर्माणको यात्रालाई सधैँ उज्यालो बनाइरहने विश्वास व्यक्त गरे ।
गौतम बुद्धको जन्मभूमि नेपालबाट आएको उल्लेख गर्दै उनले गान्धीको विरासतमा पनि त्यही अमर प्रकाश देखेको बताएका थिए । राजघाटपछि शाह हैदरावाद हाउस पुगे । त्यहाँ मोदी र शाहबीचको भेटको सुरुवात नै कसिलो अंकमालबाट भयो । विश्वका नेताहरूसँगको ‘बियर हग डिप्लोमेसी’का कारण चर्चित मोदीले शाहलाई पनि आत्मीयतापूर्वक अंकमाल गरे । त्यसपछि दुवै प्रधानमन्त्रीबीच एक्लाएक्लै भेटवार्ता भयो भने लगत्तै प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता अघि बढ्यो । भेटवार्ताका क्रममा उपहार आदानप्रदान पनि भयो ।
मोदीले गंगाजलसहितको कलश प्रधानमन्त्री शाहलाई उपहार दिए । जवाफमा शाहले पशुपतिनाथ मन्दिरको पवित्र रुद्राक्ष र चन्दन मोदीलाई प्रदान गरे । गंगाजल र पशुपतिनाथको प्रसादले दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पनि प्रतीकात्मक रूपमा जोडेको देखियो । पहिरनमा भने दुवै प्रधानमन्त्रीको शैली फरक देखियो । शाह पुरानै कालो पहिरन र कालो चस्मामा देखिँदा मोदी सेतो पहिरनमा थिए । अंकमालदेखि औपचारिक वार्तासम्म शाहले आफ्नो परिचित शैली परिवर्तन गरेनन् । यसले उनको व्यक्तिगत पहिचानलाई पनि भ्रमणको चर्चित पक्ष बनायो ।
भ्रमणको अन्तिम औपचारिक कार्यक्रमअन्तर्गत शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरे । त्यसपछि दुईदिने भ्रमणका कार्यक्रम पूरा गरी उनी सोमबार नै स्वदेश फर्किए । भ्रमणका क्रममा देखिएका आत्मीयता र सांस्कृतिक प्रतीकसँगै भएका उच्चस्तरीय वार्ताले नेपाल–भारत सम्बन्धमा नयाँ विश्वास र सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई केवल औपचारिक शिष्टाचार र उच्चस्तरीय भेटघाटमा सीमित नराखी दुई देशबीचको सम्बन्धलाई परिणाममुखी बनाउने अवसरका रूपमा हेरिएको छ । भ्रमणका क्रममा आर्थिक साझेदारी, ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार र जनस्तरको सम्बन्ध विस्तारका विषयमा भएका छलफलले आगामी सहकार्यका लागि नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ ।
भारतले नेपालको पुनर्निर्माण र विकासका लागि घोषणा गरेको दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेजले पनि भ्रमणलाई थप महत्त्वपूर्ण बनाएको छ । तर, सहयोगको वास्तविक उपयोग, अघि बढाइएका परियोजनाको समयमै सम्पन्नता र नेपालको व्यापार तथा पारवहनसम्बन्धी चासो सम्बोधन हुनु उत्तिकै आवश्यक छ ।
मोदीसँगको आत्मीय अंकमाल र सांस्कृतिक उपहारले सम्बन्धको भावनात्मक पक्ष उजागर गरे पनि कूटनीतिक सम्बन्धको वास्तविक परीक्षा भने प्रतिबद्धता कार्यान्वयनमा हुनेछ । त्यसैले बालेनको यो भ्रमणले सिर्जना गरेको सकारात्मक वातावरणलाई ठोस उपलब्धिमा रूपान्तरण गर्नु नै अब दुवै देशको मुख्य चुनौती हो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १सकियो प्रधानमन्त्री बालेनको भारत भ्रमण,कूटनीतिक भेटघाटसँगै केही देखिए रोचक दृश्य
- २नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ आधारमा अघि बढाउने प्रतिबद्धता
- ३प्रधानमन्त्री बालेनको भ्रमणमा के के भए सहमति ? यस्तो छ मोदीको प्रतिबद्धता
- ४कसरी भयो एन्फामाथि लगाइएका सम्पूर्ण निलम्बन तथा प्रतिबन्ध फुकुवा ?
- ५प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तिब्र, के के छन् उठाउनुपर्ने मुख्य कुरा ?



तपाईको कमेन्ट लेख्नुहोस्