Techie IT
  • ८ मंसीर २०८३, सोमबार
KhojPatrika

प्रधानमन्त्री बालेनको भ्रमणमा के के भए सहमति ? यस्तो छ मोदीको प्रतिबद्धता


काठमाडौं । नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ आधारमा अघि बढाउने प्रतिबद्धतासहित प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सम्पन्न भएको छ । भ्रमणका क्रममा नेपालको लामो समयदेखिको मागअनुसार काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ भने सीमा समस्या समाधानका लागि कूटनीतिक पहल अघि बढाउने समझदारी पनि बनेको छ । तर, विगतका सहमतिजस्तै यसपटकका प्रतिबद्धता पनि कागजमै सीमित हुने हुन् वा व्यवहारमै देखिने हुन् भन्ने प्रश्न भने उत्तिकै महत्वपूर्ण छ ।

नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धतासहित दुई देशका प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ साझा दृष्टिकोण अघि सारेका छन् । आर्थिक तथा विकास साझेदारी, सम्पर्क सञ्जाल, ऊर्जा, जलस्रोत र जनस्तरको सम्बन्ध विस्तारसँगै जलवायु उत्थानशीलता, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा र नवप्रवर्तनमा सहकार्य बढाउने यस दृष्टिकोणले द्विपक्षीय सम्बन्धको भावी मार्गचित्र प्रस्तुत गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको सबैभन्दा महत्वपूर्ण सहमतिमध्ये एक हो—काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने निर्णय ।

संयुक्त प्रेस विज्ञप्तिअनुसार हाल एकतर्फी सञ्चालनमा रहेको बी–३४५ हवाई रुट अब दुवैतर्फी बनाइनेछ । यससँगै लखनउबाट भैरहवा हुँदै काठमाडौं आउने दिशामा पनि उक्त रुट प्रयोग गर्न सकिनेछ । विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान विस्तारमा यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपालले एक दशकभन्दा लामो समयदेखि भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने थप हवाई रुटको माग गर्दै आएको थियो । यसअघि पनि नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमणमा हवाई रुटको विषय प्राथमिकताका साथ उठ्ने गरे पनि ठोस सहमति हुन सकेको थिएन ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न थप प्रवेशमार्ग आवश्यक रहेको नेपालको तर्क रहँदै आएको छ । सीमित हवाई प्रवेशमार्गका कारण अन्तर्राष्ट्रिय उडान विस्तारमा चुनौती खेपिरहेको नेपालका लागि यो सहमति महत्वपूर्ण उपलब्धि मानिएको छ । यद्यपि, रुटको सञ्चालन विधि र प्राविधिक पक्ष टुंग्याउन दुवै देशका अधिकारीबीच थप परामर्श हुनेछ ।

अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावलाई पनि प्राविधिक छलफलमार्फत अघि बढाउने सहमति भएको छ । हवाई सम्पर्कपछि संयुक्त विज्ञप्तिमा समेटिएको अर्को महत्वपूर्ण विषय हो—सीमा समस्या । दुवै देशले सीमा स्तम्भको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यको प्रगतिप्रति सन्तुष्टि जनाउँदै बाँकी सीमा समस्यामा काम गर्न परराष्ट्र सचिवहरूलाई निर्देशन दिएका छन् । यसले लामो समयदेखि समाधानको प्रतीक्षामा रहेका सीमा विवादलाई कूटनीतिक तहबाट अघि बढाउने अपेक्षा गरिएको छ ।

पारवहनतर्फ पनि नेपालले नयाँ सुविधा पाउने भएको छ । भारतले गुजरातस्थित दीनदयाल अर्थात् कान्दला बन्दरगाहमार्फत नेपालको पारवहन व्यापारका लागि नयाँ सम्पर्क मार्ग उपलब्ध गराउने घोषणा गरेको छ । आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसम्म पनि नेपालको पहुँच विस्तार हुनेछ । यसले समुद्री व्यापारका लागि नेपालले प्रयोग गर्न सक्ने बन्दरगाहको विकल्प थपिनेछ । ऊर्जा र जलस्रोतमा सहकार्य विस्तार गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन शीघ्र टुंग्याउने तथा सप्तकोसी र सुनकोसी बहुउद्देश्यीय आयोजनाको डीपीआर प्रक्रिया अघि बढाउने सहमति भएको छ । यी आयोजनाको कार्यान्वयनले विद्युत् उत्पादनसँगै सिँचाइ, बाढी नियन्त्रण र जलस्रोतको उपयोगमा समेत लाभ पुग्ने अपेक्षा गरिएको छ । खेलकुद क्षेत्रमा पनि भारतले सहयोग गर्ने भएको छ । नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना तथा राष्ट्रिय र प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकासमा भारतले सघाउनेछ ।

नेपाली प्रादेशिक क्रिकेट टोलीका खेलाडीलाई भारतका राष्ट्रिय प्रशिक्षण एकेडेमीमा तालिम लिने अवसरसमेत प्रदान गरिने संयुक्त विज्ञप्तिमा उल्लेख छ । भ्रमणका क्रममा भएका सहमति, समझदारी र अघि बढाइएका परियोजनालाई कागजमा सीमित नराखी प्रभावकारी कार्यान्वयनमा लैजान दुवै देशले उच्चस्तरीय अनुगमन संयन्त्रलाई सक्रिय बनाउने भएका छन् । अब यी प्रतिबद्धता व्यवहारमा कति छिटो रूपान्तरण हुन्छन् भन्ने कुराले नै नेपाल–भारत सम्बन्धको यो नयाँ पहलको वास्तविक उपलब्धि निर्धारण गर्नेछ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं