नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ आधारमा अघि बढाउने प्रतिबद्धता
काठमाडौं । भारतीय भूमिमा उभिएर प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली भाषामा नेपालको गौरव र पहिचान सुनाएका छन् । विश्वलाई शान्तिको सन्देश दिने गौतम बुद्धको जन्मभूमि नेपाल भएको स्मरण गराउँदै पशुपतिनाथदेखि लुम्बिनीसम्मको धार्मिक तथा सांस्कृतिक सम्पदालाई भारतीय मञ्चबाटै चिनाए । संयुक्त राष्ट्रसंघमा बालेनले गरेको सम्बोधनको प्रशंसा गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा पनि उनको दृष्टिकोण र प्रतिबद्धताको खुलेर चर्चा गरे । दुई प्रधानमन्त्रीको भेटवार्तामा सम्बन्धको आत्मीयतासँगै आर्थिक सहयोग, ऊर्जा, व्यापार र पूर्वाधार विकासमा नयाँ प्रतिबद्धता सार्वजनिक भएका छन् ।
भारतीय भूमिमा उभिएर नेपाली भाषामा नेपालको गौरवगाथा सुनाउँदै प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सम्बन्धको आत्मीयता र ऐतिहासिक निकटतालाई नयाँ ढंगले प्रस्तुत गरेका छन् । उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको मञ्चमा बालेनले गरेको सम्बोधनको प्रशंसा गर्दै उनको दृष्टिकोण र प्रतिबद्धताको चर्चा गरेका छन् ।
नयाँदिल्लीमा सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले दुई देशको सम्बन्धलाई विकास साझेदारीमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका हुन् । नेपाली भाषामै सम्बोधन गरेका प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्धलाई हिमालझैँ अटल र महासागरझैँ विशाल भन्दै यसको आत्मीयता शब्दमा व्यक्त गर्न कठिन हुने बताए । पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावलाई सम्बन्धको आधारशिला बताएका उनले दुई देशको सम्बन्धको केन्द्रमा जनता रहेको स्पष्ट पारे ।
पशुपतिनाथ, माता जानकी र करुणामय मच्छिन्द्रनाथको आशीर्वाद लिएर भारत आएको उल्लेख गरेका शाहले नेपालको धार्मिक तथा सांस्कृतिक पहिचानलाई पनि भारतीय मञ्चबाटै विश्वसामु प्रस्तुत गरे । मुक्तिनाथ र पशुपतिनाथदेखि जनकपुर र जीवित देवी कुमारीसम्म नेपालको आस्थाको विविधता सुनाउँदै उनले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी नेपालमै रहेको स्मरण गराए । बुद्धको जन्मभूमि र शान्तिको सन्देश बोकेको भूमि नेपाल भ्रमण गर्न उनले मोदीलाई निमन्त्रणा समेत दिए ।
बालेनको सम्बोधनअघि नै भारतीय प्रधानमन्त्री मोदीले उनको अन्तर्राष्ट्रिय प्रस्तुतिको प्रशंसा गरेका थिए । केही महिनाअघि संयुक्त राष्ट्रसंघमा विश्वकै कान्छा प्रधानमन्त्रीका रूपमा शाहले गरेको सम्बोधनमा दूरदर्शिताको झलक देखिएको उल्लेख गर्दै मोदीले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धप्रति उनको स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता आफूले महसुस गरेको बताए । मोदीले नेपाली जनताले दिएको ऐतिहासिक जनादेशलाई नयाँ पुस्ताको आकांक्षा र अपेक्षाको प्रतिबिम्बका रूपमा व्याख्या गरे ।
भारत सशक्त र समृद्ध नेपालको विकास यात्रामा साझेदार रहने प्रतिबद्धता जनाउँदै उनले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहकार्य प्याकेज घोषणा गरे । बाढी प्रभावित परिवारको पुनस्र्थापना, नयाँ अवसर सिर्जना र विपद्सँग जुध्ने नेपालको क्षमता अभिवृद्धि गर्ने उद्देश्य प्याकेजको रहेको उनको भनाइ थियो । दुई देशबीचको आर्थिक तथा पूर्वाधार साझेदारीलाई थप विस्तार गर्ने विषयमा पनि मोदीले जोड दिए ।
नेपालको पारवहन व्यापार सहज बनाउन काण्डला र पारादीप बन्दरगाहको पहुँच उपलब्ध गराउने, तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास र अरुण–३ समयमै सम्पन्न गर्ने प्रतिबद्धता उनले जनाए । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन र झापा पेट्रोलियम टर्मिनलको शिलान्यासलाई पनि ऊर्जा सहकार्यको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे ।
नेपाली भाषामा नेपालको आत्मीयता, भारतीय मञ्चबाट बुद्ध जन्मभूमिको गौरव र विकास साझेदारीका नयाँ प्रतिबद्धता—बालेनको भारत भ्रमणको संयुक्त पत्रकार सम्मेलनले तीन सन्देश दिएको छ । तर, कूटनीतिक मञ्चमा व्यक्त प्रतिबद्धता व्यवहारमा कति उत्रिन्छन् र त्यसको लाभ नेपाली नागरिकले कहिले पाउँछन् भन्ने प्रश्नको जवाफ भने कार्यान्वयनले नै दिनेछ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ आधारमा अघि बढाउने प्रतिबद्धता
- २प्रधानमन्त्री बालेनको भ्रमणमा के के भए सहमति ? यस्तो छ मोदीको प्रतिबद्धता
- ३कसरी भयो एन्फामाथि लगाइएका सम्पूर्ण निलम्बन तथा प्रतिबन्ध फुकुवा ?
- ४प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तिब्र, के के छन् उठाउनुपर्ने मुख्य कुरा ?
- ५काठमाडौंलाई २४ सै घण्टा खुला राख्ने तयारी



तपाईको कमेन्ट लेख्नुहोस्