सरकारमाथि एमालेको प्रश्नै प्रश्न, स्थानीय तहको निर्वाचन समयअगावै नगराउन चेतावनी
काठमाडौं । स्थानीय तहको निर्वाचन समयअगावै गराउने तयारीप्रति नेकपा एमालेले असन्तुष्टि जनाएको छ । जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल पूरा नहुँदै निर्वाचन सार्न नहुने अडानसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगसमक्ष आफ्नो धारणा राख्ने बताएका छन् । ओलीले एमालेलाई आगामी निर्वाचनमा निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्घोष गरेका छन् भने वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टीलाई नयाँ ऊर्जा र उत्साहका साथ पुनर्गठन गर्नुपर्नेमा जोड दिएकी छन् । स्थानीय तहको निर्वाचन समयअगावै गराउने तयारीप्रति नेकपा एमालेले असन्तुष्टि जनाएको छ ।
जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल पूरा नहुँदै दुई–तीन महिना अगाडि निर्वाचन गराउनु उपयुक्त नहुने भन्दै एमालेले निर्वाचन आयोगसमक्ष पार्टीको अडान राख्ने तयारी गरेको छ । बिहीबार काठमाडौंमा सम्पन्न पार्टीको राष्ट्रिय भेलामा अध्यक्ष केपी ओलीले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष हुने संवैधानिक व्यवस्थाअनुसार समयअगावै निर्वाचन सार्ने कुरा उपयुक्त नहुने बताएका हुन् । कार्यकाल पूरा नहुँदै निर्वाचनको मिति सार्ने या हेरफेर गर्ने प्रयासले संवैधानिक मर्ममाथि प्रहार गर्ने उनको तर्क छ ।
अध्यक्ष ओलीले आगामी आमनिर्वाचनमा एमालेलाई लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र सीमा रक्षाका लागि निर्णायक राष्ट्रिय शक्ति बनाउने सङ्कल्पसहित तयारीमा जुट्न निर्देशन दिए । एमाले नेतृत्वको सरकार विस्थापन हुनुमा पार्टीको आन्तरिक कमजोरी मात्रै जिम्मेवार नरहेको उनको तर्क थियो । निर्वाचनपूर्व भएका ध्वंस र आक्रमणका कारण पार्टी प्रतिरक्षात्मक अवस्थामा पुगेको उनले उल्लेख गरे । ओलीले आगजनी, तोडफोड, हिंसा, आतङ्क र लुटपाटमा संलग्न वा त्यस्ता गतिविधिलाई पृष्ठपोषण गर्ने शक्तिलाई राजनीतिक प्रतिद्वन्द्वीका रूपमा चित्रित गरे ।
नाम नलिए पनि उनको अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित रहेको देखिन्छ । पार्टीभित्र भने अब अनुशासनहीन गतिविधि सह्य नहुने उनको चेतावनी थियो । अघिल्लो केन्द्रीय कमिटी बैठकलाई ‘कटअफ’ मान्दै त्यसअघिका गतिविधिमा माफी दिइए पनि अब सामाजिक सञ्जालमा पार्टी हितविपरीत गतिविधि गर्नेलाई कारबाही गरिने उनले स्पष्ट पारे ।
यता, वरिष्ठ नेता विद्यादेवी भण्डारीले गत निर्वाचनमा एमालेले व्यहोरेको धक्का अस्थायी भएको बताउँदै एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने धारणा राखिन् । भण्डारीले पार्टीका कमिटीहरू आवश्यकताभन्दा मागका आधारमा ठूलो र भद्दा बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताइन् । युवापुस्तामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायन रोक्न जनसंगठनहरूले उद्यमशीलता विकास, बहस र रचनात्मक अभियान सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिइन् ।
एमाले आगामी राजनीतिक प्रतिस्पर्धाका लागि आक्रामक र सङ्गठित रणनीतिका साथ मैदानमा उत्रिन खोजेको सन्देश दिएको छ । एकातिर संवैधानिक व्यवस्थाको आडमा स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने अडान लिएर सत्तापक्षमाथि नैतिक दबाब सिर्जना गर्ने र अर्कोतिर नयाँ तथा वैकल्पिक भनिएका शक्तिहरूलाई अराजकताको संज्ञा दिँदै पुराना दलहरूसँगको सहकार्यको ढोका खुला राख्ने रणनीति एमालेले अख्तियार गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कसरी भयो एन्फामाथि लगाइएका सम्पूर्ण निलम्बन तथा प्रतिबन्ध फुकुवा ?
- २प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तिब्र, के के छन् उठाउनुपर्ने मुख्य कुरा ?
- ३काठमाडौंलाई २४ सै घण्टा खुला राख्ने तयारी
- ४सरकारमाथि एमालेको प्रश्नै प्रश्न, स्थानीय तहको निर्वाचन समयअगावै नगराउन चेतावनी
- ५श्रमिकको पसिनामाथि अर्बौँको लुट, संरक्षण गर्नुपर्ने मन्त्री र उच्च कर्मचारी नै ठगीमा



तपाईको कमेन्ट लेख्नुहोस्