सरकारले गर्यो प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त
काठमाडौं । नेपाल प्रहरीको नेतृत्वमा सरकारले अप्रत्याशित परिवर्तन गरेको छ । विवादमा तानिएका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै सरकारले एआईजी मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेको छ । म्यादी प्रहरीको पोशाक खरिदमा अनियमितताको आरोपदेखि बिचौलिया इनम सापकोटासँगको सम्पर्कसम्मका विषयले विवादित बनेका कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाइएको छ । सरकारले यसलाई बर्खास्ती नभई जिम्मेवारी हेरफेर भने पनि छोटो समयमै प्रहरी प्रमुख परिवर्तन गरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई सरकारले पदमुक्त गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै एआईजी मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने र कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको हो । केसी यसअघि प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागको प्रमुखका रूपमा कार्यरत थिए । गत कात्तिक २७ गतेदेखि प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका कार्कीको कार्यकाल भने अपेक्षाभन्दा निकै छोटो समयमै टुंगिएको छ ।
सरकारको यो निर्णयले प्रहरी संगठनको नेतृत्व परिवर्तन मात्र गरेको छैन, पछिल्लो समय प्रहरीभित्र र सरकारसँग चुलिँदै गएको विवादलाई समेत नयाँ मोड दिएको छ । तर, कार्कीलाई हटाउने निर्णय एकाएक आएको भने होइन । पछिल्लो समय निर्वाचन प्रहरीको पोशाक खरिद प्रकरणदेखि बिचौलिया इनम सापकोटासँगको सम्पर्कसम्मका विषयले उनी विवादमा तानिएका थिए । गत फागुन २१ गते सम्पन्न निर्वाचनका क्रममा म्यादी प्रहरीका लागि खरिद गरिएको पोशाकमा अनियमितता भएको आरोप सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले उठाएका थिए ।
यही विषयमा सार्वजनिक लेखा समितिले रास्वपा सांसद मनिष झाको संयोजकत्वमा अध्ययन उपसमिति नै गठन गरेर छानबिन अघि बढाएको छ । अर्कोतर्फ, बिचौलियाको आरोपमा अनुसन्धानमा रहेका इनम सापकोटासँग कार्कीको सम्पर्क रहेको विवरण सार्वजनिक भएपछि उनीमाथि थप प्रश्न उठेका थिए । कार्कीले केहीदिन अघि उच्च प्रहरी अधिकारीहरूको आकस्मिक बैठक नै बोलाएर संगठनको व्यावसायिकता र प्रतिष्ठामाथि प्रश्न उठाउने गतिविधिको सामना गर्न एकजुट हुन निर्देशन दिएका थिए ।
प्रहरी संगठनभित्रको असन्तुष्टि र सरकारसँगको बढ्दो दूरीले उनको नेतृत्व थप दबाबमा परेको थियो । सरकारले भने कार्कीलाई कारबाही वा बर्खास्त गरिएको नभई जिम्मेवारी मात्र हेरफेर गरिएको दाबी गरेको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाइएको जानकारी दिँदै जिम्मेवारी परिवर्तनलाई कारबाहीका रूपमा बुझ्न नहुने बताएका छन् । उनले यस विषयमा रास्वपाबाट समेत निर्देशन आएको उल्लेख गरेका छन् ।
अब प्रहरीको नेतृत्व सम्हाल्ने मनोज केसीसामु संगठनभित्रको एकता कायम गर्ने, प्रहरीको व्यावसायिकता र निष्पक्षता जोगाउने तथा विवादित खरिद प्रकरण र बिचौलियासँग जोडिएका विषयको निष्पक्ष अनुसन्धान सुनिश्चित गर्ने चुनौती छ । नेतृत्व परिवर्तनले प्रहरीभित्र देखिएका समस्या समाधान गर्छ वा विवादको केन्द्रमा रहेका विषयलाई थप राजनीतिक बहसमा तान्छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणमा, बालेनलाई निम्तो दिने तयारी
- २३४ औँ प्रहरी महानिरीक्षक बने डा. मनोज केसी
- ३सरकारले गर्यो प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त
- ४सरकारबिरुद्ध विपक्षी दल फेरि एक ठाउँ, संसद अधिबेशन आह्वानको माग
- ५निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई सर्बोच्चको पूर्ण बैठकको चुनौती



तपाईको कमेन्ट लेख्नुहोस्