सरकारबिरुद्ध विपक्षी दल फेरि एक ठाउँ, संसद अधिबेशन आह्वानको माग
काठमाडौं । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका प्रतिपक्षी दलहरू अब एउटै मोर्चामा उभिएर सरकारलाई घेराबन्दी गर्ने रणनीतिमा देखिएका छन् । प्रेसमाथिको धरपकडदेखि बिचौलियाको प्रभाव, न्यायालयको विवाद र सरकारको स्वेच्छाचारितासम्मका मुद्दा उठाउँदै प्रतिपक्षले संसद् अधिवेशनकै माग गरेको छ । सडकदेखि सदनसम्म सरकारलाई जवाफदेही बनाउन खोजिरहेका विपक्षीको एकताले सरकारमाथि राजनीतिक दबाब थप बढाएको छ ।
सरकारका गतिविधिमाथि प्रश्न उठाउनेदेखि जवाफदेहिताको माग गर्नेसम्मका मुद्दामा प्रतिपक्षी दलहरू फेरि एक ठाउँमा उभिएका छन् । प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, राज्यका निकायमा बिचौलियाको प्रभाव, न्यायालयमाथि उठेका प्रश्न र सरकारको कार्यशैलीलाई लिएर असन्तुष्ट प्रतिपक्षले अब संसद्बाटै सरकारलाई जवाफदेही बनाउन खोजेको छ । त्यसका लागि तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गर्दै प्रतिपक्षी दलहरूले सरकारमाथि राजनीतिक दबाब बढाएका छन् ।
नेपाली कांग्रेसको आह्वानमा सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले यथाशीघ्र संसद् बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सहभागी थिए । बैठकले मुलुकको समसामयिक राजनीतिक अवस्था, लोकतन्त्र, राष्ट्रियता, संविधान र जनजीविकासँग जोडिएका विषयमा संसद्भित्र गम्भीर छलफल आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकार एकलौटी ढङ्गले अघि बढ्न खोजेको आरोप लगाउँदै राज्यका महत्वपूर्ण तथा विश्वसनीय निकायमाथि नै प्रश्न उठिरहेको बताए । पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेश, सरकार र बिचौलियाबीचको कथित सम्बन्ध, न्यायालयमाथि उठेका प्रश्न तथा प्रधानमन्त्री र उनको सचिवालयसँग जोडिएका विवादबारे संसद्मा जवाफ खोज्नुपर्ने उनको भनाइ छ ।
उनले संसद् अधिवेशन आह्वानका लागि रास्वपा र सभामुख डिपी अर्यालसँग समेत छलफल गरिने बताए । बैठकले सरकार हरेक विषय अध्यादेशमार्फत अघि बढाउन खोजेको भन्दै त्यसप्रति पनि असन्तुष्टि जनाएको छ । विभिन्न घटनाको छानबिन गर्न गठित समितिहरूको प्रगति सार्वजनिक नभएको, भोटेकोशी बाढीबाट विस्थापित नागरिकले अझै राहत र घरभाडा नपाएको तथा बजारमा महँगी बढिरहेको विषयलाई पनि प्रतिपक्षले संसदमा उठाउने तयारी गरेको छ ।
विवादित न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा भने सत्तापक्षको स्पष्ट धारणा आएपछि मात्रै साझा दृष्टिकोण बनाउने तयारी गरेका छन् । उता, नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् ।
बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले सरकारका गतिविधिले लोकतान्त्रिक मूल्यमान्यता, संविधान र संवैधानिक निकायहरू कमजोर पार्ने काम गरिरहेको आरोप लगाएका हुन । उच्च जिम्मेवारीमा रहेका व्यक्तिहरू संयमित र उत्तरदायी हुनुपर्नेमा सामाजिक सञ्जालका गतिविधिले राज्यको जिम्मेवारीलाई नै भाँडाकुटीको खेलजस्तो बनाएको उनको टिप्पणी छ ।
प्रधानमन्त्रीसँग चुनावी अभियानमा जोडिएका व्यक्तिको गतिविधिलाई लिएर राज्यका विभिन्न अङ्ग प्रभावित पार्न खोजिएको आशङ्का पनि उनले व्यक्त गरे । सरकारका गतिविधिप्रति स्वयं सत्तारूढ रास्वपा पनि सन्तुष्ट नरहेको उनको दाबी छ । सरकारको कार्यशैलीलाई लिएर कांग्रेसदेखि एमालेसम्मका प्रतिपक्षी दलहरू एउटै कित्तामा देखिएका छन् । तर, आलोचना र असन्तुष्टिलाई संसद्भित्रको प्रभावकारी बहस र खबरदारीमा रूपान्तरण गर्न उनीहरू कति सफल हुन्छन् भन्ने प्रश्न भने बाँकी नै छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १सरकारबिरुद्ध विपक्षी दल फेरि एक ठाउँ, संसद अधिबेशन आह्वानको माग
- २निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई सर्बोच्चको पूर्ण बैठकको चुनौती
- ३गगनले भने– तर्साउने धेरै आए, तर्सिने बानी परेन
- ४प्रधानमन्त्रीले भने– एक, दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ
- ५सर्वोच्चको न्यायाधीशमा सिफारिस चार जनाविरुद्ध आठ उजुरी



तपाईको कमेन्ट लेख्नुहोस्