Techie IT
  • १७ कात्तिक २०८३, सोमबार
KhojPatrika

निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई सर्बोच्चको पूर्ण बैठकको चुनौती


काठमाडौं । न्यायालयलाई न्यायको अन्तिम आश्रयस्थल मानिन्छ । तर, त्यही न्यायालयका नेतृत्वकर्ता प्रधानन्यायाधीश र न्यायाधीशहरूको नाम जोडेर विचौलियासँगको सम्बन्ध, सम्पर्क र साँठगाँठका विषय सार्वजनिक बहसमा आउन थालेपछि सर्वोच्च अदालत स्वयं स्पष्टीकरण दिनुपर्ने अवस्थामा पुगेको छ । न्यायालयभित्रको अनियमितता, न्यायाधीशहरूको आचरण र न्याय सम्पादनमा बाह्य प्रभाव परेको हुन सक्ने आशंकाबीच सर्वोच्च अदालतको पूर्ण बैठकले पाँचबुँदे निर्णय सार्वजनिक गरेको छ । न्याय दिने सर्वोच्च संस्थाकै नेतृत्व र न्यायाधीशहरूको नाम विचौलियासँगको सम्पर्क, भेटघाट र आर्थिक कारोबारका विवरणमा जोडिएपछि सर्वोच्च अदालत गम्भीर विवादको घेरामा परेको छ ।

विचाराधीन मुद्दामा न्यायाधीशसँगै ह्वाट्सएप संवाद, होटलमा भेटघाट, फैसला प्रभावित पार्ने प्रयास र बैंक खातामा रकम जम्मा भएको भनिएका विवरण सार्वजनिक भएपछि न्यायालयको निष्पक्षतामाथि प्रश्न उठेको हो । विवाद प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासम्म पुगेपछि सर्वोच्च अदालतले नै पाँचबुँदे विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गर्नुपरेको छ । तर, विज्ञप्तिले प्रश्नको जवाफ दिनुभन्दा छानबिन र न्यायालयको प्रतिष्ठाको बहसलाई थप पेचिलो बनाएको छ ।

प्रकरणको केन्द्रमा छन्– इनम सापकोटा । उनको मोबाइलबाट प्राप्त भनिएका संवाद र सम्पर्क विवरणले न्यायालयदेखि सुरक्षा निकाय र राजनीतिक वृत्तसम्मको सम्बन्ध उजागर गरेको दाबी सार्वजनिक भएको छ । न्यायिक निर्णय प्रभावित पार्ने, विचाराधीन मुद्दामा अनुकूल आदेश गराउने र शक्तिकेन्द्रसम्म पहुँच पु¥याउने मध्यस्थकर्ताका रूपमा सापकोटाको भूमिका रहेको आशंकामा अनुसन्धान भइरहेको छ । भारत जान लागेका बेला असोज ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सापकोटाको मोबाइल अनुसन्धानपछि प्रकरणले नयाँ मोड लिएको हो ।

प्रकरणको सबैभन्दा संवेदनशील पाटो सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालसँग जोडिएको ह्वाट्सएप संवाद हो । सार्वजनिक विवरणअनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका हिमालयन रिइन्स्योरेन्सका पूर्वसञ्चालक रोहित गुप्ताको बन्दीप्रत्यक्षीकरण निवेदन विचाराधीन रहेकै बेला सापकोटाले न्यायाधीश फुयाललाई मुद्दाको स्क्रिनसट पठाएका थिए । प्रधानमन्त्रीको समेत चासो रहेको भन्दै निवेदन खारेज गरिदिन आग्रह गरेको संवाद सार्वजनिक भएको छ ।

जवाफमा न्यायाधीशले दुई करोड रुपैयाँ धरौटी मागिएको विवरण उल्लेख गरेको बताइएको छ । त्यसपछि सर्वोच्चको आदेशको लिंक पठाउँदै सापकोटाले कुपण्डोलस्थित हिमालयन होटलमा भोलिपल्ट भेट्ने प्रस्ताव गरेको र न्यायाधीशले सहमति जनाएको संवादसमेत बाहिरिएको छ । भदौ १७ गते न्यायाधीश फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गुप्तालाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । यसले विचाराधीन मुद्दाको विवरण न्यायाधीश र बाह्य व्यक्तिबीच किन आदानप्रदान भयो ? फैसला हुनुअघि नै होटलमा भेट्ने प्रस्ताव किन आयो ? र यस्तो सम्पर्कले न्यायिक निष्पक्षतामाथि कस्तो प्रश्न खडा गर्छ भन्ने बहस चर्काएको छ ।

न्यायाधीश फुयालले सापकोटासँग संवाद र भेटघाट भएको स्वीकार गरेका छन् । तर, आफूले कुनै आर्थिक लाभ नलिएको र सापकोटाको दबाबमा फैसला नगरेको उनको दाबी छ । सापकोटाले प्रधानमन्त्रीको प्रतिनिधि भएको भन्दै सम्पर्क गरेको र पछि विभिन्न मुद्दामा चासो देखाउन थालेपछि शंका लागेको फुयालको भनाइ छ । तर, विवादित व्यक्तिसँग न्यायाधीशको सम्पर्क र भेटघाटको औचित्य भने अझै प्रश्नकै घेरामा छ । विवादलाई थप गम्भीर बनाएको अर्को पक्ष हो– प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम जोडिएको आर्थिक कारोबारको विवरण ।

सापकोटाको मोबाइलबाट प्राप्त भनिएका सन्देशमा प्रधानन्यायाधीश शर्मा, रास्वपा सांसद तथा पूर्वप्रहरी एआईजी विश्वराज पोखरेल र सशस्त्र प्रहरीका एआईजी वंशी राज दाहालको नाम उल्लेख छ । प्रधानन्यायाधीश शर्माले भने सापकोटालाई नचिनेको र कुनै सम्पर्क वा आर्थिक कारोबार नभएको भन्दै आरोप अस्वीकार गरेका छन् । यो प्रकरण बाहिर आउनुअघि नै सर्वोच्च अदालतभित्र नेतृत्व र न्यायिक व्यवस्थापनलाई लिएर असन्तुष्टि देखिएको थियो । प्रधानन्यायाधीश शर्माको नियुक्ति, संवैधानिक इजलास गठन र विचौलियाको पहुँचका विषयमा न्यायाधीशहरूले प्रश्न उठाउँदै आएका थिए ।

सापकोटासँग न्यायाधीशहरूको भेटघाट र प्रधानन्यायाधीशको नाम जोडिएको आर्थिक विवरण सार्वजनिक भएपछि विवाद झन् चर्कियो । न्यायाधीशहरूले छानबिन समिति गठनदेखि न्यायालयभित्रको समस्या समाधानसम्मका विषय उठाइरहेका बेला सोमबार पूर्ण बैठक बसेको हो । पूर्ण बैठकले पाँचबुँदे निर्णयमार्फत संविधान र कानुनको सर्वोच्चता तथा कानुनको शासनप्रति आफ्नो प्रतिबद्धता दोहो¥याएको छ । सार्वजनिक भएका समाचारबारे पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

छानबिनमा कानुनबमोजिम सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ । तर, अनुसन्धानको निष्कर्ष नआउँदै कसैलाई लाञ्छित नगर्न र न्याय सम्पादनमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई सचेत गराएको छ । न्यायिक काममा विचलित नभई सक्रिय रहन न्यायकर्मीहरूलाई आग्रहसमेत गरेको छ । तर, सर्वोच्चको पाँचबुँदे निर्णयले सबैभन्दा महत्त्वपूर्ण प्रश्नको जवाफ दिएको छैन ।

प्रधानन्यायाधीश र न्यायाधीशकै नाम जोडिएको प्रकरणमा छानबिन कसले गर्ने ? छानबिनको दायरा कति फराकिलो हुनेछ ? सार्वजनिक भएका संवाद र आर्थिक कारोबारका विवरणको सत्यता कसरी परीक्षण हुन्छ ? र दोषी देखिए कारबाहीको जिम्मेवारी कसले लिन्छ ? न्यायालयको प्रतिष्ठा जोगाउने नाममा यी प्रश्न अनुत्तरित रहन सक्दैनन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं