सहकारी बैंकद्वारा सहकारी संस्थाका कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम सञ्चालन

ललितपुर । राष्ट्रिय सहकारी बैक लिमिटेड उर्लाबारी शाखाद्वारा आयोजित दुई दिवसीय सहकारी संस्थामा कार्यरत कर्मचारीहरू (बजार प्रतिनिधि) को क्षमता अभिवृद्धि तालिम बुधवार सकिएको छ ।
फाल्गुण ९ र १० गते सञ्चालन भएको तालिममा सहकारी संस्थामा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी संस्थाको साख र गरीमा वृद्धिमा कर्मचारीहरूलाई सरिक बनाई छिटो छरितो, गुणस्तरीय र प्रविधियुक्त सेवा सञ्चालनका लागि कर्मचारीहरूलाई दक्ष बनाउने उद्देश्यले आयोजना गरिएको बैंकले जनाएको छ ।
तालिम कार्यक्रममा त्यस क्षेत्रका ४८ वटा सहकारी संस्थाका ६० जना कर्मचारीहरूको सहभागिता रहेको थियो । तालिम कार्यक्रमको सहजिकरण बैंकको तालिम विभागका सहायक अधिकृत राजकुमार बरालले गरेका थिए । कार्यक्रमको उद्घाटन बैंकको उर्लाबारी शाखा समन्वय उपसमितिका संयोजक देवेन्द्र पौडेलले गरेका थिए ।
सो अवसरमा बोल्दै उहाँले सहकारीका बजार प्रतिनिधिहरूले सहकारीको ख्याति वृद्धि गर्नुपर्ने र उनीहरूको क्षमता विकासका लागि तालिम तथा शिक्षाका कार्यक्रमहरू सहकारी संस्थाहरुले वार्षिक रूपमा व्यवस्था गर्नुपर्ने बताए । कार्यक्रम समापनको सञ्चालन बैंकको उर्लाबारी शाखाका प्रमुख विनोद चुडालले गरेका थिए ।
कार्यक्रम सम्पन्न पश्चात् सहभागीहरूले यस तालिमले आफूमा उच्च मनोबलका साथ संस्थामा दैनिक कार्य सम्पादन गर्न सहज भएको बताएका छन् । पछिल्लो समय सहकारीमा एकपछि अर्को चुनौती र समस्याहरू बढ्दै गएकोले सदस्यहरूलाई सहकारीबारे बुझाउन पनि तालिमले सहयोग पुगेको उल्लेख गरेका छन् ।
क्याटेगोरी : अर्थ
तपाईको कमेन्ट लेख्नुहोस्