अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले अप्टिकल व्यवसायका समस्या समाधानमा आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकी छन् । राजधानीमा आयोजित अप्टिकल व्यवसायी संघ नेपालको दोस्रो वार्षिकोत्सव समारोहमा उनले अप्टिकल व्यवसायका समस्या संघसँगको सहकार्यमै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
टेलिभिजन, मोबाइल, चस्मालगायतलाई एउटै समूहमा राखिएकाले व्यवसाय सञ्चालनमा समस्या भएको व्यवसायीले गुनासो गर्दै आएका छन् । जसले गर्दा व्यवसाय दर्तादेखि नै समस्या हुने गरेको उनीहरूको भनाइ छ । कार्यवाहक मेयर डंगोलले उक्त समस्या समाधानका लागि महानगरपालिका नीतिगत रूपमै सहजीकरण गर्न तयार रहेको बताइन ।
क्रिटिकल विषयलाई पनि अरू सामग्रीसँग एउटै बास्केटमा राख्दा दर्ता गर्ने प्रक्रियादेखि नै हेर्ने दृष्टिकोण फरक भएको ब्यवसायीको गुनासो सम्बोधन गर्न आफूले कानुन बनाउने ठाउँसम्म पु¥याउने प्रतिबद्धता जनाइन । उपभोक्ताको हितका लागि काठमाडौं महानगरपालिकाले पनि स्वस्थ आँखा अभियान सञ्चालन गर्दै आएको उनको भनाई छ । कार्यक्रममा अप्टिकल व्यवसायीहरुले अप्टिकल व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधारसँगै अनुगमन र नियमनको आवश्यकता समेत औंल्याएका थिए ।
संघका प्रवक्ता मनोज धिमालले चस्माजस्तो जनस्वास्थ्यसँग सम्बन्धित संवेदनशील व्यवसायलाई मोबाइल, टिभी, घडीलगायतको सूचीमा राखिनु समग्र अप्टिकल क्षेत्रकै अपमान भएको बताए । उनले अप्टिकल व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधारसँगै अनुगमन र नियमनको आवश्यकतासमेत औंल्याए ।
अनुगमन र नियमन नहुँदा अप्टिकल व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढेको र व्यवसायीसँगै उपभोक्तासमेत मर्कामा परेको धिमालको भनाइ थियो । संघका सल्लाहकार तथा टेक्सास इन्टरनेसनल कलेजका प्रबन्ध निर्देशक जितेन्द्रकुमार बाखुले पनि अप्टिकल व्यवसाय संवेदनशील व्यवसाय भएकाले व्यवसायीले मुनाफामात्रै हेर्नु नहुने बताए ।
नेपालमा अप्टिकल व्यवसाय सञ्चालन गर्न आँखा स्वास्थ्य वा अप्टोमेट्रीसम्बन्धी प्राविधिक ज्ञान, तोकिएको शैक्षिक योग्यता र नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन २०५३ अनुसार लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको छ । तर, लाइसेन्सबिना नै अप्टिकल व्यवसाय गर्नेहरू पनि धेरै रहेको बताइन्छ ।
अप्टिकल व्यवसायी संघ नेपालका अध्यक्ष उमेशकुमार तुलाधरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा चिकित्सक, अप्टिकल तथा अप्टिकलजन्य मेडिकल सामग्री आयातकर्ता, अप्टिकल उद्योगी लगायतको सहभागिता रहेको थियो । सो अवसरमा संघले आँखा स्वास्थ्य र अप्टिकल क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वलाई प्रशंसापत्र पनि प्रदान गरेको थियो ।

क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्