३४ औँ प्रहरी महानिरीक्षक बने डा. मनोज केसी
काठमाडौं । ठूला र राजनीतिक रूपमा संवेदनशील अपराधको अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका प्रहरी अधिकारी डा. मनोज केसी अब नेपाल प्रहरीको सर्वोच्च नेतृत्वमा पुगेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणदेखि फेक रेस्क्यु, क्रिप्टोकरेन्सी र आर्थिक अपराधको अनुसन्धानमा अनुभव हासिल गरेका केसीलाई सरकारले ३४ औँ प्रहरी महानिरीक्षक बनाएको छ । शैक्षिक योग्यता, अनुसन्धान क्षमता र अन्तर्राष्ट्रिय अनुभवसमेत भएका केसीको काँधमा अब प्रहरी संगठनको साख जोगाउने र अनुसन्धानलाई राजनीतिक प्रभावमुक्त बनाउने जिम्मेवारी आएको छ ।
अनुसन्धानमा खारिएका, शैक्षिक रूपमा अब्बल र चुनौतीपूर्ण आपराधिक घटनाको अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका प्रहरी अधिकारी डा. मनोज केसी नेपाल प्रहरीको सर्वोच्च नेतृत्वमा पुगेका छन् । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी केसीलाई ३४ औँ प्रहरी महानिरीक्षक नियुक्त गरेसँगै प्रहरी संगठनको कमान्ड अब अनुभवी अनुसन्धान अधिकृतको हातमा पुगेको छ । नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दज्र्यानी चिन्ह प्रदान गरेका छन् । यसअघि गृहसचिवले आईजीपीलाई दज्र्यानी चिन्ह प्रदान गर्दै आएका थिए ।
जिम्मेवारी सम्हालेपछि केसीले आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । केसीलाई दज्र्यानी चिन्ह प्रदान गरेपछि जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् । खासगरी प्रहरी र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउनुपर्नेमा मन्त्री गुरुङले जोड दिएका छन् । अपराध अनुसन्धानदेखि संगठन व्यवस्थापनसम्मको अनुभव हासिल गरेका केसीका लागि अब प्रहरीको व्यावसायिकता, निष्पक्षता र जनविश्वासलाई थप सुदृढ बनाउने अवसर र चुनौती दुवै छन् । केसीको नाम प्रहरी वृत्तमा विशेषगरी नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानसँग जोडिएर चर्चामा आएको हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहविरुद्धको अनुसन्धान अघि बढाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । लामो समयदेखि अलपत्र रहेको उक्त प्रकरणमा जाहेरी प्रक्रिया अघि बढाउँदै १२ चैत २०७९ मा गिरोहका सदस्य केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेपछि अनुसन्धानले गति लिएको थियो । त्यसपछि संगठित अपराधको कसुरमा अनुसन्धान विस्तार हुँदै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसम्म अनुसन्धानको दायरा पुगेको थियो ।
त्यतिबेला उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपीका रूपमा कार्यरत केसीकै नेतृत्वको टोली कांग्रेस नेता बालकृष्ण खाँडलाई पक्राउ गर्न उनको निवास पुगेको थियो । राजनीतिक रूपमा संवेदनशील मानिएको उक्त घटनामा अनुसन्धान अघि बढाउँदा उनले व्यावसायिक जिम्मेवारी निर्वाह गरेको चर्चा भएको थियो । तर, यही प्रकरणपछि उनको पोस्टिङ र जिम्मेवारीलाई लिएर पनि विभिन्न राजनीतिक तथा प्रशासनिक वृत्तमा चर्चा चल्यो ।
भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान सुरु भइरहेका बेला ४ भदौ २०८० मा तत्कालीन सरकारले उनलाई जिम्मेवारीबाट हटाएको थियो । त्यसपछि पनि उनले प्रहरी सेवामा विभिन्न जिम्मेवारी सम्हाल्दै आफ्नो अनुभवलाई निरन्तरता दिए । केसीको अनुभव भुटानी शरणार्थी प्रकरणमा मात्रै सीमित छैन । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहँदा उनले नक्कली हवाई उद्धार अर्थात् फेक रेस्क्यु ठगी, स्मार्ट टेलिकमसँग जोडिएको ठगी, धितोपत्र तथा बिमा ठगी, क्रिप्टोकरेन्सी अपराध र सरकारी जग्गा अतिक्रमण तथा हिनामिनाजस्ता जटिल विषयको अनुसन्धानमा नेतृत्व गरेका थिए ।
अपराध अनुसन्धान विभागको प्रमुखका रूपमा पनि उनले काम गरेका छन् । प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभाग, विशेष ब्युरो, प्रहरी एकेडेमी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र विभिन्न जिल्ला प्रहरी कार्यालयमा काम गरेको अनुभव उनीसँग छ । संगठनभित्र संस्थागत सुधार र प्रहरी शिक्षाको विकासमा समेत केसीको योगदान रहेको छ । नेपाल प्रहरीमा पहिलोपटक सुरु गरिएको स्टाफ कलेजका संस्थापक निर्देशक रहेका उनले प्रहरी एकेडेमीमा कार्यरत रहँदा प्रहरी विज्ञानमा स्नातकोत्तर तहको पाठ्यक्रम निर्माणमा भूमिका खेलेका थिए ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणमा, बालेनलाई निम्तो दिने तयारी
- २३४ औँ प्रहरी महानिरीक्षक बने डा. मनोज केसी
- ३सरकारले गर्यो प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त
- ४सरकारबिरुद्ध विपक्षी दल फेरि एक ठाउँ, संसद अधिबेशन आह्वानको माग
- ५निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई सर्बोच्चको पूर्ण बैठकको चुनौती



तपाईको कमेन्ट लेख्नुहोस्