Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गछौं : मन्त्री श्रेष्ठ


ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएकी छन् । शुक्रवार राष्ट्रिय सहकारी महासंघ लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा काठमाडौँमा भएको सहकारीका विद्यमान समस्याः सुधार सुझाव कार्यशालाको कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।

उनले सहकारी क्षेत्रमा देखिएको समस्याको पहिचान गरी समाधानको लागि सरकारले गठन गरेको “सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८०” ले काम गरिहेकोले त्यसको आधारमा सरकारले सहकारी क्षेत्रको समस्या समाधान गर्ने बताइन । पछिल्लोे समय बैंक तथा वित्तीय क्षेत्रमा तरलताको समस्या सुधार हुँदै गएकोले पनि सहकारीको समस्यामा समाधान हुँदै जाने जिकिर गरिन ।

मन्त्री श्रेष्ठले बजारमा हल्ला भए जस्तो सहकारीमा समस्या नरहेको उल्लेख गर्दै केही सहकारी संस्थाका कारण सिंगो सहकारी अभियानलाई असर परेको उल्लेख गरिन । सहकारी क्षेत्र सुधार सुझाव कार्यदल,२०८० का संयोजक मा। जयकान्त राउतले कार्यदलले पाएको कार्यदेशको आधारमानै सहकारी क्षेत्रत्रको समस्यालाई समाधान गर्ने बताए ।

कार्यदलले पहिलो चरण २७ बुँदे सुझाव सरकारलाई बुझाएको भन्दै सहकारी क्षेत्रका सञ्चालक, निक्षेपकर्ता तथा सरोकारवालाहरुको सुझावको आधारमा अन्तिम प्रतिवेदन सरकारलाई हस्तान्तरण गर्ने उल्लेख गरे । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी संस्थाहरुले सदस्यको विश्वास जित्नको लागि सकारात्मक काम गर्नु पर्ने बताए । सदस्यहरुलाई सहकारीप्रतिको सकारात्मक धारण विकास गर्न जोड दिनु पर्ने बताए ।

सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले सहकारीको पैसा बचतकर्तामा मात्रै लगानी गर्ने सहकारीको सिद्धान्त भए पनि सञ्चालकहरुले अनुत्पादक क्षेत्रमा लगानी गर्दा अहिलेको समस्या आएको बताए । अहिले साना तथा ठुला सबै प्रकारका सहकारीमा समस्या रहेको सहकारीका सञ्चालकहरु सदस्यहरुसँग टाढा हुँदा पनि समस्या विकराल हुँदै गएको उल्लेख गर्दै संस्थाका सञ्चालकले बचतकर्तालाई बचतको सुरक्षा छ भनेर प्रतिबद्धता जाहेर गर्नु पर्ने बताए ।

विश्वका विकसित मुलुकको विकास सहकारीबाट नै भएको बताउँदै उनले नेपालमा पनि सहकारी अभियान अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिए । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमा देखिएका समस्या बिस्तारै कम हुँदै गएको बताए । केही सहकारीको नियतका कारण राम्रो व्यवस्थापन भएका सहकारीमा पनि समस्या देखिएको भन्दै अब बिस्तारै ती समस्याहरु न्यूनीकरण हुँदै गएको उल्लेख गरे ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले विश्वमा देखा परेको आर्थिक मन्दीको असर नेपालमा पनि देखा पर्दा सबै क्षेत्र समस्यामा परेको बताए । आर्थिक मन्दीको असर नेपालका प्रायः सबै क्षेत्रमा देखा परिरहेको र सहकारीलाई बचतसँग नभएर उत्पादनसँग जोड्न आवश्यक रहेकोमा उनले जोड दिए । केही सञ्चार माध्यमहरुले गलत कुराको बढी प्रचार–प्रसार गरेकोले सहकारीमा समस्या बढेको उनको गुनासो छ ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्