कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
काठमाडौं । विगतमा एउटा विशाल र शक्तिशाली नेपाली कांग्रेसको एकछत्र नेतृत्व गरेका निवर्तमान सभापति शेरबहादुर देउवा अहिले चुनदेवीको एउटा सानो कोठाबाट राजनीतिमा सक्रियता देखाइरहेका छन् । आफ्नै पूर्ववर्ती निर्णय, कानुनी लडाइँ र गुटगत घेराबन्दीका बीच फेरि सक्रिय हुन खोज्दा उनी पार्टीलाई निकास दिनभन्दा पनि आफ्नो पुरानै साख फर्काउने होडमा देखिन्छन्। आफू नै अहिले पनि कांग्रेसको सभापति भएको दाबी गर्ने देउवाले विशेष महाधिबेशन गैरसंबैधानिक भनिरहेका छन् । दश बर्ष पार्टीको नेतृत्व र ५ पटक देश नै हाकेका देउवा अव फेरि किन सक्रिय बन्दैछन् ?
जेन–जी आन्दोलनका क्रममा भएको आक्रमण र त्यसपछिको पस्थितिमा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकबाटै कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्कालाई जिम्मेवारी हस्तान्तरण गरेर बाहिरिएका तत्कालिन सभापति शेरबहादुर देउवा अहिले पुनः राजनीतिमा सक्रिय भएका छन् । विगतमा पार्टी केन्द्रीय कार्यालय सानेपाबाट भव्य रूपमा सत्ता र संगठन चलाएका देउवा अहिले भने चुनदेवीस्थित सम्पर्क कार्यालयको एउटा सानो कोठामा नेमप्लेट राखेर आफू नै कांग्रेसको सभापति रहेको सन्देश दिन खोजिरहेका छन्।
उपचारपछि हङकङबाट फर्किएका देउवाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भव्य स्वागतले कांग्रेसभित्र उनको राजनीतिक प्रभाव अझै कायमै छ भन्ने संकेत गर्छ । करिब एक दशक पार्टीको नेतृत्व सम्हालेका र पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेका देउवा पछिल्लो समय औपचारिक रूपमा जिम्मेवारीबाट बाहिरिएजस्तो देखिए पनि व्यवहारमा भने सक्रिय राजनीतिबाट अलग हुन तयार नभएको सन्देश दिइरहेका छन् । यसको सबैभन्दा महत्वपूर्ण संकेत भक्तपुरमा बुधबार आयोजित कार्यक्रममा उनले आफू नै नेपाली कांग्रेसको सभापति भएको दाबी गर्नु हो ।
उनले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफू सभापति हुँदाहुँदै आफूलाई जानकारी नै नदिई विशेष महाधिवेशन गर्न मिल्छ भन्ने प्रश्न उठाएका छन् । सर्वोच्च अदालतबाट निस्सा जारी भएको प्रसंग उल्लेख गर्दै देउवाले कांग्रेसको आधिकारिकता अन्ततः आफूले नै पाउने दाबीसमेत गरेका छन् । निर्वाचन आयोगको नेतृत्वलाई दबाब दिएर कांग्रेसको आधिकारिकता लिइएको भन्ने उनको आरोपले पार्टीभित्रको विवाद अब संगठनात्मक सीमाभन्दा बाहिर संवैधानिक तथा कानुनी संघर्षतर्फ समेत धकेलिएको देखिन्छ ।
देउवाले अझै शक्तिमा रहिरहन खोज्नुको पछाडि आफ्नो राजनीतिक विरासत, पार्टीमाथिको प्रभाव र आफूले निर्माण गरेको गुटगत संरचनालाई जोगाउने चाहना प्रमुख देखिन्छ । कुनै समय सानेपाबाट विशाल संगठन, संसदीय शक्ति र राज्यसत्तामाथि प्रभाव सञ्चालन गर्ने देउवा अहिले पनि सानो गुटको सभापति बन्न किन मरिहत्ते गरिरहेका छन् भन्ने प्रश्न उठिरहेको छ ।
कांग्रेसभित्र पूर्णबहादुर खड्का, शेखर कोइराला र गगन थापालगायतका नेताहरूबीच सहमति र नयाँ शक्ति समीकरण निर्माणको प्रयास भइरहेका बेला देउवा भने आफ्नो गुटको नेतृत्व कायम राख्न केन्द्रित देखिन्छन् । एकातिर पार्टीलाई नयाँ नेतृत्व, नयाँ कार्यदिशा र आन्तरिक एकताको आवश्यकता औंल्याउने आवाज बलियो हुँदै गएको छ भने अर्कोतिर देउवा आफ्नो राजनीतिक वैधानिकता र नेतृत्वको निरन्तरता दाबी गर्दै पुरानो शक्ति संरचनालाई जोगाउन खोजिरहेका छन् ।
देउवाको सक्रिय पुनरागमनले कांग्रेसभित्रको पुरानो शक्ति संघर्षलाई पुनः सतहमा ल्याएको छ । कुनै समय अत्यन्त शक्तिशाली कांग्रेसको नेतृत्व गरेका देउवा अहिले भौतिक रूपमा सानो कार्यालयको एउटा कोठामा सीमित देखिए पनि उनको राजनीतिक महत्वाकांक्षा भने त्यति साँघुरिएको देखिँदैन । उनी आफूलाई हिजो साथ दिएका र आफूले शक्तिमै राखेका नेताहरुलाई नै साथ दिन कम्मर कसेर लागेका छन् । देउवाको यो अडान र शक्तिमा रहिरहने तीव्र चाहनाले पार्टीभित्र र बाहिर अनेकौँ प्रश्नहरू उब्जाएका छन् ।
देउवामाथि अझै केको लोभ बाँकी छ भन्ने सर्वसाधारण र कार्यकर्ताको टिप्पणी छ। अर्कोतिर देउवा फर्किएपछि सिङ्गो पार्टीलाई एकजुट बनाउन लाग्छन् भन्ने आशा कांग्रेसका दुबै थरी गुटले गरिरहेका थिए । तर, देउवा एउटा सानो गुटको नेतृत्वमा नै रमाउन खोजेको देखिन्छ । महाधिबेशन गराउन कस्सिएका गगनलाई भेटै नदिएर देउवा अझै आफू नै शक्तिशाली भएको महत्वाकांक्षी राखिरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्