Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

बाढी र पहिरोमा परी ७७ जनाको मृत्यु, मृतक परिवारलाई २ लाख राहत दिने सरकारको निर्णय


काठमाडौं । चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बेपत्ता हुनेको संख्या २६ रहेको छ भने घाइते हुनेको संख्या २२ पुगेको छ । पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पुर्याएको छ । पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको मृत्यु हुँदा ६ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ । पाँचथरपछि बढी मानवीय क्षति हुने जिल्ला इलाम बनेको छ । इलमामा पहिरोमा परी १३ जनाको मृत्यु हुनो २ जना घाइते भएका छन् भने ३ जना बेपत्ता छन् ।

यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । यस्तै पहिरोमा परी धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ । यस्तै पहिरो र बाढीमा परी बझाङ, सुनसरी र उदयपुरमा २–२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एक–एक जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५र५, बैतडी र इलाममा २–२, कालीकोट र डडेलधुरामा एकरएक जना घाइते भएका छन् ।

त्यस्तै, सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् । एकै परिवारमा एक जना भन्दा बढीको मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाख रुपैयाँ राहत दिने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।

त्यस्तै घर, बसोबास नष्ट भई खाद्यान्नसमेत नभएका परिवारलाई ५ जनासम्म भए प्रति परिवार १५ हजार रुपैयाँ र ५ जना भन्दा बढीको परिवार भए प्रति परिवार २० हजार रुपैयाँ नगद सहायता दिने निर्णय पनि गरेको छ । मन्त्री कार्कीले बाढी पहिरोमा परी घाइते हुनेहरुको सम्पूर्ण व्यवस्था सरकारले गर्ने निर्णय गरेको पनि जानकारी दिए । बाढी, पहिरो र डुवानको क्षतिको आँकलन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्ने, अत्यावश्यक भौतिक संरचनाको मर्मत सम्भार गरी तत्काल सञ्चालनमा ल्याउने व्यवस्था मिलाउने निर्णय पनि सरकारले गरेको छ ।

त्यस्तै, वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ । बुधबार नै सिंहदरबारमा बसेको विपद् व्यवस्थापन परिषदको बैठकमा वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुखद् भएको बताउँदै सबै सरोकारवाला निकायहरुलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिएका थिए ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #पहिरो र डुबान, #बाढी, #मानवीय क्षति

तपाईको कमेन्ट लेख्नुहोस्