Techie IT
  • ३ भदौ २०८३, बुधबार
KhojPatrika

रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको चार महिना नबित्दै सत्तापक्षकै सांसदहरूबाट सरकारको कामकारबाहीलाई लिएर तीव्र असन्तुष्टि पोखिन थालेको छ । सरकार गठन भएको छोटो समयमै जनअपेक्षा अनुसार काम हुन नसकेको र जनस्तरमा वितृष्णा बढ्दै गएको महसुस गर्दै रास्वपा सभापति रवि लामिछानेले बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मन्त्री र सांसदहरूसँग करिब तीन घण्टा लामो सामूहिक छलफल तथा अनौपचारिक बैठक सम्पन्न गरेका छन् ।

बैठकमा सत्तापक्षकै सांसदहरूले विषयगत मन्त्रालयका मन्त्रीहरूको कार्यशैली, बजारमा देखिएको ग्यास तथा रासायनिक मलको हाहाकार, र सार्वजनिक सेवामा देखिएका सास्तीबारे प्रश्नको वर्षा गराए । विशेषगरी गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल, र उद्योग मन्त्री गौरीकुमारी यादवको काममाथि सांसदहरूले कडा आपत्ति जनाएका थिए । जेनजी आन्दोलनका सहिद परिवारले न्याय नपाएको र दोषीहरू उम्किएको भन्दै सांसदहरूले सरकारको लाचारीमाथि प्रश्न उठाए ।

जवाफमा गृहमन्त्री गुरुङले अदालतका कारण दोषीहरू छुटेको स्पष्टीकरण दिँदै आन्तरिक असन्तुष्टि बाहिर नपोख्न आग्रह गरे । त्यस्तै, बजारमा ४० लाख सिलिन्डर ग्यास आपूर्ति हुँदा पनि किन अभाव भयो भन्ने विषयमा मन्त्रीहरूसँग जवाफ मागिएको थियो ।

सांसद र मन्त्रीहरू बिचको तिखो सवाल–जवाफपछि सभापति रवि लामिछानेले पार्टीभित्रको असन्तुष्टि र अनियन्त्रित स्थिति सम्हाल्न कडा निर्देशन दिएका छन् । उनले आफ्ना सबै मन्त्री र सांसदहरूलाई २४ घण्टाभित्र ‘आरएसपी पल्स’ एप डाउनलोड गरी आफ्ना हरेक गतिविधि डिजिटल ट्र्याकिङमा अनिवार्य अद्यावधिक गर्न ताकेता गरेका छन् ।

साथै, सरकार र पार्टीका जुनसुकै गुनासा भए पनि बाहिर नपोखी पार्टी तथा संसदीय दलभित्रै संयमित भएर राख्न उनले कडा शब्दमा सचेत गराएका छन् । बाइट ः रवि लामिछाने, सभापति, रास्वपा
सरकार सञ्चालन र मन्त्रीहरूको कार्यशैलीलाई लिएर रास्वपाभित्रै असन्तुष्टिको पारो तातिरहेका बेला सभापति लामिछानेले भने मन्त्री फेर्ने वा प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिएको भन्ने चर्चाको खण्डन गरेका छन् ।

प्रधानमन्त्री शाहले एक्लो भएको भनेर लेखिएको विषयमा गलत अर्थ नलगाउन उनले आग्रह गरे । प्रधानमन्त्री कवि तथा कलाकारसमेत भएकाले त्यस्ता भावना सृजना भएको हुनसक्ने लामिछानेको प्रतिक्रिया छ । प्रधानमन्त्रीले एक्लै लड्दैछु् भनेर लेखेको स्टाटसबारे लामिछानेले जवाफ दिएका हुन् ।

बाह्य रूपमा रविले स्थिति सामान्य देखाउन खोजे पनि रास्वपाभित्रको बेमेल लुक्न सकेको छैन । सांसदहरुलाई बोलाएर सभापतिले निर्देशन दिनुपर्ने अवस्था आइसक्दासम्म संसदीय दलका नेता बालेन्द्र शाहले एउटा बैठक पनि राखेका छैनन् । जसका कारण सभापतिले बैठक राखेर अनौपचारिक छलफल मात्र हो भन्नुपरेको छ ।

चुनावका बेला दिइएका आश्वासन र वर्तमान सरकारको फितलो डेलिभरीका कारण आफ्नै सांसदहरू मुख लुकाएर हिँड्नुपर्ने अवस्थामा पुगेका छन् । प्रधानमन्त्री शाहको एकांकी कार्यशैली, स्टन्टबाजी, र रविसँगको न्यून परामर्शका कारण चुनावी साख गुम्ने खतरा बढेको छ । बुधबारको बैठकले प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी संसदीय दलको विधान संशोधन कार्यदलसमेत गठन गरेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं