बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि तीव्र असन्तुष्टि पोख्दै गम्भिर आरोपहरु लगाएका छन् । इतिहासको स्मरण गराउँदै एमाले संसदीय दलका नेता रामबहादुर थापाले २०१७ सालको ‘महेन्द्रतन्त्र’ र २०६१ सालको ‘ज्ञानेन्द्रतन्त्र’ जस्तै अहिले मुलुकमा ‘बालेन्द्रतन्त्र’ हावी भएको आरोप लगाए ।
सरकारको कार्यशैलीलाई ‘पाकिस्तानी मोडल’ हुँदै ‘उत्तर कोरियाली मोडल’ तर्फ ढल्केको टिप्पणी गर्दै उनले सरकार ‘आर्मी, अल्गोरिदम र अमेरिका’ को भरमा चलेको गम्भिर आरोप लगाए ।
उनले सरकार नसच्चिए ठूलो परिवर्तनको आँधिबेहरी ल्याउने बताए । रास्वपाभित्रको आन्तरिक सत्ता संघर्षले राष्ट्रिय सुरक्षामा चिन्ता बढाएको बताउँदै उनले भू–राजनीतिक चलखेलको आशंका व्यक्त गरे । रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेनको संसदमा आकस्मिक आगमनबिच सम्बन्ध रहेको उनको दाबी छ ।
थापाले मुलुकमा महँगी, बेरोजगारी र आर्थिक संकट बढेको भन्दै सरकारको आलोचना गरे । महँगीले आकाश छोएको, बेरोजगारीले धर्ती ढाकेको र मानिसहरू भोकभोकै बस्नुपर्ने अवस्था आएको उनको भनाइ थियो । नेता थापाले प्रधानमन्त्रीसहित सरकारको पुनर्गठन गर्न रास्वपाका सभापति रवि लामिछानेलाई सुझाव दिए ।
प्रधानमन्त्री शाहको कार्यशैलीमा सुधार नआए र सभापति लामिछानेले पुनर्गठनको पहल नगरे आन्दोलनमा जाने चेतावनी दिए । पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको पुर्नगठन गर्न अविलम्ब पहल गर्नुपर्ने उनको भनाई छ ।
रास्वपाकी सांसद समीक्षा बास्कोटाले एमाले संसदीय दलको नेता रामबहादुर थापाको अभिव्यक्तिप्रति नियमापत्ति जनाइन । उनले संविधानले मौलिक हक भनेर राजनीतिक दल खोल्ने स्वतन्त्रता दिएको र राजनीतिक दल कसैको ठेक्का या कसैको केही नभएर नागरिकले मत दिएको बताइन ।
थापाले मतदाताले दिएको मतलाई पटक–पटक अपमान गरेको बताइन् । उनले प्रधानमन्त्री बालेनलाई बालेन्द्रतन्त्र भनेर सम्बोधन गरेकोप्रति आपत्ति जनाइन । सम्बोधनका क्रममा नेता थापाले सरकारले उद्योगीमाथि धरपकड बढाएको, खर्बौँ रुपैयाँको लगानी विदेशिन थालेको र बैंकबाट लगानी गर्ने वातावरण नरहेको बताए । राज्यको ‘आतंक’का कारण भएको पुँजीसमेत निष्क्रिय रहेको र शेयर बजार ध्वस्त भएको उनको दाबी थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल



तपाईको कमेन्ट लेख्नुहोस्