Techie IT
  • ८ माघ २०८१, मंगलबार
KhojPatrika

विश्व टेलिभिजन दिवस र नेपालमा टेलिभिजनको विकास


काठमाडौं । आज विश्व टेलिभिजन दिवस । सन् १९९६ को १७ डिसेम्बरमा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आज यो दिवस मनाउन थालिएको हो । तर पछिलो समय नेपालमा भने बिषयबस्तुको छनौट र व्यवस्थापनको पाटोमा ध्यान नदिंदा टेलिभिजन व्यवसाय थप चुनौतीपूर्ण बनेको छ । सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ ।

टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ तारिखदेखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ । सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भएर रंगीन दृष्य हेर्न सकिने अवस्था आएको हो । सन् १९७० को दशकमा विश्वका ६० वटा देशमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेट भित्रिएको पाइन्छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपालमा अहिले दुईदर्जन बढी टेलिभिजन च्यानलहरु नियमित प्रसारणमा छन् ।

यसरी हेर्ने हो भने टेलिभिजन एउटा उचाईमा पुगेको अनुभुत गर्न सकिन्छ । पछिलो समय टेलिभिजन परिपक्व संस्थाको रुपमा हुर्किएको सञ्चारविद निर शाहको बुझाई छ । संचारविद शाहका अनुसार दर्शकले रुचाएको कार्यक्रम दिन नसक्नु, बिषयबस्तुको छनौटमा ध्यानदिन नसक्नुले टेलिभिजनको बिस्वासनियतामाथि प्रश्न उठिरहेको छ । अनलाईन र युट्युवहरुको विकाससंगै टेलिभिजनकर्मीलाई झन चुनौती थपिएको छ । नेपालमा नया बिषयबस्तुको खोज अनुसन्धानमा टेलिभिजन संचालकहरु लगानी गर्न नै हिच्कीचाउने गरेको अर्का संचारविद् तपनाथ शुक्लको बुझाइ छ ।

नेपालमा कर्मचारीलाई समयमा तलव नदिने, प्रोत्साहनका कुनै काम नहुने कारण कर्मचारीको मनोबल घट्ने गरेको शुक्लाको भनाइ छ । टेलिभिजन सञ्चालकले पनि बिज्ञापनको भरमा मिडिया चलाउनु पर्ने भएको र बिज्ञापनको सिमित बजार भएकाले समस्या देखिएको छ । जेहोस अहिले पनि दर्शकमाझ टेलिभिजन सशक्त संचारमाध्यमका रुपमा परिचित छ । सूचना र मनोरञ्जनका लागि टीभीको विकल्प अझैपनि तयार हुन सकेको छैन । टेलिभिजनलाई अझै सशक्त र प्रभावकारी बनाउन टेलिभिजन संचालकसंगै कर्मचारी र सरकारबीच समन्व र सहकार्य हुन जरुरी छ ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #विश्व टेलिभिजन दिवस

तपाईको कमेन्ट लेख्नुहोस्