समानुपातिकमा ६४ दल, १८ दलले मात्रै दिए ११० सिटमा उम्मेदवारी
काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४ वटा दल समानुपातिक सूचीमा सहभागी भएका छन् । ५४ वटा दल आआफ्नो चुनाव चिह्नमा र १० वटा दल ४ वटा चुनाव चिह्नमा चुनाव लड्दैछन् । यसरी समानुपातिकतर्फको मतपत्रमा जम्मा निर्वाचन चिह्न ५८ वटा रहने छन् ।
निर्वाचनका लागि आइतबार र सोमबार समानुपातिकको बन्दसूची बुझाउनुपर्ने समय थियो । त्यसअनुसार ६४ वटा दलले समानुपातिकमा उम्मेदवारी दिएका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिकतर्फ निर्वाचित हुन्छन् भने १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् ।
समानुपातिकतर्फको उम्मेदवारी दर्ता गर्ने दलहरूमध्ये १८ वटाले आआफ्नै चुनाव चिह्नमा चुनाव लड्ने गरी ११० सिटमै उम्मेदवारी दिएका छन् । ८ वटा दलले फरकफरक तीन वटा चुनाव चिह्नमा संयुक्त रूपमा ११० सिटमै उम्मेदवारी दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । बाँकी ३८ वटा राजनीतिक दलले भने कम सिटमा उम्मेदवारी दिएका छन् ।
दलहरूले कम्तीमा ११ र बढीमा ११० उम्मेदवार सहितको बन्दसूची पेस गर्न सक्थे । अधिकतमभन्दा कम पदमा उम्मेदवारी दिने दलको संख्या अधिक छ । समानुपातिक सूचीमा ७ वटा क्लस्टर छन् । आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेशी मुस्लिम र पिछडिएको क्षेत्रबाट उम्मेदवार चयन गर्दा कम्तीमा आधा अर्थात् ५० प्रतिशत महिला उम्मेदवार चयन गर्नुपर्छ ।
राष्ट्रिय मुक्ति आन्दोलन नेपालले २७, सार्वभौम नागरिक पार्टीले २८, नेसनल रिपब्लिक नेपालले २९, समावेशी समाजवादी पार्टीले ३१, समावेशी समाजवादी पार्टीले ३२, राष्ट्र निर्माण पार्टी नेपालले ३५, प्रजातान्त्रिक पार्टी नेपालले ४१, नेपालको लागि नेपाली पार्टीले ४३, राष्ट्रिय ऊर्जाशील पार्टी नेपालले ४६ र राष्ट्रिय परिवर्तन पार्टीले ४९ जनाको नाम बुझाएका छन् ।
५० जनाभन्दा माथि नाम बुझाउने दल चार वटा छन् । जय मातृभूमि पार्टीले ५५, नेपाल जनता पार्टीले ६०, संयुक्त नागरिक पार्टीले ६१ र जनता समाजवादी पार्टी नेपालले १०१ जनाको नाम बुझाएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार



तपाईको कमेन्ट लेख्नुहोस्