Techie IT
  • २१ कात्तिक २०८१, बुधबार
KhojPatrika

सहकारी ठगी प्रकरणमा पक्राउ परे रवि लामिछाने (भिडियोसहित)


काठमाडौं । सहकारीको रकम  गोर्खा मिडिया नेटवर्कमा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै सीआईबीलाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरोबाट खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । लामिछानेलाई शुक्रबारै स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ ।

सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा १६ असोज २०८० पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा लगायत १९ जना विरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो । पीडितहरुले २२ माघ २०८० मा सभापति लामिछाने सहित १८ जना विरुद्ध कास्की प्रहरीमा फेरि पूरक जाहेरी दिएका थिए । प्रतिनिधिसभामा नेपाली कांग्रेसले सहकारी ठगीको मामलामा संसदीय समिति गठन गरेर छानबिन हुनुपर्ने माग निरन्तर राखिरह्यो ।

लामो गतिरोधपछि एमाले सांसद् सूर्य थापाको नेतृत्वमा १५ जेठमा सहकारी समस्याबारे छानबिन गर्न एमाले सांसद् सूर्य थापाको नेतृत्वमा संसदीय विशेष समिति गठन भयो । समितिले सहकारीको रकम अपचलनमा लामिछाने समेतलाई दोषी ठहर गर्दै ४ असोज २०८१ मा प्रतिवेदन बुझायो ।




क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, भिडियो, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गोर्खा मिडिया नेटवर्क, #सहकारीको रकम, #स्वतन्त्र पार्टी

तपाईको कमेन्ट लेख्नुहोस्