मुकुल ढकालले खोले रविको पोलः उहाँ गोर्खा मिडियामा पनि निर्दोष, पार्टीमा पनि निर्दोष ? (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले आफूमाथि पार्टीबाट ह्यारेसमेन्ट भएको आरोप लगाएका छन् । पार्टी कार्यालयमा दिनभर बसेको केन्द्रीय समिति बैठकपछि निस्कने क्रममा ढकालले आरोप लगाएका हुन । ‘उहाँहरूले मलाई ह्यारेसमेन्ट गर्नुभयो । दुईजना उपसभापतिले आजदेखि महामन्त्री मान्दैनौँ भन्नुभयो । मैले बोल्दिनँ भन्दा बोल कि बोल भनियो ।
एउटा राजनीतिक प्राणीको रूपमा मैले विरोध जनाएको हो । बोल कि बोल भन्न पाइँदैन, उनले भने । गोरखा मिडियाबाट भएको सहकारी ठगीमा जीबी राई मात्रै दोषी हो भन्नेले पार्टीमा महामन्त्रीको मात्र गल्ती देखाएको उनको गुनासो छ । उनले भने, ‘महामन्त्रीलाई सबै दोष थोपर्न खोजिँदै छ ।
उहाँ गोर्खा मिडिया नेटवर्कमा महामन्त्री जस्तै पोजिसनमा हुनुहुन्थ्यो । त्यहाँ चाहिँ अध्यक्ष जीबी राईको सबै गल्ती भन्नुहुन्छ । पार्टी चाहिँ महामन्त्रीको सबै गल्ती देखाउनुहुन्छ । उहाँ जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिले पनि गल्ती गर्दैन भनेजस्तो भयो ।’
महामन्त्रीको प्रस्तुति अस्वभाविकः स्वर्णिम वाग्ले
उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री मुकुल ढकाल असामान्य तरिकाबाट पेश भएको बताएका छन् । महामन्त्रीको व्यवहार र शैलीले उनले लेखेको प्रतिवेदनसमेत ओझेलमा परेको वाग्लेले टिप्पणी गरे । बैठक केही बेर स्थगित गरेर रास्वपाका पदाधिकारीले सञ्चारकर्मीलाई व्रिफिङ गरेका थिए ।
वाग्लेले बैठक लाइभ नगर्ने भनेर सतप्रतिशत केन्द्रीय सदस्यले भनेपछि महामन्त्रीले त्यसलाई स्वभाविक रुपमा नलिएको बताए । उनले भने, ‘आजको वैठकमा उहाँ एकदमै असहज, अस्वभाविक र अप्राकृतिक रुपमा पेश हुनुभयो । आज उहाँको व्यवहार मैले चिनेको मुकुल ढकाल रहेन । हामीले गर्ने स्नेह र सम्मानलाई उहाँले आज सामूहिकरुपमा नै लत्याउनुभयो ।’ महामन्त्रीमाथि कारवाही गर्ने माग बैठकमा उठे पनि सभापतिले नै रोकेको वाग्लेले बताए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, भिडियो, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #डा. मुकुल ढकाल, #मलाई ह्यारेसमेन्ट गर्नुभयो, #ह्यारेसमेन्ट भएको
तपाईको कमेन्ट लेख्नुहोस्