दुई दिने राजकीय भ्रमण सकेर कतारका राजा थानी स्वदेश फिर्ता, आठ बुँदे सम्झौता तथा सहमतिहरूमा हस्ताक्षर !

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन् । उनलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । विदाईमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरेको पनि सहभागिता थियो । कतारका अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । स्वदेश फर्किनुअघि बुधबार नै कतारका राजा थानी र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता भएको थियो ।
कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्ड नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल भयो । भेटमा प्रधानमन्त्री ्प्रचण्डले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताए । द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्रीले नेपालमा कृषि, पर्यटन एवं पूर्वाधारका क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको बताएका थिए ।
कतारमा कार्यरत नेपालीहरू नेपाल–कतारबीच रहिआएको मैत्रीसम्बन्धलाई अझ सबल बनाउने सूत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा यस्ता सम्बन्धलाई अझ मजबुद बनाउनुपर्नेमा जोड दिएका छन् । उनले इजरायल र हमासबीच भएको द्वन्द्वका क्रममा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीलाई सुरक्षितरूपमा नेपाल ल्याउन पहल गरिदिन अनुरोध समेत गरे । मंगलबारको भेटमा पनि राष्ट्रपति पौडेलले विपीन जोशीको रिहाईको लागि आग्रह गरेका थिए ।
नेपालले लगानीमैत्री वातावरण सुनिश्चित गर्दै लगेको जानकारी दिँदै प्रधानमन्त्रीले छिट्टै नेपालमा हुन लागेको लगानी सम्मेलनमा कतारबाट उच्चस्तरीय प्रतिनिधिमण्डल तथा लगानीकर्ताहरूको टोली नेपाल आउने अपेक्षा रहेको बताएका थिए । थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरे । आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए । थानीले नेपालका श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको बताइएको छ । थानीको नेपालको राजकीय भ्रमण सकिएसँगै दुई देशका विभागीय मन्त्री तथा अधिकारीहरूले विभिन्न सम्झौता तथा सहमतिमा हस्ताक्षर गरेका छन् । नेपाल र कतारले गरेका विभिन्न सम्झौता तथा सहमतिका आठ बुँदामा हस्ताक्षर गरेका हुन् ।
यस्ता छन् सम्झौता तथा सहमतिका आठ बुँदा
१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबिचमा कला तथा सांस्कृतिक सहकार्यका क्षेत्रमा सहकार्य गर्ने समझदारी
२. नेपालको सरकारी समाचार संस्था राष्ट्रिय समाचार संस्था तथा कतारको कतार न्यूज एजेन्सीबिचमा समाचार आदानप्रदानको सहकार्यको सहमति
३. नेपाल सरकार तथा कतार सरकारका बिचमा शिक्षा, उच्च शिक्षा तथा वैज्ञानिक खोजका क्षेत्रमा सहकार्य गर्ने समझदारी
४. नेपाल सरकार तथा कतार सरकारका बिचमा युवा तथा खेलकुदका क्षेत्रमा सहकार्य गर्नेमा समझदारी
५. नेपाल तथा कतारका महान्यायाधिवक्ता कार्यालयका बिचमा सहकार्यको समझदारी
६.नेपाल सरकारको परराष्ट्र अध्ययन प्रतिष्ठान तथा कतार सरकारको विदेश मन्त्रालयको कूटनीतिक संस्था बिचमा कूटनीतिक तालिम तथा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने समझदारी
७. नेपालको उद्योग वाणिज्य महासंघ र कतारको कतार चेम्बरका बिचमा साझा व्यापारिक परिषद् स्थापना गर्ने सम्झौता
८. नेपाल उद्योग वाणिज्य महासंघ तथा कतार चेम्बरका बिचमा समझदारी पत्रको नवीकरण
मंगलबार पौनी ४ बजे नेपाल आएका कतारका राजा थानीले त्यसलगत्तै राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका थिए ।
राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले चिन्तित तुल्याएको पनि बताएका थिए । पहिलो पटक नेपाल आएका राजा थानीको लागि काठमाडौंका बिभिन्न स्थानमा स्वागत गेट बनाउनुका साथै सर्वसाधारणले समेत बाजागाजासहित स्वागत गरेका थिए ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आठ बुँदे सम्झौता, #थानी स्वदेश फिर्ता, #दुई दिने राजकीय भ्रमण
तपाईको कमेन्ट लेख्नुहोस्