Techie IT
  • ११ असोज २०८०, बिहीबार
KhojPatrika

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त


काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सर्वोच्च अदालतले पदमुक्त हुने आदेश गरेको छ । प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश पनि दिएको छ । साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर भदौ ४ मा प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।

त्यसविरुद्ध एमाले संसदीय दलका नेता कार्की सर्वोच्च गएका थिए । त्यही मुद्दामा न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले सभाको अध्यक्षता गरेका व्यक्तिले दिएको मतलाई संविधानसम्मत भन्न नमिल्ने ठहर गरेको हो । विश्वासको मत बदर गर्दै इजलासले मुख्यमन्त्री थापालाई पदमुक्त गर्यो ।

पटक–पटक विश्वासको मत पाउने अवसर दिन नसकिने भन्दै पूर्ण इजलासले अर्को प्रक्रियामा जानुपर्ने आदेश गरेको हो । थापा असार २१ मा संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुखको समेत हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री नियुक्त गरेको पाइएपछि सर्वोच्चले ११ साउनमा उनको नियुक्ति नै बदर गर्यो र, पुनः नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न भनेको थियो । सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर ४७ जनाको हस्ताक्षर जुटायो र १६ साउनमा थापा फेरि मुख्यमन्त्री नियुक्त भए । तर, विश्वासको मत दिने क्रममा उपसभामुख सृजना दनुवारले सहयोग गरिनन् ।

उनी प्रदेशसभा बैठकको अध्यक्षता छल्न उपचारका लागि भन्दै काठमाडौं हिंडिन् भने एमाले र राप्रपाका ज्येष्ठ प्रदेशसभा सांसदहरु पनि अनुपस्थित थिए । कांग्रेसका अन्सारीले बैठकको अध्यक्षता गरेका थिए। मत विभाजनको क्रममा अध्यक्षता गरेका उनले मत सच्याउने बेला अर्का सांसद गीता तिमल्सिनालाई अध्यक्षता गर्न बोलाए र आफूले मुख्यमन्त्री थापाको पक्षमा मत दिए । अनि फेरि प्रदेशसभाको अध्यक्षता गर्न गएर कार्कीले विश्वासको मत पाएको सुनाएका थिए ।

आदेशको संक्षिप्त विवरण तयार पारेपछि इजलासमा पुगेर न्यायाधीश सपना मल्लले बुँदागत रुपमा संक्षित विवरण सुनाइन् । त्यसक्रममा उनले लामो समय प्रदेश सरकार तदर्थमा चल्ने अवस्था भएको भन्दै त्यो हुन नदिन ४८ घन्टाभित्र कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको बताइन् । कोशी प्रदेशमा सत्ता गठबन्धनले पटक पटक संविधानमाथि आक्रमण गरेको ठहर भएको छ ।

सर्वोच्च अदालतले बिहीबार दिएको संक्षिप्त आदेशमा समेत संविधान मिचिएको उल्लेख छ । अदालतले यसअघिका सभामुख बाबुराम गौतमले संविधानविपरीत सरकार गठनमा गरेको हस्ताक्षरको स्मरण गर्दै यस पटक सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत बराबर नभएको बेला दिएको विश्वासको मत संविधानविपरीत ठहर गरेको हो ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उद्धव थापा पदमुक्त, #कोशी प्रदेशका मुख्यमन्त्री, #नियुक्त गर्न परमादेश

तपाईको कमेन्ट लेख्नुहोस्