राष्ट्रिय सभाका सदस्यले सोधे सिनामंगलसम्म कसरी आयो सुन ?

काठमाडौं । एक सय किलो सुन नेपाल अवैध रुपमा भित्रिएको विषयलाई लिएर राष्ट्रिय सभामा पनि प्रश्न उठेको छ । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले चार्ल्स सोभराजले भित्रुभव विमानस्थलबाट हात्ती छिराइदिन सक्ने भनी दिएको अभिव्यक्तिलाई बिर्साउन गरी १०० किलो सुन अवैध रुपमा भन्सार पास भएको बताए ।
बिहीबार राष्ट्रिय सभामा विशेष समय लिएर उनले ३३ किलो सुन अवैध रुपमा आएको चर्चा सेलाउन नपाउँदै १०० किलो सुन अवैध रुपमा भित्रिँदा अन्तराष्ट्रिय स्तरमा नेपालको छवि धुमिल भएको उनको भनाई छ । ‘सयौं किलो सुन एक पल्ट होइन २२ पल्ट त्यस्तो प्रक्रिया भयो भनेर आइरहेको छ’ नेता रायमाझी थप्छन्, ‘हामीले एउटा मोबाइल, लगाएको घडी कुनै बेला खोलेर कोर्टको गोजीमा हाले त्यो मेसिनबाट छिर्दा डिटेक्टर कराउँछ । १०० किलो सुन निस्कँदा डिटेक्टर किन कराएन ?
नेकपा एमालेका सांसद गोपाल भट्टराईले १०० किलो सुन अवैध रुपमा भित्रिएकोबारे निष्पक्ष छानबिन हुनुपर्ने बताए । ‘हाम्रो देशमा तस्करहरुले राज्य सञ्चालनमा हस्तक्षेप त गरेका छैनन् भन्ने आभास हुन थालेको छ । बाहिर हेर्दा भ्रष्टाचार, अनियमितता सबै अन्त्य हुन थालेजस्तो देखिएको छ’ उनी भन्छन्, ‘पावरमा भएकाहरु जोडिदा समेत छानविन भएको छैन ।
जनताको ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था देखिएको छ ।’ सुन भित्र्याउँदा मोटर साइकल र स्कुटरको ‘ब्रेक शू’भनेर भन्सार छलि भएको र एक, डेढ महिनामा यही प्रक्रियाबाट भित्रिएको भन्ने सुनिएको उल्लेख गर्दै उनले भने, ‘अब निष्पक्ष छानबन हुन्छ भनेर विश्वास गर्ने ठाउँ छैन । यो प्रश्न राख्न चाहन्छु ।’
त्यस्तै, जनता समाजवादी पार्टी सांसद मोहम्मद खालिदले एक अर्बको सुन अन्तराष्ट्रिय विमानस्थलबाट भित्र आउँछ भने बाहिर पनि जान सक्ने भन्दै प्रश्न उठाए । त्रिभुवन विमानस्थलमा जुन सरकार आएपनि करारमा आफ्ना मान्छे राख्ने प्रवृति रहेको उल्लेख गर्दै उनले अवैध सुन आयातमा राजनीतिक संलग्नता रहेको हुन सक्ने आशंका गरे ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राष्ट्रिय सभा, #सुन नेपाल अवैध
तपाईको कमेन्ट लेख्नुहोस्