Techie IT
  • ४ फागुन २०८१, आईतबार
KhojPatrika

२ करोड बार्गेनिङको अडियोले रास्वपामा भुँइचालो,रवि लामिछानेमाथि उठे थुप्रै प्रश्न !


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ । श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो ।

अडियोमा सांसद श्रेष्ठले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको उल्लेख गरेका छन् । एमालेको साथमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड सरकारमा सहभागी रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दाबी गरेको थियो ।

सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको कोर टिमले रकम मागेको सांसद ढाकाकुमारले बताएपछि सभापति रवि लामिछानेमाथि पनि प्रश्न उठेको छ । ह्वाट्सएपमा भएको भनिएको संवादमा व्यवसायी प्रसाईंले पनि २ करोड सहयोग गर्ने, तर त्यसका लागि केही समय लाग्ने बताएका छन् । तर, स्वास्थ्य मन्त्रालय एमालेले लिएर राज्यमन्त्रीमा डा.तोसिमा कार्कीलाई रास्वपाले पठाएको थियो ।
२४ घण्टाको स्पष्टिकरण सोधियो
२ करोड रकम मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन गर्ने जनाएको छ । सांसद श्रेष्ठलाई निलम्बन गरेर छानबिन लागि समिति बनाउन लागिएको रास्वपाले जनाएको छ । उसले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको छ ।

स्वास्थ्यमन्त्री बन्न सभापति लामिछानेको टिमले २ करोड रुपैयाँ माग गरेको भन्दै स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको टेलिफोन संवाद बाहिरिएपछि रास्वपाले स्पष्टीकरण सोधेको हो । उनलाई पार्टीको अनुशासन तथा आचरण समितिमा २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनिएको छ । छानबिन पूरा नहुँदासम्मको लागि श्रेष्ठलाई पार्टीको साधारण सदस्यको हैसियतमा पनि काम नगर्न भन्दै निलम्बन गरिएको छ ।
कारवाही गर्ने रविको भाषण
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरेर कारबाही गर्ने दाबी गरेका छन् । दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि बारा २ मा आयोजित चुनावीसभामा उनले भ्रष्टाचारको विषयमा आफूहरुको भनाइ र गराइ एउटै हुने बताए । उनले भने, ‘हामीले भ्रष्टाचारको बारेमा आवाज उठाइरहेको बेलामा आज हाम्रो सांसदको एउटा अडियो टेप सार्वजनिक भएको कुरा मैले सामाजिक सञ्जालबाट जानकारी प्राप्त गरेको छु ।

तपाईंहरुलाई स्पष्ट पार्न चाहन्छु भ्रष्टाचारको विषयमा हाम्रो भनाइ, गराइ र कुरा सधैं एउटै हुन्छ । अडियो सार्वजनिक हुनेवित्तिकै मैले पार्टी पंक्तिमा निर्देशन दिइसकेको छु । ७२ घण्टाभित्र छानबिन गरेर कारबाही अगाडि बढाउनू भनेर अल्टिमेटम दिएको छु।’ देशमा भ्रष्टाचारका काण्ड ७२ वर्षदेखि अल्झिएर बसे पनि आफ्नो पार्टीभित्र प्रश्न उठेपछि निराकरण हुने लामिछानेले बताए । उनले छानबिन नसकिएसम्म पार्टीको साधारण सदस्यको रुपमा पनि कुनै काम गर्न नदिने बताए ।

उनले भने, ‘मैले ७२ घण्टे अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो । अब ७० घण्टाभित्र सत्यतथ्य छानबिन गरेर कारबाही गर्न नसके मलाई यही गढीमाईमा बलि दिनुहोला ।’गद्दारी गरेको प्रमाणित भए कानूनी कारबाही गर्न प्रहरी प्रशासनमा हस्तान्तरण गरेर पठाउने उनले बताए । आफ्नो सांसदले भ्रष्टाचारको डिल गरेको प्रमाणित भएर अख्तियारमा आफैं पत्र लिएर जाने समेत लामिछानेको जिकिर छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #२ करोड रुपैयाँ, #अडियो सार्वजनिक, #मेडिकल व्यवसायी दुर्गा प्रसाईं, #स्वास्थ्यमन्त्री

तपाईको कमेन्ट लेख्नुहोस्