विहिबार हुने राष्ट्रपतिको निर्वाचनको तयारी पूरा, मतपत्रमा दुवै उम्मेदवारको तस्बिर

काठमाडौं । राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा निर्वाचनका लागि मतदान केन्द्र तयार पारिएको हो । बिहिबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान कार्यक्रम छ ।
संसद भवनको ल्होत्से हलमा २ वटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्रमा संघका सांसदहरुले मतदान गर्नेछन् भने अर्को मतदान केन्द्रमा प्रदेश तर्फका सांसदले मतदान गर्नेछन् । राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेश तर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् ।
आयोगले निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र बानेश्वर पठाइसकेको छ । मतपत्रमा उम्मेदवारको नाम र फोटो हुने तर निर्वाचन चिन्ह नहुने बताइएको छ । मतदाताले मतपत्रमा स्वस्तिक छाप लगाएर मतदान गर्नुपर्नेछ । मतपत्रमा ठीक चिन्ह लगाएमा मतपत्र बदर हुनेछ ।
मतदान सम्पन्न भएपछि भोलि नै ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म परिणाम घोषणा गर्ने तयारी गरिएको छ । निर्वाचन आचार संहिताका कारण गए रातिदेखि चुनाव प्रचार प्रसारको गर्न रोक लागेको छ । मतदानका बेला मतदाताका रुपमा रहेका संघीय र प्रदेश सांसदले मतदानस्थलमा मोबाइल फोन प्रयोग गर्न पाउने छैनन् ।
निर्वाचनमा एक मतदान केन्द्रमा ७ जना कर्मचारी खटिनेछन् भने पर्याप्त मात्रामा सुरक्षाकर्मी खटिनेछन् । राष्ट्रपतिको निर्वाचनका लागि सत्ता गठबन्धन ८ दलको समर्थन र सहयोगमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् भने उनका प्रतिस्पर्धीका रुपमा एमालेको तर्फबाट पार्टीका उपाध्यक्ष समेत रहेका सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #राष्ट्रपति पद
तपाईको कमेन्ट लेख्नुहोस्