एकता महाधिबेशनमा पराजित कमल थापाले छोडे राप्रपा, भुले गिता छोएर खाएको कसम
नयाँ हिन्दुबादी पार्टी खोल्न तयारी

काठमाडौं । हिन्दुराष्ट्र र राजतन्त्रको एजेन्डा बोकेको राप्रपा फेरि एक पटक फुटको सँघारमा उभिएको छ । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले मंगलबार गृह जिल्ला मकवानपुरबाट पार्टी परित्याग गर्ने घोषणा गरेसगै राप्रपा फेरि एक पटक फुटको सँघारमा उभिएको हो । झन्डै दुई वर्ष अघि राप्रपा र राप्रपा संयुक्त बीच पार्टी एकिकरण भएसँगै अधिकांश हिन्दुवादी र राजतन्त्र पक्षधरहरु एकै स्थानमा उभिएका थिए ।
त्यसबेला पार्टी एकिकरण गर्दै तत्कालिन अध्यक्ष थापाले गीतामा हात राखेर अब पार्टी नफुटाउने वाचा समेत गरेका थिए । तर, गत मंसिरमा सम्पन्न एकताको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँगको पराजयलाई थापाले सहज रुपमा लिन सकेनन् । आफ्नो हारमा निर्मल निवासको हात रहेको आरोप लगाउँदै उनले गीतालाई छोएर खाएको वचन समेत बिर्सिएर पार्टीलाई फेरि एक पटक विभाजन उन्मुख गराएका छन् । तर, गत महाधिवेशनमा उनकै प्यानलबाट जितेका पदाधिकारीहरु समेत थापाको निर्णयलाई स्वीकारेर उनको साथ दिन तयार देखिएका छैनन् ।
निर्मल निवासले आफूलाई हराएको दाबी गर्दै थापाले अध्यक्ष राजेन्द्र लिङ्देन समक्ष छानबिनको माग गरेका थिए । तर लिङ्देनले यो विषयमा छानबिन हुन नसक्ने बताएपछि थापाले पार्टी नै परित्याग गरेका हुन् । मंगलबार बसेको पदाधिकारी बैठकपछि अध्यक्ष लिङ्देनले थापालाई पार्टी परित्याग नगर्न आग्रह गरेका छन् । साथै थापाले उठाएको मागका सन्दर्भमा पार्टीभित्र छलफल भइरहेकै बेला बाहिरिने निर्णय आउनु दुर्भाग्यपूर्ण भएको लिङ्देनको भनाइ छ । मंगलबार हेटौडामा पत्रकार सम्मेलन गरेर राप्रपाबाट अलग भएको घोषणा गरेका थापाले भविष्यमा राजतन्त्रलाई छाडेर हिन्दुराष्ट्रको मात्रै एजेन्डा सहित राजनीतिमा सक्रिय हुने बताएका छन् ।
उनी निकट नेताहरुले समेत थापाले आफूहरुसँग कुनै सल्लाह नगरि पार्टीबाट राजिनामा दिएको कारण उनको हठात् निर्णयमा साथ दिन नसक्ने बताएका छन् । यसले थापाले पार्टी पंक्तिबाट दरिलो साथ पाउने सम्भावना कम देखिएको छ । उता उनले पार्टी परित्याग गरेसँगै पार्टीलाई हुनसक्ने सम्भावित क्षति रोक्न अध्यक्ष लिङ्देनले आन्तरिक छलफल तीव्र समेत बताएका छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #थापाले गीतामा हात, #राप्रपाका पूर्व अध्यक्ष कमल थापा
तपाईको कमेन्ट लेख्नुहोस्