Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

सत्तारुढ गठबन्धनमा उच्चस्तरीय राजनीतिक समिति,न एमसीसीमा सहमति न त निर्वाचनमा


काठमाडौं । गत कार्तिक २२ गते सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ११ सदस्यीय उच्चस्तरीय समिति बनाउने निर्णय गरेको थियो । सरकार सञ्चालनमा सहयोग गर्न भन्दै उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरिएको थियो । उच्चस्तरीय समितिमा पाँचै दलबाट दुई–दुई जना सदस्य रहेका छन् । सरकारका तर्फबाट संचारमन्त्री कार्की पनि सदस्य रहेका छन् । पाँचै दलका नेताले दुई–दुई महिना समितिको संयोजन गर्ने सहमति बनेको थियो ।

सोहीअनुसार शुरूआतका दुई महिना नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समितिको संयोजन गर्ने सहमति बनेको थियो । तर रामचन्द्र पौडेलले संयोजन गरेको पनि दुई महिना नाघिसकेको छ । तर, संयोजक परिवर्तन गर्ने बिषयमा अहिले कुनै छलफल नै भएको छैन । त्यतिबेला रामचन्द्र पौडेलपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड संयोजक रहने दाबी गरिएको थियो । तर रामचन्द्र पौडेलको तोकिएको कार्यकाल सकिसक्दा पनि प्रचन्ड अगाडि सरेका छैनन् भने पौडेल पनि हाइसन्चो तरिकाले जिम्मेवारीबाट पन्छिन खोजेका छैनन् ।

सुरुवाती चरणमा नै विवादको भुमरिमा घेरिएको समितीमा अहिले कुनै हेरफेर नहुँदा विभिन्न प्रकारका टिकाटिप्पणी हुन थालेको छ । कतिपयले यसको खासै अर्थ नहुने भएकाले प्रचन्डले संयोजन गर्न वेवास्ता गरेको बताइरहेका छन् भने कतिपयले भने प्रचन्डलाई कोरोना भाइरसको संक्रमण भएकाले यसबीचमा कुनै फेरबदल नभएको तर्क गरिरहेका छन् । पौडेल पनि राजनीतिक रुपमा सक्रिय रहनका लागि यो राजनीतिक समितीले गज्जबले काम गरेको छ । तर यस समितिले कुनै निर्णय भने गर्नसकेको छैन ।

विभिन्न राजनीतिक तथा अन्य सामाजिक बिषयमा निर्णय गर्नका लागि दलहरु बिच समन्वयात्मक भूमिका निर्वाह मात्र गरिरहेको छ । जसले गर्दा सरकारले अन्य धेरै कुरामा टाउको दुखाउनुपरेको छैन । समितिले न एमसीसीको मुद्धामा सहमति गर्न सकेको छ न त स्थानीय निर्वाचनमा नै ठोस धारणा बनाउन सकेको छ । सरकारले नै बनाएको समितीमा तोकिएको अवधी सकिएपछि संयोजक परिवर्तन गर्नुपर्ने भनिए पनि परिवर्तन नहुँदा विभिन्न आशन्का भने गरिएको छ ।

समितिमा कांग्रेसबाट पौडेल र कृष्ण सिटौला, नेकपा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट माधवकुमार नेपाल र गंगालाल तुलाधर, जनता समाजवादी पार्टी जसपाबाट उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री निवास बालुवाटार, #सत्तारूढ गठबन्धन

तपाईको कमेन्ट लेख्नुहोस्