Techie IT
  • २२ वैशाख २०८२, सोमबार
KhojPatrika

भत्कियो नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट बनाउने बतास ग्रुपको योजना


काठमाडौं । नागरिक तहबाटै विरोध हुन थालेपछि नारायणहिटी दरबार संग्रहालयको हातामा रेष्टुरेन्ट संचालन गर्ने तयारी तत्कालका लागि रोकिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न भनेको छ । यो निर्णयसँगै सरकारी सम्पत्ति कौडीको भाउमा व्यापारीको कब्जा जाने क्रममा समेत अंकुश लागेको छ ।

२०७७ साल साउन २६ गते नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले नारायणहिटी परिसरमा क्याफेटेरिया चलाउनका लागि टेन्डर आह्वान गरेको थियो । त्यो आव्हानपछि विभिन्न चार वटा कम्पनीले टेण्डर दर्ता गरेपनि बतास समुहको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले क्याफेटेरिया चलाउने ठेक्का पाएको थियो । ३ बर्षको लागि गरिएको सम्झौतामा अनुसार बतास समुहले प्रती स्क्वायर फिट मात्र १ सय ५ रुपैया प्रतीमहिना बुझाउने गरी सम्झौता गरिएको थियो । जसअनुसार दरबार मार्ग जस्तो अति नै महंगो भाडा भएको क्षेत्रमा बतास समूहले प्रति रोपनी मासिक ५० हजार रुपैयाँ मात्र भाडा तिरे पुग्ने थियो ।

सुरुमा कती जग्गा दिने भनेर यकिन नगरिकनै प्रति स्क्वायर फुट १ सय १ रुपैयाँ न्युनतम मुल्य तोकिएको थियो । जसले गर्दा त्यो टेण्डर प्रकृया मै नियत गलत देखिएको थियो । उता चलनचल्ती भन्दा निकै कम भाडादर बारे विरोध बढ्न थालेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम रोक्न निर्देशन दिएको छ । निर्देशन पश्चात समितीले कम्पनीलाई पत्र काटेर काम रोक्न भनेको छ । त्यसअघि निकै सस्तो भाडामा जग्गा हात पारेपछि बतास समूहले दरबार संग्राहलय परिसरभित्रै रेस्टुरेन्टका लागि गैरकानूनी ढंगले विभिन्न पक्की संरचना बनाउने र थप्ने काम गरिरहेको थियो ।

पत्र नआउँदासम्म भवन सिंगार्नेदेखि नयाँ भवनमा सटर हाल्ने काम भइरहेको थियो । कानुन विपरीत दरबार परिसरमा विभिन्न संरचनाहरु थप गरेर बगैँचा निर्माणको काम पनि भइरहेकोबारे पर्यटन मन्त्रालयले चासो दिएपछि समितिले काम रोकेको हो । रेस्टुरेन्टको लागि भवन क्षेत्रको मात्रै टेन्डर गरेको समितिले थप क्षेत्र पनि प्रयोग गर्न अनुमति दिने गरी संरचना बनाउन दिएको थियो । साथै ति संरचनाको लागि नक्सा समेत पास गरिएको छैन । समितिले दरबारभित्र थप संरचना निर्माण गर्न काठमाडौं महानगरपालिकासँग अनुमति लिएको छैन ।

अहिलेसम्म बतास अर्गनाइजेसनले कति क्षेत्रफलमा रेस्टुरेन्ट चलाउँछ भन्नेबारे समिति आफैं जानकार छैन । यद्यपि समूहलाइ १० रोपनी जग्गा दिने तयारी भइरहेको थियो । समितिले पारदर्शी ढंगबाट जग्गाको टेन्डर आव्हान गरेको दाबी गर्नुका साथै टेबल कुर्सी रहने क्षेत्र पनि नापजाँच गरेर भाडा उठाउने बताएको थियो । तर, प्रारम्भिक प्रक्रिया नै अपारदर्शी देखिएको हुँदा मन्त्रालयले काम रोक्न निर्देशन दिएको हो । अब राजनिितक चलखेल नबढेको खण्डमा नारायणहिटीमा बन्ने भनिएको रेस्टुरेन्टको काम अब अगाडि बढ्ने छैन ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बतास ग्रुप

तपाईको कमेन्ट लेख्नुहोस्