कांग्रेस महाधिबेशन : उपसभापतिमा एक दर्जनबढी आकांक्षी, कसले मार्ला बाजी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन उद्घाटन हुन अब केवल पाँच दिन मात्र बाँकी छ । महाधिवेशनमा पार्टी सभापतिदेखि पदाधिकारीमा धेरैले आ–आफ्नो इच्छा र आकांक्षा अनुसार विभिन्न पदमा उम्मेदवार बन्न घोषणा गर्ने क्रम चलिरहेको छ । काँग्रेसको विधान अनुसार महाधिवेशनमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठ र एक जना कोषाध्यक्षसहित १४ जना पदाधिकारी रहने व्यवस्था गरेको छ ।
कोषाध्यक्ष भने प्रत्यक्ष निर्वाचनबाट नभइ, केन्द्रीय सभापतिले केन्द्रीय सदस्यमध्येबाट एक जनालाई मनोनित गर्ने व्यवस्था छ । बाँकी १३ जना पदाधिकारी भने प्रत्यक्ष निर्वाचनबाट चुनिन्छन् । सभापति पदका लागि इच्छा व्यक्त गरी उम्मेदवार बन्छु भन्नेको सूची लामै छ । यसैगरी उपसभापतिमा इच्छा व्यक्त गरी उम्मेदवार बन्छु भन्नेको संख्या पनि उत्तिकै छ । जसमा संस्थापन इतर समूहबाट केन्द्रीय सदस्य महेश आचार्य, बलबहादर केसी, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी आकांक्षी देखिएका छन् ।
एउटै समूहबाट चार पाँच जना उम्मेदवार बन्ने भएपछि आकांक्षीलाई मिलाएर एक मात्र उम्मेदवार बनाउन भने निकै हम्मे हम्मे पर्ने अवस्था देखिएको छ । संस्थापन समूहबाट अहिलेकै उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की र गोपालमान श्रेष्ठ उपसभापति पदका मुख्य आकांक्षी देखिएका छन् । दुबै समूहलाई अहिले नेता व्यवस्थापन गर्न निकै ठूलो चुनौती बनेको छ ।
दुई वटा पदका लागि दुई समूहबाट १० जनाको सूचि तयार भएको छ भने पार्टीको केन्द्रीय समितिमा बसेर लामो समय काम गरेका अरु नेताले पनि उपसभापति पदमा प्रतिस्पर्धा गर्ने उत्तिकै संभावना छ । त्यति मात्र होइन,समूहभन्दा छुट्टै रहेर उपसभापति पदमा दाबी गर्ने पनि देखिनसक्छन् । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन नजिकिंदैगर्दा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यमा उम्मेदवार बन्छु भन्दै घोषणा गर्नेको संख्या दिनानु दिन बढ्दै गएको छ ।
सभापति शेरबहादु देउवा समूहबाट अलग भएर सभापतिका लागि प्रचारमा जुटेका उपसभापति विमलेन्द्र निधी, पौडेलबाट अलग भएर सभापति लड्ने घोषणा गरेका केन्द्रीय सदस्य प्रकाशमान सिंह, डाक्टर शेखर कोइरालाले अझैसम्म आफ्नो प्यानलका पदाधिकारीको नाम घोषणा गरिसकेका छैनन् । यदि निधी,सिंह र कोइरालाले पनि छुट्टाछुट्टै प्यानल घोषणा गरेमा अझै उपसभापतिका उम्मेदवार बढ्नसक्ने संभावना धेरै छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन, #सभापति शेरबहादु देउवा
तपाईको कमेन्ट लेख्नुहोस्