Techie IT
  • २१ वैशाख २०८२, आईतबार
KhojPatrika

एमालेमा सर्वसम्मत अध्यक्ष बन्ने ढोका बन्द, ओलीलाई रावलको चुनौति


काठमाडौं । उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारीको घोषणा गरेसँगै नेकपा एमालेको आसन्न महाधिवेसन केही रोचक बन्ने देखिएको छ । रावलको यो निर्णयसँगै निविकल्प अध्यक्ष बन्ने केपी ओलीको चाहनामाथि तुषारापात मात्र भएको छैन, उनको विकल्प खोज्ने नेता, कार्यकर्तामा खुसी समेत छाएको छ । उता अध्यक्ष ओली र उनी निकट नेता भने रावललाई फकाउन समय खर्चिँदै छन् । अध्यक्ष बाहेक अन्य पदमा मात्रै प्रतिस्पर्धा हुने सम्भावना रहँदासम्म नेकपा एमालेको आसन्न महाधिवेसन नै खल्लो हुने देखिएको थियो । तर, लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीको आलोचकका रुपमा चिनिँदै आएका उपाध्यक्ष भीम रावलको अध्यक्षमा उम्मेदवारीको घोषणासँगै एमाले महाधिवेसनमा रौनक देखिने भएको छ ।

राजनीतिको अन्तिम इनिङ खेलिरहेका अध्यक्ष ओलीको जितमा रावलको उम्मेदवारीले ठूलो प्रभाव नपार्ने उनका सहयोगीहरु दाबी गर्छन् । तर, उनीहरु नै रावलको उम्मेदवारीबाट रुष्ट देखिएका छन् । कतिपयले भने उम्मेदवारी दिने अधिकार सबैलाई भएकोले समान्य रुपमा लिनुपर्ने बताउँछन् । ‘एमाले नै मै हुँ, त्यसैले एमाले मेरो इशारामा मात्र चल्नु पर्छ’ भन्ने दम्भमा अडिग ओलीलाई रावलको उम्मेदवारीले झट्का भने दिएको छ । एमालेमा अहिले पनि ओलीको अगाडि उभिन हिम्मत गर्ने नेता रहेछन् भन्ने पनि देखिएको छ ।

आफ्नो उम्मेदवारीको घोषणा गर्दा रावलले ओलीलाई नेतृत्व हस्तान्तरण गर्ने र फेरि अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने कुराको स्मरण गराउँदै उनकै वचनको सम्मान राख्न आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताएका थिए । साथै उनले ७० वर्षमा टेक्न लागेका अध्यक्षलाई ससम्मान बिदाइ लिन घुमाउरो पारामा आग्रह गर्दै फुटबाट ग्रस्त पार्टीलाई आफूले एकताबद्ध गर्न सक्ने दाबी समेत गरेका थिए । एमाले फुट्दा माधव नेपाललाई साथ नदिएर एमाले मै रहेका केही नेता, कार्यकर्तामा भने रावलको उम्मेदवारीले उत्साह जगाएको छ ।

२ हजारभन्दा केही कम महाधिवेसन प्रतिनिधिको गणनामा केही जनामा सिमित यस्ता सोच राख्ने नेता, कार्यकर्ता रावललाई आफ्नो दाबीबाट पछाडि नहट्न दबाब दिइ रहेका छन् । तर, विगतमा माधव नेपाललाई साथ दिँदा समेत ओलीको प्रलोभनमा परेर एमाले मै रहेका कतिपय नेता भने रावललाई अहिले पनि आफ्नो नेता मान्न तयार छैनन् । रावलसँगै एउटै समुहका रहेका र ओलीविरुद्ध भाषणबाजी गर्नेहरु पनि अहिले उनै ओलीको गुणगान गाउन थालेका छन् । जसले रावललाई चुनौति थपिएको छ ।

रावलको साथ दिन सक्ने अनुमान गरिएका नेताहरुले समेत ओलीलाई नै आफ्नो अध्यक्ष मान्न थालेपछि उनी निकट नेताहरु निकै उत्साहित बनेका छन् । त्यही कारण यस पटक जसरी भएपनि आफ्ना ओलीलाई निविकल्प अध्यक्ष बनाउने अभियानमा झनै सक्रिय भएका छन् । अहिले उनीहरु रावलको उम्मेदवारी फिर्ता गराउन निकै खटिरहेका छन् । तर, रावल अहिले उनीहरुको कुरा सुन्न तयार नरहेको उनी निकट नेताहरु बताउँछन् ।

रावल निकट नेता, कार्यकर्ता आगामी महाधिवेसमा नराम्रो हार व्यहोर्न परेपनि यसले एमालेभित्र लोकतन्त्रलाई जिवित राख्ने दाबी गर्छन् । त्यसैले उनीहरु रावलको उम्मेदवारीलाई सकारात्मक मान्छन् तथा अब पछाडि हट्ने बाटो नभएको बताउँछन् । उता ओली निकट नेता कार्यकर्ता भने अहिले रावलको व्यक्तिगत कुण्ठा बाहिर निस्किएको आरोप लगाउँछन् । तर, रावलको उमेद्वारी घोषणाले सर्वसम्मत अध्यक्ष हुने ओलीको चाहनामा ब्रेक भने लागेको छ । एकछत्र राज गर्न चाहेका ओलीलाई रावलले चुनौति दिएपछि १० औं महाधिबेशनमा प्रतिपष्पर्धा हुने पक्का पक्की भएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एमालेको आसन्न महाधिवेसन, #ओलीलाई रावलको चुनौति

तपाईको कमेन्ट लेख्नुहोस्