देउवा नेतृत्वको पाँच दलीय गठबन्धन प्रतिगामी : ओली
६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन उद्घाटन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामीको संज्ञा दिएका छन् । शनिबार पार्टीको वडा अधिवेशनको भर्चुअल विधिबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले तीन महिनाको अवधिमा पाँच दलीय गठबन्धनको असली रुप देखिएको बताएका हुन् । प्रतिगामी शक्तिहरु अहिले गठबन्धनको नाममा आइरहेको भन्दै यसमा कुनै भ्रम नपाल्न आग्रह गरे । देशलाई अस्थिरतामा धकेल्ने, देशलाई अग्रममनमा जान नदिन अनेक खेल गठबन्धनले खेलिरहेको ओलीको आरोप छ ।
उनले कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने, कम्युनिस्ट सरकार ढाल्ने, प्रतिक्रियावादीको पाउमा सेवा अर्पण गर्ने, दक्षिणपन्थी जनविरोधी, दिशाहीन सरकार स्थापना गर्ने काम भएको भएको भन्दै यसले दुर्गामी असर पार्ने दाबी गरे । अध्यक्ष ओलीले गत असोज १५ र १६ गते भएको विधान महाधिवेशन सर्वसम्मत रुपमा भएकामा विरोधीहरु अचम्ममा परेको बताए । छ हजार प्रतिनिधिबीच सौहाद्र्धपूर्ण छलफल देखेर विरोधीहरुले व्यक्तिको पार्टीजस्तो भएको भनेर लान्छना लगाएको पनि ओलीले टिप्पणी गरे ।
शनिबार देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन उद्घाटन भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत एमालेले शनिबार वडा स्तरका अधिवेशन गर्न लागेको हो । पार्टी अध्यक्ष ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल माध्यमबाट देशैभरका वडाको एकैसाथ अधिवेशन उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सवै वडाका अधिवेशनहरू भव्य, समझदारी र एकतावद्धसाथ सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका थिए । ओलीले गरेको वडा उद्घाटन इन्टरनेट पहुँच भएका वडामा समेत उद्घाटन कार्यक्रम ‘डिस्प्ले’ गरिएको छ ।
पार्टीका सदस्यले नै वडाको नेतृत्व चयन गर्ने अधिवेशनले पाँचजना प्रतिनिधिसहित सदस्यहरु चयन गर्नेछ । जसमा अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उपसचिव –२ चुनिनेछन् । अधिवेशनले गाउँपालिका–नगरपालिकाका वडामा ३१ सदस्यीय कमिटी बन्नेछ भने उपमहानगरपालिकाका वडामा ४१, महानगरपालिकाका वडामा ५१ सदस्यीय कमिटी गठन बन्नेछ । उद्घाटन भएका ६ हजार बढि वडाले आजै नेतृत्व पाउने एमालेले जनाएको छ । हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुनेछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्