Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

जनता पीडामा,प्रचण्ड जीपलाइनमा सरर…


काठमाडौं । बेमौसमी वर्षापछि आएको बाढी र पहिरोका कारण देशव्यापी रुपमा जनता पीडामा छन् । जनधनको ठूलो क्षति भएको छ । यति नै बेला देशको सत्ता सञ्चालनको बागडोर सम्हालिरहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल भने पारिवारिक मोज मस्तीमा रम्दै छन् । जनता सास्तीमा, सरकार चलाउने गठबन्धनका शीर्ष नेता मोज मस्तीमा । कुरो धुलिखेलको हो । बेमौसमी रुपमा आएको वर्षाले देशका विभिन्न स्थानमा बाढी पहिरो जाँदा यति बेला ठूलो धनजनको क्षति भएको छ ।

किसानहरु कम्मर कम्मरसम्म पानीभित्र पसेर वर्षभरी पेट पाल्ने अन्न धान खेतीको स्याहार गरिरहेको कहालि लाग्दो दृष्यले यतिबेला कसको मन नरोला र । तर, यतिबेला नै एउटा सरकार ढालेर अर्काे सरकारको निर्माणमा मुख्यभूमिकामा रहेका र हाल सत्ताको चाबी दायाँ बायाँ घुमाइरहेका पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पारिवारिक भ्रमणमा धुलिखेल पुगेर जिपलाइनको मज्जा लिएको भिडियो बाहिरिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

जनताको दुःखमा मल्हम लगाउँछु भन्ने र आफूलाई जनताको नेता भन्ने अध्यक्ष प्रचण्ड धुलिखेलमा जिपलाइन खेलेपछि आलोचना भइरहेको छ । नाति नातिनी सहित पुगेका पूर्व प्रधानमन्त्री प्रचण्ड आफैंले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् । साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले जिपलाइनको निक्कै मज्जालिएको र पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएकोे प्रतिक्रिया दिएका थिए ।

सिन्धुपाल्चोकका केदार थापा र काठमाडौका भुपेश श्रेष्ठले वल्ड वाइड एड्भेन्चर प्रालि मार्फत धुलिखेल जिपलाइन, रिसोर्ट र एडभेन्चर पार्क सञ्चालनमा ल्याएका छन् । जिप लाइनको टेक अफ थाक्लेडाँडा, धुलिखेलदेखि ल्यान्डिङ स्टेसन खावा, पाँच खालसम्मको जिपलाइन दूरी ११ सय मीटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमीटर प्रतिघण्टाको औसत गतिमा पार हुन्छ ।

काठमाडौबाट करिब ३५ किलोमीटर दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सुरु भएको हो । देशका शिर्ष नेताले साहसिक पर्यटनमा रुचि राख्नु र प्रवद्र्धन गर्नु नराम्रो होईन तर, वर्षा र बाढीपछि आएको विपदले देश र जनता रोइरहेका बेला सत्ताको चाबी घुमाइरहेको शिर्ष नेता नै मोज मज्जामा रमाउनु भने दुःखद हो । प्रचण्डले जीपलाइन चढेको भिडियो र फोटो यतिबेला बाढी पहिरोको तस्बीरसँग जोडेर तीब्र आलोचना भइरहेको छ ।


क्याटेगोरी : जनगुनासो, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रचण्ड जीपलाइनमा सरर...

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं