Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, विपक्षी गठबन्धनका ३४ सांसदको हस्ताक्षर


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव प्रदेश प्रमुख अमिक शेरचन समक्ष बुझाइएको हो । कांग्रेस–माओवादी केन्द्रसहित अन्य विपक्षी गठबन्धनका ३४ सांसदले हस्ताक्षर गरेको अविश्वास प्रस्ताव प्रदेश प्रमुखलाई बुझाइएको हो । प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

विपक्षी गठबन्धनले प्रदेश प्रमुखसँग संसदको विशेष अधिवेशन बोलाउन पनि माग गरेका छन् । यसअघि लुमि्बनीका विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनर्मोचाले दुईपटक अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षीहरुले वैशाख ६ गते पहिलोपटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने दोस्रो पटक वैशाख २६ गते पुनः अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सोमबार बहुमतीय सरकार गठनको लागि ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाएका थिए । तर सोमबार नै उक्त पत्रमा हस्ताक्षर रहेकी सांसद विमला वलीले एमालेमा रहेको धारणा सार्वजनिक गरेकी छन् ।

लुम्बिनी प्रदेशसभामा हाल ८० सांसद कायम छन् । यस आधारमा बहुमतका लागि कम्तीमा ४१ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा एमालेको पक्षमा विमला वलीसहित ३९ सांसद छन् । वली केही अघिसम्म माओवादी केन्द्रमा रहने बताउँदै आएकी थिइन् । केही दिन अघि रहस्यमय ढंगले सम्पर्कविहीन भएकी उनले सोमबार विज्ञप्ति जारी गर्दै आफू एमालेमा रहने बताएकी हुन् । उपनिर्वाचनमा तत्कालीन नेकपाबाट उम्मेदवार बनेकी उनलाई एमाले र माओवादी केन्द्रमध्ये कुन दलमा रहने भन्ने निर्णय लिने स्वेच्छिक अधिकार छ ।

विपक्षी गठबन्धनले पनि विमला वलीलाई आफूतिर गणना गरेको छ । प्रदेशसभामा माओवादी केन्द्रका सभामुखसहित १९ सांसद छन्, जसमा नेकपाबाट उपनिर्वाचनमार्फत विजयी भएकी सांसद विमला वली पनि सामेल छिन् । उनले एमालेलाई साथ दिएको अवस्थामा माओवादी केन्द्रमा सभामुखसहित १८ सांसदमात्र रहनेछन् । उता, काँग्रेसका १९ सांसद छन् । यस अतिरिक्त विपक्षी गठबन्धनमा आवद्ध जसपा नेपालका ३ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । प्रदेशसभामा विपक्षी गठबन्धनका पक्षमा ४२ सांसद देखिए पनि विमला वलीले एमालेलाई साथ दिएको अवस्थामा यो गठबन्धनसँग सभामुखसहित ४१ सांसद रहन्छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पोखरेलविरुद्ध अविश्वास प्रस्ताव

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं