Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

२२ सांसदको स्पष्टीकरण, एकता प्रक्रिया भाँड्न कारबाहीको धम्की दिइयो


काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकतामा जोड दिएको छ । माधवकुमार नेपालसहितका नेताहरुविरुद्ध भइरहेको नाराबाजी रोकेर एकताका लागि गम्भीरताका साथ प्रयास गर्न आग्रह गरेको छ । आइतबार नेता नेपालसहित २२ सांसदले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएपछि नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको पहिलो बैठक बुधबार बसेको थियो । नेपाल पक्षले आफ्ना नेताहरुलाई लक्षित गर्दै अर्को पक्षबाट भएको उत्तेजक गतिविधि र नारावाजीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार काठमाडौंमा बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने, वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारावाजी गर्ने एवम् पुत्ला जलाउने काम भइरहेको भन्दै पार्टी अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराउने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए । बैठकले नेताविरुद्धका उत्तेजक नारावाजी रोकेर पार्टी एकताका काममा लाग्न पनि ध्यानाकर्षण गराएको छ ।

बैठकमा सवै सदस्यको जोड एकता रहेको र एकता प्रक्रियालाई अघि बढाउनुपर्छ भन्नेमा सवैको सहमति भएको उनले बताए । बुधबार नै अध्यक्ष ओलीले बोलाएको एमालेको केन्द्रिय कमिटी बैठकले शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपाल पक्षका २२ जनालाई स्पष्टीकरण सोधेको छ । ओलीले सोधेको स्पष्टीकरणको औचित्य नभएको बैठकको ठहर रहेको पन्तले जानकारी दिए । स्पष्टीकरण सोध्ने विषय नै नरहेको र एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको नेता पन्तले बताए । बैठकले स्पष्टिकरणले एकताको वातारणलाई धमिलाउने र कमजोर बनाउने काम गरेको निष्कर्ष निकालेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल पक्षको स्थायी कमिटी

तपाईको कमेन्ट लेख्नुहोस्