२०७८ आसा र भरोसाको बर्ष बनोस्

स्थायीत्व र दिगो विकासको राजनीतिक भाषणले सार्थकता पाउला कि भन्ने संकेत देखिएको वर्ष २०७७ अन्तत राजनीतिक द्धन्द्ध, अन्यौँल, रोग र महंगीको बिरासत छाडेर बिदा भएको छ । विश्वव्यापी स्वास्थ्य समस्या बनेको कोरोना कहरकाबीच सुरु भएको वर्ष २०७७ कोरोनाकै अर्को लहरको त्रासदी छाडेर बिदा हुँदा राजनीतिक द्धन्द्ध यथावत छ । भौतिक पूर्वाधारलगायतका क्षेत्रमा २०७७ सालमा केही सम्झनलायक कामहरु भएपनि जनताको निराशा आशामा परिणत भएनन् । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण सुरु भएको छ ।
देशकै दोस्रो ठूलो विद्युत् प्रसारण लाइन २ सय २० केभीको दाना विद्युत् सबस्टेशनको निर्माण पुरा भएको छ । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको सिल्यान्यास भएको छ । सातै प्रदेशमा औद्योगिक क्षेत्र र सबै पालिकामा अस्पताल बनाउने अभियान सुरु गरिएको छ । पूर्वाधार निर्माणको सम्भाब्यताको लेखाजोखा नभएपनि सबै पालिका र निर्वाचन क्षेत्रलाई पक्की सडकले जोड्ने रणनीतिक महत्वको सडक आयोजनाहरुको बालुवाटारबाटै शुभारम्भ भएको छ । भारतले मिचेको नेपाली भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरिएको वर्ष ०७७ मा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न भइ काठमाडौं उपत्यकामा पानी वितरण नै थालिएको छ ।
कोरोना भाइरसविरुद्धको खोप लगाउने काम २०७७ बाटै सुरुवात भएर जारी । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको काम अन्तिम चरणमा पुग्दा अन्य विमानस्थल बन्ने क्रममा छन् । विकास आयोजनामा विगतकै कामहरु जारी रहँदा मिलेको सफलताको जस पाएका प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गराएर सुरु गरेको राजनीतिक द्धन्द्धको अपजस भने झेल्नु परिरहेको छ । कोरोनाको डरले बालुवाटारबाट सिंहदरबार टेक्नै छाडेका प्रधानमन्त्री ओलीले आफ्नो बचाउको आमसभा र भाषणका लागि देशव्यापी आमसभामा पुगेर आफ्ने भाषण र काम गराईलाई आफैले प्रष्टिकरण दिएका छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा पुनस्र्थापना गरिदिएपनि प्रधानमन्त्रीले नौतिकताको प्रदर्शन गरेर राजीनामा दिएनन । बरु आफ्नै पार्टी एमालेमा खेल्ने र पेल्ने क्रमलाई निरन्तरता दिदा नेपाल खनाल समूह समानान्तर पार्टी गतिबिधिमा सक्रिय बनेको छ । एती समूहलाई सस्तोमा सरकारी जग्गा लिजमा दिने क्रमले निरन्तरता पाइरहेको छ ।
राजनीतिक स्थायीत्व र विकासको गफ चुट्ने नेताहरु सत्ता, पद र शक्तिका लागि मरिमेट्ने परिपार्टी वर्ष २०७८ मा परिवर्तन होस, नेताहरुको प्रबृत्ति सुध्रिओस । जनताले महंगी र रोगको मार होइन्, राहत सहुलियत र सहज रुपमा गाँस अनि बास पाउन । आमाबुबा, दाजुभाई दिदि बहिनी सबै सबैमा हाम्रो तर्फबाट नयाँ बर्ष २०७८ को शुभकामना ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, सम्पादकीय
ट्याग : #२०७८, #नयाँ बर्ष २०७८ को शुभकामना, #राजनीतिक भाषण
तपाईको कमेन्ट लेख्नुहोस्