यो बेला मन्त्री भन्दा पनि अस्पतालमा बेडको आवश्यकता होइन र ?

यतिबेला देश कोरोना महामारीसँग जुधिरहेको छ । जनता भेन्टिलेर र आइसियू बेडको खोजीमा छन् । सरकार जनता जोगाउन अस्पतालमा भेन्टिलेर र आइसियू थप्नुपर्ने बेला मन्त्रीहरु थपिरहेको छ । आफनै गुटका नेतालाई मन्त्री बनाउन हतारो हुन्छ यहाँ तर, जनता जोगाउन अस्पतालमा बेड थप्न धौ धौ लाग्छ । अस्पताल पुग्दा बेड नपाएर कोरोनाबाट मृत्यु र संक्रमण थपिदै गर्दा बालुवाटारमा गुटका बैठक चलिरहन्छन् ।
साँझ र बिहानको छाक टार्न नपाएर भोकले सडकमा जनता छटपटाई रहँदा शितल निवासमा सपथ खानेहरुको छनौट गर्छ सरकार । सरकार अस्थिर भयो । एक दुई बर्षमै सरकार ढाल्ने अनेक प्रपञ्च भए भन्दै स्थीर सरकारको परिकल्पना गर्दै नयाँ संविधान जारी भयो । संविधानको ब्यवस्थाले पनि सरकार ढाल्न निक्कै गाह्रो बनाइदिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको सरकार अव ढुक्क साथ ५ बर्ष चल्छ र जनताको घरदैलोमा बिकासले फड्को मार्छ भन्ने धेरैको विश्वासमा ठेस लागेको छ । स्थिर प्रधानमन्त्रीको अस्थिर मन्त्रीहरुको काम गर्ने शैलीले जनता वाक्क दिक्क भइसकेका छन् ।
यो तीन बर्षमा ११ पटक मन्त्रीमण्डल पुर्नगठन भयो । बाँडिचुडी देशको ढुकुटी रित्याउन खेलिएको खेलले न विकास भयो न जनताको चुल्हो बल्न सहज भयो । उही मन्त्री हुनेहरुकै आफन्त नातागोता र इष्टमित्रले अवसर पाउने कमिसन पाउने मात्रै होइन भनसुन र भेटघाटमा उनीहरुकै रजाई त हो नी ? मन्त्री नियुक्त मात्रै होइन कोरोना महामारीले आर्थीक संकट निम्तदैछ भन्दैगर्दा महामारीमै माननीयहरु दशैं भत्ता बुझने तरखर गर्दैछन् अरे त्यो पनि पहिलो पटक । क्या काइदा क्या अच्चम छ । मन्त्रीपरिषद बैठकले नै निर्णय गरेर चाडपर्व भत्ता बाढ्छ तर, सुचना लुकाउछ ।
बालुवाटारमा मात्रै होइन सिंहदरबारमा समेत दशैं खर्च यति कार्यकर्तालाई बाढ्नुपर्छ उति आफन्तलाई दिनुपर्छ भन्दै हिसाव किताव सुरु भइसक्यो होला ? तर, अह् कोरोना बढ्दैछ जनता जोगाउने के काम गर्ने भन्नेबारे कहिल्यै बहस भएको कसैले सुनेको पनि छैन् देखेको पनि छैन् । कार्यकर्ता र नेताहरु जम्मा गरेर पार्टी गर्न हुने तर, जनताको उपचार कसरी भइरहेको छ भन्ने अनुगमन गर्न कोरोना लाग्ने ? सरकारले स्वास्थ्य मन्त्रालय मार्फत गरेको एउटै काम हो आज यति जना कोरोनाबाट मरे, यति जना संक्रमित भए र कोरोना जितेर घर फर्किए भनेर सुनाउने बाहेक दैनिक अर्को काम भए क्रिपया हामीलाई पनि सुनाइदिनुहोला है ? देशमा सरकार भएपनि जनताका लागि होइन आसेपासे र आफै गुटका नेताहरुका लागि मात्रै हो भन्ने यी प्रमाण बाहेक अरु के पेश गर्नुपर्छ ?
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, सम्पादकीय
ट्याग : #कोरोना महामारी, #भोकले सडकमा जनता छटपटाई
तपाईको कमेन्ट लेख्नुहोस्