Techie IT
  • १२ मंसीर २०८१, बुधबार
KhojPatrika

भुकम्पपछि ६२४६ विद्यालय पुननिर्माण, १३०७ अन्तिम चरणमा


काठमाडौं । २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको ६ वर्ष बित्यो । भूकम्पले निजी आवास, सार्वजनिक भवन, राष्ट्रिय सम्पदाजस्ता भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो । करिब ८ हजार मानिसको ज्यान नै गएको थियो ।भूकम्पले क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पनि पाँच पूरा भई एक वर्ष म्याद थपिएको छ । थपिएको म्याद पनि आगामी पुसमा पूरा हुँदैछ । तर, पुर्ननिर्माणको कामले भनेजस्तो गति लिएको छैन् ।

भूकम्पले देशभरका करिब ३५ हजार सामुदायिक विद्यालय मध्ये ३१ जिल्लाका ९ हजार ५ सय ५२ विद्यालयमा आंशिक तथा पूर्ण क्षति पुगेको थियो । पुनर्निर्माण हुनुपर्ने ३ सय ३७ विद्यालय अर्को विद्यालयमा गाभिएपछि १ सय ५३ विद्यालय बन्द नै भए । प्राधिकरणले ९ हजार ७२ विद्यालयको पुनर्निर्माण अघि बढाएकोमा पाँच वर्षमा ३ हजार २ सय ४१ विद्यालय पुनर्निर्माण भएको काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) को आयोजना र शिक्षा पत्रकार सञ्जाल इजोनको सहकार्यमा भएको कार्यक्रममा जानकारी दिइएको छ ।

सबैभन्दा धेरै विद्यालय धादिङ जिल्लामा पुनर्निर्माण भएका छन् । धादिङका ५ सय ८८ विद्यालयमा क्षति भएको थियो । यीमध्ये तीन वटा विद्यालय गाभिए, दुई वटा लागि बन्द भए । पुनर्निर्माण गर्नुपर्ने ५८३ विद्यालय भवनमध्ये २७३ वटाको काम सम्पन्न भएको छ । बाँकी २५१ वटा पूरा हुने चरणमा छन् । भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको गोर्खामा पनि धेरै विद्यालय पुनर्निर्माण भएका छन् । गोर्खामा ५१७ विद्यालयमा क्षति पुगेकोमा ९१ वटा विद्यालय गाभिए । पुनर्निर्माण हुनुपर्ने ४२६ विद्यालयमध्ये २०४ वटाको काम पूरा भएको छ । बाँकी २०१ विद्यालय अझै निर्माणाधीन छन् ।काभ्रे जिल्लाका १०५, मकवानपुरका २२४, ललितपुरका ५९, काठमाडौँका ५०, नुवाकोटका २५०, ओखलढुङ्गाका १ सय ३० गरी ३१ जिल्लाका ३ हजार २ सय ४१ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ ।

प्राधिकरणले विभिन्न गैरसरकारी संस्थाहरुको सहयोगमा विद्यालय पुनर्निर्माण अघि बढाएको थियो । प्राधिकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमार्फत ६०८ विद्यालयको पुनर्निर्माण पूरा गरेको छ, १८२ विद्यालय निर्माणाधीन छन् । त्यस्तै निर्माण व्यवसायी कम्पनीहरुमार्फत प्राधिकरणले २ सय ५६ विद्यालयको पुनर्निर्माण सम्पन्न गरेको छ भने ४ सय ७१ विद्यालय निर्माणाधीन छन् । प्राधिकरणको ‘जिल्ला परियोजना कार्यान्वयन शिक्षा इकाइ’ मार्फत १ हजार ७१३ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ ।

तीन हजार ४२० विद्यालय भवन निर्माणाधीन छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत ६६४ विद्यालय पुनर्निर्माण भएका छन्, २३९ विद्यालय निर्माणाधीन रहेको बताइएको छ । हाल निर्माणाधीन विद्यालयको संख्या ४ हजार ३१२ छ, ३ हजार २४१ वटाको निर्माण पूरा भएको छ । पुनर्निर्माणको काम पाँच वर्ष पूरा भए पनि अझै १५ सय विद्यालयले पुनर्निर्माण कार्यक्रम पाएका छैनन् । पुनर्निर्माणको कार्यक्रम नपाउनेमा मकवानपुर जिल्लाका विद्यालय धेरै छन् । मकवानपुरमा यस्ता विद्यालय १ सय ३५ वटा छन् ।

काठमाडौँ जिल्लाका ११६ वटा, काभ्रेका १ सय ५ वटा, सिन्धुलीका १ सय १७ वटा, गुल्मीका १ सय २४ वटा, सोलुखुम्बुका ७० वटा, भोजपुरका ८६ वटा विद्यालय लगायत ३१ जिल्लाका १ हजार ४९५ विद्यालयले हालसम्म पुनर्निर्माणको कार्यक्रम नपाएको प्राधिकरणले जनाएको छ । पुनर्निर्माण प्राधिकरणले विद्यालय भवन, कक्षाकोठासँगै विद्यालयमा आवश्यक पर्ने खानेपानीको पूर्वाधार र शौचालय पनि निर्माण गरेको छ । २ हजार ६८६ शौचालय निर्माण भएका छन् भने २ हजार ३३७ शौचालय निमार्णाधीन छन् । त्यस्तै २१० विद्यालयमा ट्याङ्कीसहित खानेपानीको पूर्वाधार निर्माण भएको छ । एक हजार ४ सय ९३ वटा विद्यालयमा खानपानीको पूर्वाधार बन्दैछ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #विनाशकारी भूकम्प

तपाईको कमेन्ट लेख्नुहोस्