Techie IT
  • १८ मंसीर २०८१, मंगलबार
KhojPatrika

सत्तासमिकरणमै रणभुल्ल दलहरु,ओली बचाउने पक्षमा एमाले,गिराउने पक्षमा अन्य दल


काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूतिएपछि सत्ता समिकरण पनि भद्रगोल जस्तै भएको छ । ओली सरकार विस्थापन गर्ने रणनीति लिएको नेकपा माओवादी केन्द्रले अन्य दलको साथ पाइरहेको छैन । उता प्रमुख प्रतिपक्षी कांग्रेस आफूलाई जसो गर्दा फाइदा हुन्छ त्यही गर्ने मनस्थितीमा छ । बिधिवत रुपमै अलग–अलग भएपनि नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीमा केपी ओलीलाई दिएको समर्थन फिर्ता भने लिएको छैन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि मिल्नुपर्ने प्रस्ताव राखेको छ । तर कांग्रेस र माओवादी मिल्दैनमा नयाँ सरकार गठनका लागि बहुमत पुग्दैन । त्यसैले पनि कांग्रेसले माओवादीको प्रस्तावलाई स्वीकार गर्न सकेको छैन । तर कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आयो भने मुलुकलाई निकास दिनका लागि पनि अघि सर्नुपर्ने कांग्रेसको ठम्याई छ । कांग्रेस नेतृत्वले माओवादी केन्द्रलाई साथ दिदैमा नयाँ सरकार बन्नका लागि चाहिने सांसद पुग्दैन ।

त्यसैले माओवादीले जनता समाजवादी पार्टी जसपालाई पनि सहमार्यका लागि आग्रह गरिरहेको छ । तर जसपाले पनि ठोस निर्णय गर्न सकेको छैन । जसपा पनि जता सहकार्य गर्दा फाइदा हुन्छ त्यसै लाग्ने रणनीतिमा छ । तर कांग्रेस र जसपालाई सहकार्यको प्रस्ताव गरेको माओवादी केन्द्रले भने दुवै दल प्रधानमन्त्री ओलीलाई हटाउन सहमत हुने विश्वास गरिरहेको छ । संसद बिघटन बिरुद्ध आन्दोलन गरेका दलहरु ओलीलाई हटाउने विषयमा सहकार्य गर्न तयार हुने माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

अहिले प्रतिनिधि सभामा नेकपा एमालेको सांसद् संख्या १२१, कांग्रेसको ६३, माओवादी केन्द्रको ५३, जनता समाजवादी पार्टीको ३४ सिट छ । यीमध्ये कांग्रेसका २ र जनता समाजवादी पार्टीका दुई सांसद निलम्बित छन् । त्यो बाहेक राष्ट्रिय दलको मान्यता नपाएका राष्ट्रिय जनमोर्चाको १, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ र नेपाल मजदुर किसान पार्टीको १ सिट हुनेछ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा प्रधानमन्त्री ओलीलाई पदमा रहिरहन १७ सांसद अपुग हुन्छ । यता कांग्रेस माओवादी र जसपा मिल्यो भने सांसद संख्या १ सय ५० पुग्छ । यो संख्याले प्रधानमन्त्री हटाउन र नयाँ बनाउन पर्याप्त हुन्छ । तर, यो समिकरण यति सजिलै बनिहाल्ने सम्भावना देखिएको छैन ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा एमाले र नेकपा माओवादी केन्द्र, #सत्ता समिकरण

तपाईको कमेन्ट लेख्नुहोस्