ओली–प्रचण्ड सम्बन्ध सधैं कटाक्ष र आरोप–प्रत्यारोप

काठमाडौं । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि मात्रै होइन, प्रचण्डपथको नाममा भूमिगत जनयुद्ध जारी रहदा समेत केपीशर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको पाइन्छ । माओवादी जनयुद्ध छाडेर शान्तिप्रक्रियामा आएपछि भने ओली र दाहालबीचको भेटवार्ता बाक्लिएपनि कहिल्लै घनिष्टता र मित्रवत सम्बन्ध भएको देखिदैन । बेला–बेला कटुतापूर्ण र सुमधुर हुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको सम्बन्धले राष्ट्रिय राजनीतिमा समेत तरंग ल्याउने गरेको छ ।
एक अर्काका कट्टर आलोचकदेखी एकअर्कालाई सत्ता यात्रामा साथ दिने सहयात्रीसम्मको सम्बन्ध दुबैले गुजारेका छन् । चुनावी गठबन्धन हुँदै पार्टी एकीकरणसम्मको निर्णयबाट एउटै पार्टी नेकपाका अध्यक्ष द्धयको हैसियतमा पुगेका यी नेताको सम्बन्ध अहिले पुरानौ एकअर्काका बिरोधीको रुपमा चित्रण भैरहेको छ । राजनीतिमा स्थायी शत्रु र मित्र नहुने आख्यानलाई ओली–प्रचण्ड सम्बन्धले बेलामौकामा सावित गर्दै आएपनि पछिल्लो समय ओली–प्रचण्डको तिक्तातापूण सम्बन्धकै कारण जननिर्वाचित संसदले दुई बर्ष अगाबै अस्थित्व गुमाएको छ ।
यस्तो छ, ओली प्रचण्डको विगत र वर्तमानको सम्बन्ध
माओवादी भूमिगत कालमा ओल–प्रचण्डबीच न मित्रवत सम्बन्ध थियो न त त्यस्तै कुनै सत्रुता नै । माओवादी शसस्त्र युद्धको एक आलोचकका रुपमा ओलीका केही बोली आएपनि दुई बिच खासै राजनीतिक सम्बन्ध थिएन । जब माओवादी शान्ति प्रक्रियामा आयो, त्यसपछि भने तात्कालिन एमालेका नेता केपी ओली माओवादी र तात्कालिन माओवादी अध्यक्ष प्रचण्डका एक कट्टर आलोचका रुपमा उदाए ।
प्रचण्डले कुनै सार्वजनिक कार्यक्रममा केही बोले भने त्यसको प्रतिउत्तर ओलीबाट आइहाल्थ्यो । त्यो पनि उखान टुक्काकौ शैलीमा यो क्रमले २०६४ चैत २८ मा सम्पन्न संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी पहिलो ठूलो दल बनेपछि भने झनै तिब्रता पायो । माओवादी पहिलो दल हुँदा तत्कालीन एमाले तेस्रो दल भयो । प्रचण्ड दुई क्षेत्रबाट निर्वाचित भएर सत्तामा पुग्दा ओली झापाबाट पराजित भए । त्योबेला ओली माओवादी र प्रचण्डका समेत कट्टर आलोचक थिए । ओलीले आफ्नो छवि नै माओवादीलाई टकराव दिन सक्ने नेताको रूपमा राष्ट्रिय राजनीतिमा स्थापित गरे । तिखा वाण प्रहार गर्न सिपालु ओलीले वाकयुद्धमा माओवादीलाई निकै चुनौती प्रस्तुत गरिरहन्थे ।
२०७१ माघमा राष्ट्रिय राजनीति संविधान निर्माणको खिचातानीमा रहँदा माओवादीसहित २२ दलीय मोर्चा आन्दोलनमा होमियो । आन्दोलनलाई लक्षित गरेर ओलीले १० अर्ब रुपैयाँ दिए आन्दोलन स्थगित हुने ठोकुवा गरे । प्रतिक्रियालाई लिएर मोर्चाले निर्णय नै गरेर ओली मानसिक बिरामी भएको आरोप लगायो, यसको नेतृत्व प्रचण्डले गरेका थिए । संविधान निर्माणमा खिचातानी हुँदा ओली–प्रचण्ड सम्बन्ध तिक्ततापूर्ण थियो । दुवै एक अर्का बिरुद्धको सवाल जवाफमा उत्रिएका थिए । ओलीले बालुवाटारको एक बैठकमा माओवादीले जातीय मुद्दा निकालेर देशलाई रुवाण्डा बनाउन लागेको आरोप लगाएपनि प्रचण्डले बैठक नै छाडेका थिए । प्रचण्डपनि के कम भोलिपल्टै संसदमा ओलीमाथि आक्रोश पोख्दै आफूलाई महाराजा र अरूलाई रैती नठान्न चेतावनी दिए ।
ओलीले सोही दिन जवाफ फर्काए ’हामी त सहमतिकै पक्षमा छौँ र त्यसअनुसार नै अगाडि बढिरहेका छौँ, तर कमिलाले टोक्यो कि के हो, एमाओवादी अध्यक्ष त बुरुक्क उफ्रन थाल्नुभयो।’ आरोप प्रत्यारोपको शृङ्खला यथावत नै थियो । २०७१ माघमै चलको संसद् बैठकमा ओलीले माओवादीलाई बाँदरको संज्ञा दिए । त्यसको केही दिनमै माओवादी सांसदले मध्यरातमा संविधानसभामा तोडफोड गरे । ओली र प्रचण्डको सम्बन्ध कुनै समय यस्तो विन्दुमा पुग्यो दुई नेता एउटै सार्वजनिक मञ्चमा सहभागि समेत बनेनन । संविधान जारी गर्ने पक्षमा देखिएको रस्साकस्सीले संविधानसभा विघटन भयो, दोस्रो संविधानसभामा एमालेले आफ्नो साख फिर्ता गर्दा माओवादी चुनावी मैदानमा नराम्ररी पछारियो । ओली संविधानसभा तथा संसदीय दलको नेतामा निर्वाचित भए ।
संविधान जारी हुनुअघिको राजनीतिक सहमतिकै आधारमा ओली २०७२ मा पहिलोपटक प्रधानमन्त्री बने । ओलीका प्रस्तावक प्रचण्ड नै थिए । २०७२ वैशाख १२ गतेको भूकम्पले ठुलै तहसनहस गर्दा भत्किएको राजनीतिलाई भने एक ठाउँमा ल्याइदिएको कतिपयको विश्लेषण छ । संविधान जारी गर्दा भएको १६ बुँदे सहमतिले ओली–प्रचण्डलाई निकट बनायो । संविधान जारीपछि ओलीलाई प्रधानमन्त्री बनाउन होस् वा नाकाबन्दी, दुबैमा प्रचण्डले बलियो साथ दिए । संविधान जारीपछि ओलीलाई प्रधानमन्त्री बनाउने दलीय सहमति कांग्रेसले उल्लङ्घन गरेको विषयमा ओलीभन्दा बढी आक्रामक प्रचण्ड बन्दैआए । सत्ता साझेदार रहेकै बेला ओली प्रचण्ड सम्बन्धमा दरार ल्याउने कारक बन्यो भद्र सहमति ।
सत्ता हस्तान्तरणको विवादले दाहालले सरकारमै बसेर कांग्रेससँग सम्बन्ध अघि बढाए र, ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे । प्रचण्डले २०७२ असोज २४ गते आफैँ प्रस्तावक बनेर बनाइएका प्रधानमन्त्री ओलीविरुद्ध ९ महिनापछि अविश्वासका प्रस्ताव दर्ता गराउँदा ओली–प्रचण्डबीच आरोप पत्यारोपको जुहारी चलेको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७३ साउन ७ गते संसद्मा एक घण्टा लामो भाषण गर्दा पनि ओलीको चर्को आलोचना गरेर संघीयता विरोधीको आरोप लगाए । दुई दिनपछि अर्थात् २०७३ साउन ९ गते ओलीले प्रचण्डलाई आफू राजतन्त्रसँग लडाइँ गरेर जेलमा पर्दा कापी कलम बोकेर कुन स्कुलमा कुद्दै हुनुहुन्थ्यो भन्दै प्रतिप्रश्न गरेका थिए ।
ओलीसँग बिग्रिएको राजनीतिक सम्बन्धको दूरी प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवातिर निकट बनाए । कांग्रेस र तत्कालीन मधेसी मोर्चासँगको सहकार्यमा प्रचण्ड २०७३ साउन १९ गते दोस्रोपटक प्रधानमन्त्री भए । नौ महिनाको अवधिमा प्रचण्डले देउवालाई सत्ता हस्तान्तरण गरेर सहमति कार्यान्वयनमा आफूजस्तो उदार बन्न चुनौती प्रस्तुत गरे । प्रचण्डको सत्ता हस्तान्तरणपछि २०७४ जेठ २३ मा कांग्रेस सधापति देउवा प्रधानमन्त्री भए । यसबीचमा कांग्रेस र माओवादीबीच स्थानीय तह निर्वाचनमा तालमेल भयो । साना–साना फोरम र संगठनमा समेत तालमेल भएपछि कतिपय नेताहरूले त मुलुकमा एमालेमुक्त अभियान चलेको विश्लेषण समेत गरे । निर्वाचन परिणाम प्रचण्डले सोचेअनुसार आएन । तत्कालीन एमाले नेतृत्व र पार्टीको राष्ट्रवादी छायाँका अघि अन्य दलका एजेन्डा कमजोर बन्दा गठबन्धनलाई पछि पार्दै एक्लो एमालेले पहिलो चरणको निर्वाचनबाट लिड गर्यो । राजनीतिक भविश्यको दिशा बुझ्न माहिर प्रचण्ड सत्ता साझेदार रहेकै बेला पुनः ओलीसँग नजिक बने ।
सत्ता साझेदार दलले सुइँको नपाउँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमालेसँग गठबन्धनको निर्णय भयो । यो गठबन्धन वाम एकताको सहमति सहित चुनावी तालमेलमा अघि बढ्दा सरकारमै बसेको पार्टीले विपक्षीसँग हात मिलाएको थाहा नपाउनु गम्भीर गल्ती भएको भन्दै कांग्रेस नेतृत्वको आलोचना समेत भयो । चुनावी तालमेलसँगै ओली प्रचण्डको सम्बन्ध फेरि एकाएक सुधार भयो । २०७५ जेठ ३ गते पार्टी एकतापछि एक जेटका दुई पाइलट बनेको उद्घोष नेकपाका अध्यक्ष ओलीले गरेका थिए । दुई पाइलटको सहमतिमा पार्टी र सरकार चल्नुपर्ने चाहाना बोकेका प्रचण्डमा प्रधानमन्त्री ओली सत्ता र पार्टी दुबैमा हाबी भएपछि असन्तुष्टि बढ्दै गयो । एकीकरणको केही समयपछि नै सरकार वा पार्टीमा आफूले लिड गर्न पाउनुपर्ने सहमति सम्झाउनतिर प्रचण्ड लागे । बेला–बेलाको खटपट कायमै रहेपनि कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्ड ओलीसँग केही समय चुपचाप बसे । तर नेकपामा ओलीको कार्यशैली र एकलौटी अघि बढ्ने निर्णयले आजित भएका शिर्ष नेताहरुबीच भैँसेपार्टी गठबन्धन बनेपछि भने नेकपाका दुई पाइलटबीच मनमुटाब बढ्न थाल्यो ।
कटुताकाबीच सत्तासमिकरणमा बाँधिएका ओली प्रचण्डको सम्बन्ध अहिले फेरी तिक्ततापूर्ण बन्दा देश नै संबैधानिक संकटमा फस्ने अवस्था आएको छ । “प्रचण्डजीले मलाई भन्नुसम्म भन्नु भएको होला, मैले पनि उहाँलाई बाँकी नराखेको हुँला । त्यही कुरा सम्झेर त्यही कुरा गरेर बस्ने हो भने अगाडि गइँदैन । भन्ने अभिव्यक्ति दिने ओली र राजनीति सम्भावनाको खेल हो भन्ने प्रचण्डबीचको तिक्ततापूर्ण वर्तमानमा समेत झल्किने गरेको छ । दुई नेताबीचको तिक्ततापूर्ण विगत र वर्तमान अहिलेको स्वार्थगत साँठगाँठमा समेत झल्किएका कारण देशमा संबैधानिक संकट आएको विश्लेषण समेत गर्न थालिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १एक नेपालीको थाप्लोमा ७९ हजार २०० ऋण, सार्वजनिक ऋण २३ खर्ब नाघ्यो
- २विश्वासघातको आरोपमा अभिनेता अनमोल केसी पक्राउ
- ३९ दिनदेखिको आन्दोलनरत शिक्षक र सरकारबीच के के भयो सहमति, आन्दोलन फिर्ता
- ४कर्णालीका मुख्यमन्त्री राजकुमारले भने ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो लाग्छ !
- ५दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्