Techie IT
  • २१ मंसीर २०८१, शुक्रबार
KhojPatrika

यसरी पुग्यो नेकपामा प्रदेशदेखि स्थानीय तहसम्म विवाद,नेताको हत्या सम्मको घटना 


काठमाडौं । केन्द्रमा मन्त्रिपरिषद् पुर्नगठन, संबैधानिक राजनीतिक नियुक्तिको बिवाद र शिर्ष नेताहरुबीचको स्वार्थको लडाई जारी रहँदा कर्णाली प्रदेशमा ठूलै हलचल मच्चिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने उद्देश्यले निवर्तमान मुख्य सचेतक गुलाबजंग शाह सहितको १८ जना नेताहरुको हस्ताक्षर सहितको अविश्वासको प्रस्ताव बहुमतबाट अश्विकृत भएको छ । शाहले प्रमुख सचेतकको पद गुमाउँदा सीता नेपालीलाई प्रमुख सचेतकको चिठ्ठा परेको छ । अर्कोतर्फ प्रदेशको लफडा मिलाउन भन्दै सांसदहरुलाई काठमाडौं बोलाएका अध्यक्ष द्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले निकास दिन त सकेनन नै फरक फरक पत्र मार्फत दुई फरक निर्देशन जारी गरेर बिवादलाई थप बल्झाउने काम गरेका छन् ।
बालुवाटारबाट बिज्ञप्ती जारी हुने बित्तिकै खुमलटारले खण्डन गर्ने र अध्यक्षद्धयका फरक–फरक निर्देशनले कर्णाली प्रदेशको विवादले केन्द्रमा समेत हलचल मच्चाइदिएको छ । अझ, कर्णाली प्रदेशमा कार्यकारी अध्यक्ष दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालबीचको नयाँ समिकरणलाई चासोका साथ हेरिएको छ । यतिमा मात्रै सिमित छैन नेकपा भित्रको बिवाद । कर्णाली प्रदेशको बिवादले निकास पाउँदा नपाउँदै पर्सामा कार्यकर्ताबीचको कुटाकुटबाट एकजना स्थानीय नेताले ज्यान गुमाउनुपरेको छ ।
पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसौनीमा यही कात्तिक ६ गते नेकपाको गाउँपालिका कमिटीका पदाधिकारी र सदस्यहरुको शपथग्रहण कार्यक्रममा भएको नेकपाका दुई समूहबीचको झडपमा मुकेश चौरसियाको मृत्यु भएको छ भने घटनामा संलग्नलाई पक्राउ नगरिएको भन्दै अहिलेसम्म शब उठाइएको छैन । विन्दवासिनी गाउँपालिकामा आयोजित नेकपा गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रममा नबोलाएको विषयमा नेकपाकै दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका थिए । घाइतेमध्ये टाउकोमा गम्भीर चोट लागेका मुकेशको वीरगन्जस्थित एल.एस.न्युरो हस्पिटलमा उपचारका क्रममा कार्तिक ७ गते निधन भएको थियो ।
नेकपा स्थायी कमिटी सदस्य मातृका यादवसहित ३७ जना नेताहरुले नेकपा पर्साका कार्यकर्ता चौरसिया हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै संयुक्त विज्ञप्ती नै जारी गरेका छन् । जिल्ला प्रहरी कार्यालयले पीडितको जाहेरीसमेत दर्ता गर्न नमानेर कानुनी राज्यको खिल्ली उडाएको आरोप नेताहरुले लगाएका छन् । झडप भएकै दिन प्रहरीले नेकपा पर्साका नेता राजकुमार गुप्तासहित ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएपनि राति ९ बजे छोडेको थियो । गुप्ता प्रहरी नियन्त्रणमा रहेको जानकारी पाएपछि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक बशरुद्दीन अन्सारी जिल्ला प्रहरी कार्यालय पुगेका थिए । चौरसियाको अवस्था गम्भीर बनेको खबर आएपछि मेडिकलमा उपचाररत उत्तम तिवारी र चिन्टु तिवारी समेत फरार भएका थिए ।

सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी एकसाता पछि दर्ता भएको छ । बिहीबार चौरसियाको हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्ता सहित १२ जनाविरुद्ध पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको हो । पर्सा प्रहरीले एक सातादेखि जाहेरी लिन अस्वीकार गर्दै आएपछि पूर्वमन्त्री समेत रहेका नेकपा स्थायी समिति सदस्य मातृकाप्रसाद यादवको अगुवाईमा विरोध तथा धर्ना कार्यक्रम हुँदै आएको थियो ।

मृत्यु हुने चौरासिया पूर्व नेकपा माओवादी केन्द्रका नेता हुन र हत्याका आरोपिहरु पूर्व नेकपा एमालेका नेताहरु छन् । नेकपा अध्यक्ष केपी ओली प्रधानमन्त्री, पूर्व माओवादी केन्द्रका नेता रामबहादुर थापा गृहमन्त्री भएको अवस्थामा दाहाल पक्षधर नेताको हत्या हुनु र प्रहरीबाट किटानी जाहेरी नलिनुले शक्ति संघर्ष चुलिएको अनुमान गर्न धेरै कठिन छैन । केन्द्रमा शिर्ष नेताहरुबीच स्वार्थको लडाई अनि स्थानीय तह र प्रदेशमा कार्यकर्ताबीचमा कुटाकुट मात्रै होइन हत्या । यस्ता गतिबिधिले नेकपाभित्र भाँडभैलो  नै मच्चाएको छ । अझ सुशासन र सदाचारको प्रतिबद्धता गर्ने प्रधानमन्त्री तथा अध्यक्ष ओलीले हत्याका आरोपीहरुलाई संरक्षण दिएको आरोप खेप्नुपरेको छ ।

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कर्णाली प्रदेश, #नेकपा

तपाईको कमेन्ट लेख्नुहोस्