बजार महंगो,उपभोक्ता मारमा,सरकारी निकाय आफै अलमल

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व नजिकिदै गएपछि साधारणतया ४/५ वटा टोलि बनाएर बजार अनुगमन गर्दै आएको छ । विभागका टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्दै आएपनि बजारमा भने गुणस्तहिन बस्तुको विगविगी अझै रहेको छ । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले दशै आउनु अगाडी विभागले अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएपनि देखिने गरी कुनै पनि कारबाही अहिलेसम्म गर्न भने सकेको छैन ।
विभागले सबै अनुगमन टोलीलाई भूगोल नै ताकेर अनुगमन शुरु गर्न निर्देशन दिइएको विभागका महानिर्देशक नेत्रप्रसाद सुबेदीको भनाई रहेको छ । महानिर्देशक सुबेदीले अहिले कोरोनाका कारण धेरै सख्यामा गएर ठूलो मासमा अनुगमन गर्न सकिएको छैन, विभागमा परेका उजुरी र तत्काल आएका समस्यालाई लक्षित गरी अनुगमनलाई तीब्रता दिएको बताए । महानिर्देशक सुबेदीले अहिले बजारमा ४ वटा टोली परिचालन गरेर अनुगमन गरि विद्यमान ऐन कानुनअनुसार कारबाही गरि रहेको बताए । विभागले खासगरी काठमाडौंको कलंकी, बालाजु, बुढानिलकण्ठ, महाराजगञ्ज, चावहिल, कोटेश्वर तथा भक्तपुर र ललिपपुरमा समेत क्षेत्र तोकेर टोली परिचालन गरि अनुगमन गर्दै आएको छ ।
विभागसंगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र मुलकभरका सबै जिल्ला प्रशासन कार्यालयमा तोकिएका बजार अधिकृतहरूलाई समेत बजारमा उपस्थिती बढाउन निर्देशन दिएपनि अहिलेसम्म भएका अनुगमन मात्र औपचारीकतामा मात्र सिमित हुन पुगेको छ । विभागले अनुगमन गरेपनि बजारमा भने कृत्रिम अभाब, बढी मुल्यमा सामान बिक्री गरी उपभोक्ता ठगी गर्ने कार्य भने नियन्त्रण हुन सकेको छैन । सबै प्रदेश र स्थानीय तहलाई आपूर्ति सन्तुलन र मूल्य नियन्त्रणमा ध्यान दिन विभागले निर्देशन दिएको भएपनि सो अनुसार कुनै कारबाही भने भएको तथ्याङक सार्वजनिक गर्न सकेको छैन । बजार अनुगमन व्यवसायीहरूसंगैको मिलिमतो गरि अनुगमन गर्दै आएको आरोप समेत विभागमाथी लाग्दै आएको छ ।
जति नै टोली परिचालन गरेपनि विभागले बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु बिक्री बितरण नगरी उपोभोक्ता ठग्ने व्यापारीलाई अनुगमनको क्रममा कारवाहीको दायरामा ल्याउन भने अझै सकेको छैन । विभागले चार्डपर्व तथा कोरोना संक्रमणको जोखिमको सन्दर्भमा अनुगमनलाई प्रभावकारी बनाउन सबै प्रदेशहरूमा बजार निरिक्षण अधिकृतहरूलाई प्रशिक्षण दिएको थियो । एकातर्फ विभागले अनुगमन प्रभाबकारी बनाउने भन्दै कर्मचारीलाई प्रशिक्षणका नाममा रकम खर्च गर्दै आएको छ । एकातर्फ कारबाही गर्न नसकेको आरोप लागी रहेको विभागले सो आरोपबाट अहिलेसम्म मुक्त हुन सकेको छैन । अनुगमनलाई थप प्रभाबकारी बनाउने भन्दै र ठूला ठूला अबैध कार्य गरेका विषयमा भने मिसनकै रुपमा अनुगमन गरेर कारबाही गर्ने गरेको विभागका महानिर्देशक सुबेदीको दाबी रहेको छ । चाडपर्व नजिकिएसँगै बजारभाउ पनि आकाशिएको छ ।
दैनिक उपभोग्य सामानको मूल्यले उपभोक्ताको ढाड सेकाइरहेको छ । खाद्यान्नमा मिसावट र उपभोक्ता ठगी हुने गुनासो बारम्बार आइरहेका छन् । तर पनि अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको सरकारी सरोकारवाला निकाय दशैँ तिहार नजिकिएपछिमात्र बजार अनुगमनमा सक्रिय देखिने गरेको छ । विगतमा जस्तै चाडपर्वको मुखमा आएर बजार अनुगमन हुने परम्पराले यसपटक पनि निरन्तरता पाएको छ । विशेषगरी दशैँ, तिहार, छठपर्व जस्ता ठूला चाडपर्वको समयमा मात्र अनुगमन हुने र त्यसपछिको समयमा खासै अनुगमन नहुने क्रम दोहोरिएसंगै उपभोक्ता ठगीने क्रम भने अझै रोकिने अबस्था देखिदैन ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #अनुगमन शुरु, #ठग्ने व्यापारी
तपाईको कमेन्ट लेख्नुहोस्