Techie IT
  • १४ मंसीर २०८१, शुक्रबार
KhojPatrika

राजनितिक दलको लापरवाही,कोरोनाको त्रास भन्दा पनि पार्टी प्रबेश गराउने होडबाजी 


काठमाडौं । कोरोना महामारीबाट यतिबेला विश्व समुदाय आजित बनेको छ । कतिपय देशमा संक्रमण रोकथाममा सरकार र दलका नेताहरुले प्रभावकारी भूमिका खेलेपनि नेपालको हकमा भने नागरिकसँगै राजनीतिक दल र सरकार नै बेमतलबी देखिएका छन् । संक्रमण र मृत्युदर उच्च देखिदा भेन्टिलेटर अनि आईसियू मात्रै नभएर सामान्य आइसोलेसन समेत नपाउने अवस्था आएको छ । लकडाउन र त्यसपछिको निषेधाज्ञाका विच मौलाएको राजनीतिक गतिविधिले कोरोना संक्रमणलाई विस्तार गरेको छ ।
राजनीतिक दल र तीनका नेताहरुमा कोरोना संक्रमण पहिचान भएपछि राजनीतिक गतिबिधि कम हुन थालेपनि यसअघिका गतिबिधिले भने नेताहरुले कोरोना रोकथामका मापदण्ड पुरा नगरेपनि हुने हो की भन्ने देखाएको छ । कोरोना महामारीको समयमा देशका विभिन्न स्थानमा चलेका राजनीतिक गतिबिधि र भीडभाड जम्मा गरेर गरिएका यी पार्टी प्रवेश कार्यक्रमका केही तस्वीर हेरौँ ।
गत फागुन अन्तिम साता कोरोना संक्रमण पहिचान भएको नेपालमा ६ महिनामै लाख बढी संक्रमित बनेका छन् । संक्रमण दर र मृत्यु दर निरन्तर बढिरहेको छ । तर योबीचमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपासँगै प्रमुख प्रतिपक्षी दलका नेताहरु भने कोरोना रोकथाम तथा नियन्त्रणमा गम्भिर बन्न सकेका छैनन् । भारतले वैशाख २६ गते नेपाली भूमि हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेपछि नेपालको नक्सा तत्कालै जारी गर्नेमा सबै राजनीतिक दल एक ठाँउमा उभिएका थिए । लकडाउन घोषणाका बेला कोरोनामा पनि यस्तै राष्ट्रिय सहमति जस्तो देखिए पनि लकडाउन बढ्दै गएपछि राजनीतिक दल आरोप प्रत्यारोपमा उत्रिए ।
अझ अर्थतन्त्र बचाउने नाममा सबै क्षेत्र खुला गरिएपछि त आम सर्वसाधारण जस्तै जिम्मेवार बन्नुपर्ने दलका नेताहरु समेत स्वास्थ्य मापदण्ड बिपरितका गतिबिधिमा सक्रिय देखिएका छन् । कहिले प्रधामन्त्रीको केपी शर्मा ओलीको कुसी बचाउने आन्दोलन त कहिले पीसीआरको दायरा बढाउने दबाबका आन्दोलन । अनि कहिले कुलमान घिसिङ र गोबिन्द केसीको पक्षमा आन्दोलन । अझ पछिल्लो समय महिला हिंसा तथा बलात्कार बिरुद्धका आन्दोलन । यसरी गरिएका भीडभाड र राजनीतिक स्वार्थका गतिबिधिले कोरोना रोकथाम नभई विस्तार भएको छ । जनतालाई स्वास्थ्य मापदण्ड र अनुशासन सिकाउनुपर्ने दलहरु नै राजनीतिक गतिबिधिमा व्यस्त देखिदा कोरोना रोकथाममा बेवास्था बढिरहेको छ ।
यता, लामो समयको बन्दाबन्दी र रोजगारी खोसिएर मारमा परेका मजदुर तथा विपन्नहरुको गाँस र जीवन रक्षाको चिन्ता सरकार, सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलमा देखिएको छैन । महाधिबेशन तथा आन्तरिक किचलो व्यवस्थापनका नाममा बैठक अनि भेलामा व्यस्त देखिएका कुनैपनि दलले कोरोना रोकथाम तथा विपन्नहरुको भोजनका बारे कसरी व्यवस्थापन गर्ने भन्ने छलफल कहिल्यै चलाएनन् । सामाजिक अभियन्ताहरुले बरु रत्नपार्क, पाशुपत क्षेत्र, ललितपुर लगायतका विभिन्न स्थानमा रोजगारी र गास खोजिएकाहरुलाई खाना खुवाउदा समेत सरकार जनताको पीडामा बेमतलबी देखियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपा समेत जनताको सबालमा, कोरोना रोकथामलाई प्रभावकारी बनाउनेगरी सत्तारुढ दल र सरकारलाई दबाब दिन कहिल्यै पनि गम्भिर देखिएनन । बरु कोरोना कहरकै बीच भेटघाट, पार्टी प्रवेश लगायतका राजनीतिक गतिबिधिले निरन्तरता पाउँदा आईसीयू र भेन्टिलेटर मात्रै होइन, सामान्य आइसोलेसन समेतको अभावमा घरमै कोरोना संक्रमणसँग नागरिकले लड्नुपर्ने समय आएको छ । शक्ति राष्ट्रलाई समेत आच्छुआच्छु बनाएको कोरोनामाथी फगतको गफ गरेर समय खेर फल्ने की सबै दल र सरकारबीचको एकताबाट देश अनि जनता बचाउनेगरि निकास खोज्न गम्भिर बन्ने ?

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कोरोना महामारी, #जनता समाजवादी पार्टी, #नेपाली कांग्रेस, #राप्रपा, #संक्रमण र मृत्युदर

तपाईको कमेन्ट लेख्नुहोस्