भागभण्डामा मिलेको नेकपा बिवाद, अध्यक्षद्धयको प्रस्तावले नेतालाई राहात

काठमाडौं । गत असार १० गते सुरु भएर साउन १३ गते स्थगित भएको नेकपाको स्थायी कमिटि बैठक शुक्रबार बस्दैछ । सरकारको काम कारवाहीका बिषयमा नेताहरुले प्रश्न उठाएपछि पटक–पटक स्थगित हुँदै आएको बैठक शुक्रबार बस्न लागेको हो । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकमा पेश गर्ने ऐजेण्डा समेत तय गरेका छन् । कुन–कुन बिषयले प्राथमिता पाउने छ त ? स्थायी कमिटि बैठकमा । झण्डै सात महिना लामो रस्साकस्सीपछि सत्तारुढ दल नेकपामा विवाद समाधानका लागि स्थायी कमिटि बैठकमा पेश गर्ने १५ पृष्ठ लामो प्रस्ताव तयार पारिएको छ ।
पार्टी आन्तरिक किचलोमा फसेको भन्दै समाधानका लागि गत असार १० गते बोलाइएको स्थायी कमिटि बैठकमा सरकारको कामकारवाहीबारे नेताहरुले प्रश्न उठाएपछि पटक–पटक बैठक नै स्थगित भएको थियो । साउन १३ गते अध्यक्ष दाहाल र नेता माधवकुमार नेपाल, झलनाथ खनालले अर्का अध्यक्ष ओलीलाई बाइपास गर्दै स्थायी कमिटि बैठक बसालेका थिए । दुई अध्यक्षबीच सहमति खोज्ने भन्दै स्थगित भएको स्थायी कमिटि बैठक शुक्रबार बस्न लागेको हो । यसअघि गठन भएको कार्यदलले तयार पारेको प्रतिबेदनका आधारमा अध्यक्षद्धय ओली र दाहालले तयार पारेको प्रस्ताव नै स्थायी कमिटि बैठकमा पेश हुनेछ । बिगतका बैठकमा प्रधानमन्त्रीको राजीनामा मागिएपनि कार्यदलको प्रतिवेदनकै जगमा टेकेर साझा प्रस्ताव तयार पारेपछि अव राजीनाको बिषय उठ्ने छैन् ।
प्रस्तावमा प्रतिनिधिसभाको कार्यकालसम्मै ओलीले सरकारको नेतृत्व गर्ने उल्लेख छ । दाहाल कार्यकारी अधिकारसहित पार्टी बैठक सञ्चालन, निर्णयहरूको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने प्रस्ताव अघि सारिएपछि नेकपामा बिबाद मत्थर भएको देखिन्छ । त्यस्तै, पार्टी विधानबमोजिम अध्यक्षद्वयको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गरी सम्बन्धित कमिटीको बैठकमा पेस गर्ने उल्लेख छ । तदनुरूप बैठक सञ्चालन गर्ने, सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणालीलाई अवलम्बन गर्ने र सबल बनाउने प्रस्तावमा उल्लेख गरिएको छ ।
स्थायी कमिटि बैठकमा एक महिनाभित्र पार्टी एकताका बाँकी काम टुंग्याउने, ओलीले सरकार र दाहालले पार्टी सञ्चालन गर्ने, चैत २५ देखि ३० सम्म काठमाडौंमा महाधिबेश गर्ने, केन्द्र र प्रदेशका मन्त्रीहरुको हेरफेर र पुर्नगठन गर्ने,शान्ति प्रक्रियाका बाँकी काम एकबर्षभित्र टुंग्याउने, सीमा समस्या सुल्झाउन कुटनितिक बार्ता गर्ने, कोरोना नियन्त्रण तथा रोकथाम, आर्थिक पुर्नरुत्थान गर्ने लगायतका प्रस्ताव तयार भएका छन् । स्थायी कमिटि बैठकमा यहि प्रस्तावका आधारमा नेताहरुले आफनो धारणा राख्नेछन् ।
त्यस्तै, ओली र दाहाल एमसीसी सम्झौतालाई राष्ट्रिय हित अनुकूल हुने गरी आवश्यकताअनुसार परिर्माजन र संशोधन गरी पारित गर्नुपर्ने सहमतिमा पुगेका छन् । महाधिवेशनको तयारीका लागि यही असोज १५ देखि १७ गते केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने कार्यदलको प्रतिवेदनलाई पनि अध्यक्षद्वयको प्रस्तावले अनुमोदन गरेको छ । अव नेकपाका नेताहरुले सामाजिक सञ्जाल तथा अन्य गतिबिधिबाट आरोप–प्रत्यारोप समेत गर्न नपाइने गरी प्रस्ताव स्थायी कमिटि बैठकमा पेश हुँदैछ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपाको विवाद
तपाईको कमेन्ट लेख्नुहोस्