Techie IT
  • २५ मंसीर २०८०, सोमबार
KhojPatrika

जीवनभर पोलिरहने एसिडको पीडा, श्रृखलाबद्ध किन हुँदैछन् एसिड आक्रमण


काठमाडौं । नेपालमा बर्षेनी एसिड आक्रमणका घटना भइरहेका छन् । हरेक एसिडका घटना प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै बढीरहेका छन् । एक पटक एसिड प्रहार गरेपछि जीवनभर पोलिरहने बनाइरहेको छ । तर, फितलो कानुनका कारण घटना दोहोरिरहेको छ । त्यस्तै, घटना भयो पवित्रा कार्कीमाथी ।

किर्तिपुर अस्पतालको बर्न वार्डको बेड नम्बर ३१५ को छेउमा बसेर मुस्कान खातुन र जेनी खड्का एसिड आक्रमणको सिकार भएकी पवित्रा कार्कीलाई सम्झाइरहेका छन् । कुनै समय एसिड छ्यापिएको कहालीलाग्दो घटना भोगेका मुस्कान र जेनी पवित्रालाई हौसला दिन अस्पताल पुगेका रहेछन् । जेनी र मुस्कानको साथले पवित्रा केही सम्हालिएको जस्तो देखिन्थिन् त कहिले छेउमा रहेकी माईली दिदी गंगा भट्टराईको हात समातेर टोलाउँथिन । एसिडको जलन र अनगिन्ती सुई घोचेको पीडाले रातभरि सुत्न नसके जस्तो निद्रा हराएका उनका आँखा राता राता थिए । छेउमा बसेकी मुस्कान पवित्रा दिदीलाई मोटिभेट गर्न आएको भन्दै बोल्न थालिन्–‘सरकारले जबसम्म एसिडको बिक्री वितरण रोक्दैन, तबसम्म यस्ता घटना भइरहन्छन् । एसिडको बिक्रीमा कडाइ गर्नैपर्छ,’ । उनले थपिन ‘दाग छिट्टो सञ्चो हुँदैन त्यसैले अगाडिको कुरा सोच्नुपर्छ । पछि के गर्ने र बन्ने भनेर सोच्नुपर्छ । आफू रोएर अपराधीको जित कहिल्यै हुन दिनु हुँदैन । बलियो भएर बस्नुपर्छ । छेउमै रहेकी जेनी पवित्राको हात समातेर बलियो हुने कोसिस गर भन्दै सम्झाउदै थिइन् ।

हालखबर बुझ्न अस्पताल पुगेका साथीभाइ देख्दा उनी बेचैन बन्थिन्– हामी केही घण्टा अस्पताल बस्दासम्म आँखाबाट लगातार साउने झरीझैं पवित्राका आँसु बर्सिरहेका थिए । पवित्रा बेलाबेला भक्कानिएर रुदा भेट्न आउने अधिकांश भाबुक बन्थे । पवित्रा घटना बारे यसो भन्छिन्–म कोठानजिक पुग्न लाग्दा बाटोमा एकजना मान्छे पर्खालतर्फ फर्केर पिसाब फेरेजस्तै गरेर उभिएको थियो । त्यसलाई देखेर पनि नदेखे झैं गर्दै म अगाडि हिँड्न थाले । बाटोमा कोही पनि थिएन । तर, ऊ त मलाई एसिड छ्याप्न बसिराखेको पो रहेछ । एक्कासी उसैले मलाई एसिड छ्याप्यो ।
यस्तो थियो एसिड आक्रमणको घटना
बिहीबार राति ७ः५५ बजे सीतापाइलास्थित सेल्सबेरीबाट दही र चिउरा लिएर घर फर्किने क्रममा चिनेजानेकै व्यक्तिले घरको गेट नजिकै ढुकेर पवित्रा कार्कीलाई एसिड छ्यापेका थिए । एसिडले पोलेपछि दही चिउरा रुममा फालेर बाथरुम छिरेकी उनले मुख धोएर चिच्याएपछि छिमेकीले उद्धार गरेर पवित्रालाई सुरुमा मनमोहन अस्पताल पुर्याए । त्यसपछि उनलाई किर्तिपुर अस्पतालमा लगेर उपचार जारी रहँदा एसिड आक्रमणका दोषी मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महमदलाई प्रहरीले पक्राउ गरेर आवश्यक कारबाही अघि बढाएको छ । एकछोरा र एक छोरीका पीता आलमको प्रेम प्रस्ताव कार्कीले अस्विकार गर्दा एसिड आक्रमण भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पवित्राको अनुहारको दायाँ गाला पोलिएको छ भने कपाल, घाँटी र हातमा हल्का छिटा परेको छ । झण्डै ज्यान नै गुमाएकी १५ वर्षीया मुस्कान र जेनी पनि यस्तै सन्कीकै सनको सिकार भएका थिए ।
नेपालमा एसिड आक्रमणको श्रृङ्खला
बिहीबारको एसिड काण्ड काठमाडौंमा पछिल्लो ७ वर्षमा घटेको तेस्रो घटना थियो । प्रहरी प्रधान कार्यालयका अनुसार २०७१ यताका ७ वर्षमा मुलुकभर एसिड प्रहारका २१ घटना भएका छन् । १९ युवती र ४ पुरुषमाथि एसिड आक्रमण भएको छ । घटनामा संलग्न २७ पुरुष र २ महिला पक्राउ गरेको प्रहरीले २ जनामाथि कर्तव्य ज्यान, १३ जनामाथि ज्यान मार्ने उद्योग, एक जनालाई केही सार्वजनिक अपराध र ४ जनामाथि कुटपिट र अंगभंगमा कारबाही गरिएको छ ।
यस्तो छ कानुनी व्यवस्था
एसिड आक्रमण गर्नेलाई १८ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था कानुनमा छ । एसिड हानेर घाइते मानिसको ज्यान गएमा त्यसलाई कर्तव्य ज्यान मुद्दा लाग्ने प्रावधान मुलुकी अपराध संहिता २०७४ मा छ । आक्रमण गरेर शरीर कुरूप बनाउनेमाथि ज्यान मार्ने उद्योग र एसिड प्रहार गरी शरीर कुरूप बनाएका दुई कसुरमा मुद्दा चल्ने संहितामा उल्लेख छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८३ ९२० मा कसैले कसैको ज्यान मार्ने नियतले त्यस्तो अपराधमा संलग्न हुनु हुँदैन । यस्तो कसुर गर्ने गराउनेलाई १० वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ ।

संहिताको दफा १९३ अनुसार तेजाब वा अन्य रासायनिक जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पार्नेलाई कसुरको प्रकृति हेरी अनुहार कुरूप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि ५ लाखसम्म जरिवाना र शरीरको अन्य अंग कुरूप पारेमा वा शरीरमा पीडा पुर्याएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । जरिवानाबापत प्राप्त हुने पूरै रकम पीडितले पाउने कानुनी व्यवस्था छ । तर एसिड आक्रमणमा परेर अहिलेसम्म सुन्दरता गुमाएको पीडा ब्यहोर्नेहरु कडा कानुन नहुँदा यस्ता घटनाले निरन्तरता पाएको बताउँदै आएका छन् ।
बर्षेनी किन हुन्छन एसिड आक्रमणका घटना ?
केही घटनामा प्रेमी प्रेमिकाको खटपटले एसिड प्रहार भएका छन भने केही केही घटनामा प्रेम प्रस्ताव स्विकार नगरेका कारण युवतीहरुमाथी एसिड प्रहारको घटना भएका छन् । अधिकांश घटनामा पुरुषको संलग्नता देखिएको छ । युवतीहरुको आकर्षक अनुहारबाट मोहित भएका र एकोहोरो प्रेममा परेका युवा तथा बिवाहित पुरुषबाट समेत युवतीहरुमाथी एसिड प्रहार भएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #एसिड आक्रमण

तपाईको कमेन्ट लेख्नुहोस्