यी तथ्यहरुले भन्छ समुदायस्तरमा कोरोना फैलिइसक्यो

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या १६ हजारबाट उकालो लाग्दा काठमाडौं उपत्यकामा मात्रै संक्रमितको संख्या ३०९ बाट उकालो लाग्दैछ । संक्रमितहरु हरेक दिन बढ्दा सरकारले पीसीआर परिक्षण गर्ने ल्याबको संख्या पनि बढाएर २५ पुर्याएको छ । तर सोचेजस्तो परिक्षणलाई तिब्रता दिन सकिएको छैन । उच्च संक्रमण देखिएका जिल्लाहरुमा संक्रमितको संख्या घट्दैगर्दा पछिल्लो केही दिनदेखी काठमाडौं उपत्यकामा दिनहु कोरोना संक्रमित बढिरहेका छन् । यसरी थपिएका संक्रमित मध्ये ३० भन्दा बढी संक्रमितको ट्राभल हिस्ट्रि नै छैन । अर्थात उनीहरु संक्रमित व्यक्तिको सम्पर्कमा वा संक्रमणको जोखिम रहेका क्षेत्रबाट यात्रा गरेका व्यक्ति पनि होइनन् । काठमाडौं उपत्यका सहित देशैभर संक्रमणको श्रोत पहिचान गर्नै समस्या व्यहोर्नुपरेका व्यक्तिहरुको संख्या बढिरहेको छ ।
सरकार अझै पनि स्थानीय संक्रमण हुँदै समूदायस्तरमा कोरोना बिस्तार भएको स्विकार्न तयार देखिएको छैन । तर धेरै भीडभाड र संक्रमितहरु घुलमिल हुनसक्ने सम्भावित क्षेत्र भन्दै काठमाण्डौका तीनकुने, शंखमूल, टोखा, कपन, ललितपुरको नख्खु र खुसिबु तथा भुक्तपुरका बोडे लगायतका केही स्थानमा समूदायस्तरमा स्वाब स्वाब संकलन गरेर सरकारले स्थानीय संक्रमणको आशंका सही सावित गराउन खोजिरहेको छ ।
पछिल्लो केहिदिन यता उपत्यकामा संक्रमण दर ह्वात्तै बढेसँगै समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिएको छ । संक्रमणको टे«सिङको जिम्मेवारी पाएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा छिट्फुट रुपमा संक्रमण देखिए पनि समुदायमा कोरोना नफैलिएको दाबी गरिरहेको छ । यता, स्वतन्त्र विज्ञहरु काठमाडौं उपत्यका र कर्णाली प्रदेशका केही स्थानमा समुदाय स्तरमा संक्रमण फैलिएको दाबी गर्दै परिक्षण व्यापक नबनाईए थप जोखिम बढ्नेतर्फ सरकारलाई चेतावनी दिइरहेका छन् ।
यस्ता छन् समूदायस्तरमा कोरोना सरेका केही तथ्य
एक : काठमाडौं उपत्यकामा कोरोना पुष्टि भएका ३० बढीको ट्राभल हिस्ट्रि नहुनु ।
दुई : काठमाडौंका केही प्रतिनिधि ढलमा समेत कोरोना भाइरसको संक्रमण पहिचान हुनु ।
तीन : सामान्य घर वरपर हिडडुल गर्ने र काम बिशेषले अस्पताल गएकाहरुकै कोरोना संक्रमणबाट मृत्यु हुनु ।
ट्राभल हिस्ट्र नहुनेहरुमा संक्रमण कर्णाली प्रदेशको दैलेख लगायतका जिल्लामा पनि देखिएको छ । प्रदेश १, दुइ, पाँच, कर्णाली र सुदुरपश्चिम प्रदेशमा भारतबाट स्वदेश फर्किएकाहरुबाट जोखिम बढ्दा काठमाडौं उपत्यकामा लकडाउन खुकुलो भएसँगै बढी संक्रमित पहिचान भएका क्षेत्रबाट भित्रिनेहरुबाट जोखिम बढिरहेको छ । अहिलेसम्म ३० बढीमा अन्यबाट कोरोना सरेको आशंका गरिएपनि संक्रमणको श्रोत एकिन गर्न सकिएको छैन । ललितपुरका एक बालकको मेडिसिटी अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया गर्नुअघि पीसीआर टेष्ट गर्दा कोरोना पुष्टि भयो ।
भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी, टोखा बस्ने सशस्त्र प्रहरी जवान, रसियन दूतावासको सुरक्षामा खटिएका जनपथ प्रहरीसँगै ललितपुरको चापागाउँ, हात्तीवन, थसिखेल, नख्खिपोट र भक्तपुर गठ्ठाघरका ट्राभल हिस्ट्री नभएका संक्रमितको संक्रमण श्रोत नै पहिचान भएको छैन । तारकेश्वर नगरपालिका ४ की एक महिला समेत घर र अस्पतालको ओहोरदोहोरमै संक्रमित भएकी छिन् । छिटफुट रुपमा ट्राभल हिस्ट्र नभएकाहरु संक्रमितका रुपमा पहिचान हुँदा समेत कन्ट्याक ट्रेसिङ सुस्त छ । संक्रमित कुन ठाउँका हुन भन्ने पहिचान गर्दै दुई तीन दिन लग्दा झनै जोखिम बढिरहेको छ ।
संक्रमणको श्रोत पहिचान नभएका केही प्रतिनिधि घटना
१.बह्रबिसेकी सुत्केरी महिलाको मृत्यु
जेठ ३ गते कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्युको घोषणा भयो । मृतक सिन्धुपाल्चोक, बाह्रबिसेकी १० दिनकी सुत्केरी थिइन् । उनको ट्राभल हिस्ट्री त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, गाउँकै स्वास्थ्य चौकी र धुलिखेल अस्पताल थियो । तीनवटा स्वास्थ्य संस्था धाउँदा र श्वास प्रश्वासमा समस्या आउँदा पनि उनको कोभिड परीक्षण भएन मृत्युपछि गरिएको परिक्षणको कोरोना पुष्टि भएपनि संक्रमणको श्रोत अझै पत्ता लागेको छैन ।
२.गुल्मी मदानेका शिक्षकको मृत्यु
जेठ ८ गते रुपन्देहीको मणिग्रामस्थित अस्पतालमा भर्ना भएका गुल्मी मदानेका एक शिक्षकको मृत्यु भयो । मृत्यु हुनुअघि नै कोभिड १९ पुष्टि भएको उनको ट्राभल हिस्ट्री गाउँपालिकाको स्वास्थ्य चौकी, अर्घाखाँचीको क्लिनिक र मणिग्राम अस्पताल मात्रै देखिन्छ । उनको पनि संक्रमण स्रोत पत्ता लागेको छैन ।
३.बाराका एक बृद्धको मृत्यु
जेठ ४ गते मृत्यु भएका बाराका एक बृद्धको सोही दिन अन्त्येष्टि गरियो । जेठ १२ गते कोरोना संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको घोषणा भयो । तर अहिलेसम्म संक्रमणको स्रोत पत्ता लागेन ।
४.ललितपुरका ५७ बर्षिया पुरुषको मृत्यु
जेठ १४ ललिलपुरको किस्ट अस्पतालमा ५७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भयो । पाटन अस्पतालमा आईसीयू नभएर किस्ट रिफर गरिएको उनलाई अल्कोहलिक लिभर डिजिज थियो । मृत्युपछि कोरोना संक्रमण रहेको रिपोर्ट आयो । तर संक्रमण स्रोत पत्ता लगाउन सरकारले सकेन ।
कोरोना संक्रमणका कारण मृत्यु भएका र संक्रमण स्रोत पत्ता नलागेका यी प्रतिनिधि उदाहरण मात्रै हुन पछिल्लो समय कोरोना संक्रमणका कारण ज्यान गुमाउने यस्ता धेरै उदाहरण छन् । अझ, संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेका दर्जनौं संक्रमितलाई कहाँबाट कोरोना सर्यो एकिन गर्न सकिएको छैन । यस्ता घटनाले कोरोना संक्रमण समुदायमा फैलिएको संकेत गरिरहेका छन् । तर पीसीआर जाँचको दायरा बढाउन समेत आनाकानी गरिरहेको सरकार समुदाय स्तरमा स्वाब संकन गरेर जोखिमको अवस्था एकिन गर्न गम्भिर नबन्दा कोरोना भाईरस संक्रमणले तप विस्तार पाउने र जोखिम बढाउने भय, लक डाउन खुकुलो भएसँगै देशैभर बढिरहेको छ ।
हरेक मानिस हरेक बिहान तरकारी लिन बजार जान्छन् । कोही काम परेर अस्पताल जान्छ । कोही अफिस अनि पसल । खाजा खान पसल छिर्छन। यो बीचमा दर्जनौं मानिससँग भेट हुनसक्छ । उनीहरुमध्ये एक जनालाई मात्र कोरोना संक्रमण रहेछ भने पनि सर्ने जोखिम रहन्छ । तसर्थ सरकारको मुख ताक्ने मात्रै नभई कोरोना महामारी रोक्न व्यक्ति व्यक्ति पनि सचेत बन्नुपर्ने हुन्छ । लकडाउन खुकुलो भयो भन्दैमा अत्यावश्यक काम बाहेक हिडडुल नगरौँ । निश्किनै परेमा स्वास्थ्य सावधानी सहित निष्किनुहोस् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #समुदायस्तरमा कोरोना
ताजा खबर
- १डा.बाबुराम भट्टराईले किन दिए कुकुरले घाँस खाने अभिब्यक्ती ?
- २गगन थापाको प्रस्तावः निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ
- ३निजामती कर्मचारी संगठनको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, रेवन्त गौतम र भवानी दाहाल प्रतिष्पर्धामा
- ४ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
- ५मःम पसलको ग्यास विस्फोट घटनाः अर्का एक जना घाइतेको पनि मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्