Techie IT
  • २९ असोज २०८१, मंगलबार
KhojPatrika

बढ्दै कोरोना संक्रमित, भारतसँग सीमा जोडिएका जिल्ला उच्च जोखिममा


काठमाडौं ३१ बैशाख । पछिल्लो दुई दिन अर्थात सोमबार र मंगलबार मात्रै नेपालमा १ सय ७ जना कोरोना संक्रमितको पहिचान भयो । मंगलबार एकैदिन सबैभन्दा बढी ८३ जना र सोमबार २४ जना संक्रमित पहिचान भएपछि कोरोना महामारि तिब्र गतिमा बढ्ने आँकलन गर्न थालिएको छ । कोभिड १९ संक्रमणको पहिलो केस देखिएको ५८ दिनपछि मात्र दोस्रो केस देखिएको तीन महिनासम्म संक्रमितको संख्या ३० मात्रै थियो । तर पछिल्लो एक महिनामा अर्थात बैशाखमा मात्रै १ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पहिचान भएपछि स्वास्थ्य क्षेत्रमा मात्रै होइन् सिंगो देशमा नै तरंग पैदा भएको छ । पछिल्लो समय एकाएक उकालो लागेको संक्रमणको ग्राफलाई सरकारी विज्ञहरुले नै खतराको संकेत भन्न थालेका छन् । वैशाख ५ गते उदयपुर र चितवनमा गरी १४ जनामा संक्रमण देखिएपछि निरन्तर बढ्न थालेका कोरोना संक्रमितको संख्या मंगलबार साझसम्म २ सय १७ पुगेको छ ।
बुधबार दिउँसो पनि कपिलबस्तु र बाँकेका एक एक जना थपिएपछि संक्रमितको संख्या २१९ पुगेको छ । कोरोनाको उच्च जोखिममा रहेका प्रदेश पाँच र २ मा भारतबाट नेपाल भित्रिनेहरु नै कोरोना रोकथाम र नियन्त्रणका लागि चुनौती बनिरहेका छन् । केही सुरक्षित मानिएका काठमाडौं उपत्यकामा समेत संक्रमित पहिचान हुन थालेका छन् । मंगलबार ८३ जनामा कोरोना संक्रमण पहिचान हुँदा वीरगञ्जमा दुई र जनकपुरमा १ जान सञ्चारकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै नेकपाका प्रभावशाली नेता भीम रावलका भक्तपुर निवासी सुरक्षा गार्डमा समेत कोरोना पहिचान भएको छ । ललितपुरको पुल्चोकस्थित आरोग्य फाउण्डेशनमा कार्यरत एक नर्स र कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत अर्की नर्समा कोरोना पोजेटिभ देखिएको घटनाले विदेशबाट आएका व्यक्तिमा सिमित देखिएको कोरोना तिब्र गतिमा फैलिन थालेको शंकेत गराएको छ । अहिले सरकारले उदयपुरको भुल्के, वीरगञ्ज, नेपालगञ्ज, रुपन्देही र कपिलवस्तुलाई कोभिड १९ को हटस्पट मानेर पहिचान तथा संक्रमण रोकथामको कार्य गरिरहेको छ । यसबाहेक भारतसँग सिमाना जोडिएका विशेषगरी प्रदेश २ र पाँचका अधिकांश जिल्लालाई डेन्जर जोनमा राखेर सावधानी अपनाइएको छ । तर सीमा क्षेत्रमा बढ्दै गरेको आवतजावतले जोखिम बढाइरहेकोतर्फ सरकार सचेत बन्न सकिरहेको देखिदैन ।
खुला सीमाका कारण भारतबाट रातको समयमा नेपालीहरु लुकिछिपी आउने क्रम बढ्दा र उनीहरु मध्ये कतिपय काठमाडौं उपत्यकामा समेत प्रवेश गरेको पाइनुले जोखिम थप बिस्तार भैरहेको देखाएको छ । नेपाल भारत सीमा क्षेत्रको कुन ठाउँबाट कति मानिस आए भने एकिन रेकर्ड राख्न नसकेको सरकारले कोरोना जाँच किट समेत मागेजति उपलब्ध गराउन नसकेको गुनासो बढिरहेको छ । कतिपय जनप्रतिनिधि त परिक्षणको दायरा बढाएसँगै संक्रमित सयौँको संख्यामा थपिने दाबी गरिरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञहरु नै भारतबाट आउनेहरुका कारण कोरोनाको जोखिम क्षेत्र अझ बढ्ने आँकलन गरिरहेका छन् । यसले के देखाउँछ भने हरेक नागरिक सतर्क नभए कोरोना हाम्रो नियन्त्रणभन्दा बाहिर जानसक्छ । पर्सामा भेटिएका केही संक्रमित र कपिलवस्तुका २९ जनामा भाइरसको लोड धेरै देखिएकाले संक्रमण दर उच्च हुनसक्नेतर्फ कतिपय विज्ञहरुले सरकारलाई ध्यानाकर्षण गराइरहँदा पनि सरकार भारतबाट आउनेहरुलाई रोक्न वा व्यवस्थित गर्न सकिरहेको छैन । तिब्र गतिमा कोरोना संक्रमित पहिचान गरेर महामारीको जोखिम रोक्न सरकार बेलैमा गम्भिर बनोस् । अनि आम नागरिक पनि लकडाउनको पुर्णपालना गर्दै सुरक्षित हुनेतर्फ सचेत बनौँ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #बढ्दै कोरोना संक्रमित

तपाईको कमेन्ट लेख्नुहोस्