समाधान नै नभई किन सेलाउछ भारतसँगको लिपुलेक बिवाद

काठमाडौं २९ बैशाख । नेपाल र भारतबीचको सीमा समस्या पटक–पटक बल्झिने अनि यत्तिकै सेलाउने गरेको लामै समय भयो । भारतीय पक्षबाट सीमा क्षेत्रको भूगोल मिचिएको र सडक लगायतका पूर्वाधार निर्माण गरेको बिषय बेलाबेलामा बाहिर आईरहेपनि कुटनीतिक तहबाट दिर्घकालिन समाधान नखोजीदा सीमा र भूगोल बारेको बिवाद बल्झिने गरेको छ । शुक्रबार मात्रै पनि भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपालमा चर्को बिरोध भैरहेको छ । युवा विद्यार्थीहरु आन्दोलित भैरहँदा सबैजसो राजनीतिक दलले भारतीय कदमको बिरोध गरेका छन् । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेसँगै चर्को बिरोध भएपछि सरकारले समेत विज्ञप्ती मार्फत भारतीय कदमको आपत्ति जनायो । प्रधानमन्त्री समेत रहेका सत्तारुढ दलका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले समेत संयुक्त हस्ताक्षर सहितको विज्ञप्ती जारी गरेर नेपालको सार्वभौमसत्तामा आँच पुर्याएको भन्दै आपत्ती प्रकट गरेका छन । यता, नेपाल सरकारले विज्ञप्ती जारि गरेर ध्यानाकर्षण गराएसँगै भारतीय विदेश मन्त्रालयले समेत उक्त सडक भारतीय क्षेत्रमा बनेको दाबी गर्दै नेपाल सरकारलाई जवाफ फर्काएको छ । भारतीय विदेश मन्त्रालयले नयाँ सडकमार्फत कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरुले प्रयोग गर्ने पहिलाकै बाटो पछ्याइएको उल्लेख मात्रै गरेको छैन नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको भन्दै कूटनीतिक सम्वादबाट समस्या समाधान गर्न प्रतिबद्धता जनाएको छ । दुबै देशले कोरोना महामारीपछि परराष्ट्र सचिवस्तरीय वार्ताको मिति तय गरेर सीमा बिवादको दिर्घकालिन समाधान खोज्नुपर्नेमा करिब–करिब सहमत देखिएका छन् । तर यत्तिले मात्रै नागरिकमा बढेको भारत प्रतिको आक्रोस र असन्तुष्टी साम्य हुने देखिदैन । सडकदेखी सदनसम्म लिपुलेकमा भारतीय पक्षले गरेको थिचोमिचोको बिरोध भैरहेको छ । यता कुटनीतिक तथा सिमा क्षेत्रका जानकारहरु पटक पटक बल्झिने सीमा समस्याको दिर्घकालिन निकास खोज्ने प्रयास नभएको भन्दै सरकारलाई बलियो कुटनीतिक उपस्थिति देखाउन सुझाब दिइरहेका छन् । उनीहरु आन्दोलन मार्फत प्रतिशोध साध्ने भन्दापनि भैगोलिक नक्सा अध्ययन गरेर कुटनीतिक माध्यमबाटै दिर्घकालिन समाधान खोज्नुपर्नेमा जोड दिन्छन् । नेपाल मामिलाका कतिपय जानकार त सीमा क्षेत्रमा नेपाल सरकारको कमजोर उपस्थिति भएका कारण समेत बेलामौकामा समस्या बल्झिनेगरेको बताउँछन् । सरकार र कुटनीति कमजोर हुँदा आफ्नो भुमि रक्षा गर्न नसकिएको उनीहरुको तर्क छ । नेपालले लिपुलेक क्षेत्रमा बनाइएको भारतीय सडकले करिब १९ किलोमिटर आफ्नो भूमि मिचेको दाबी गर्दैगर्दा भारत सरकार भने आफ्नै भूमी प्रयोग भएको प्रष्टिकरण दिइरहेको छ । लिपुलेक मात्रै होइन पछिल्लो समय कालापानी क्षेत्रमा समेत सुरक्षा निगरानी बढाउनुपर्ने आवाज उठ्न थालेको छ । यो मात्रै होइन्, नेपाल भारत सीमा क्षेत्रमा अन्य धेरै बिवाद र समस्या छन् । यी सबै समस्याको दिर्घकालिन निकास संसद, सडक, पार्टीकार्यालयबाट अभिब्यक्त हुने बिरोध र आन्दोलनबाट होइन्, बलियो कुटनीतिक उपस्थितिबाट खोज्न सरकार गम्भिर बन्नुपर्छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #लिपुलेक बिवाद
ताजा खबर
- १डा.बाबुराम भट्टराईले किन दिए कुकुरले घाँस खाने अभिब्यक्ती ?
- २गगन थापाको प्रस्तावः निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ
- ३निजामती कर्मचारी संगठनको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, रेवन्त गौतम र भवानी दाहाल प्रतिष्पर्धामा
- ४ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
- ५मःम पसलको ग्यास विस्फोट घटनाः अर्का एक जना घाइतेको पनि मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्