Techie IT
  • १९ कात्तिक २०८३, बुधबार
KhojPatrika

किन बढ्यो प्रधानमन्त्री बालेन र कांग्रेस सभापति गगनबीच टकराव ?


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र कांग्रेस सभापति गगनकुमार थापाबीचको राजनीतिक भिडन्त चर्किएको छ । इनम सापकोटा प्रकरण, पत्रकार पक्राउ र प्रेस स्वतन्त्रताको विषयले चर्किएको विवादमा दुवै नेताले एकले अर्कोलाई कटाक्ष गर्दै एकअर्कालाई चुनौती दिइरहेका छन् । फेसबुकका स्टाटसदेखि राजनीतिक मञ्चसम्म देखिएको यो टकरावले सत्ता र प्रतिपक्षबीचको सम्बन्ध थप तनावपूर्ण बनाएको छ । उता, रवि लामिछानेसँग गगनको बढ्दो निकटताले पनि राजनीतिक वृत्तमा नयाँ चासो थपेको छ । इनम सापकोटा प्रकरणपछि प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीचको राजनीतिक टकराव देखिएको छ ।

पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि भएको धरपकडलाई लिएर कांग्रेसले सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनायो । पत्रकार सम्मेलन गर्दै सभापति थापाले पत्रकार पक्राउ गर्ने र सञ्चार क्षेत्रलाई त्रसित पार्ने सरकारी रवैया कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे । लोकतन्त्रमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास सह्य नहुने भन्दै उनले सरकारको कदममाथि प्रश्न उठाए । तर, यो विवाद पत्रकार पक्राउमा मात्रै सीमित छैन ।

पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह र कांग्रेस सभापति थापाबीच सार्वजनिक अभिव्यक्तिसँगै सामाजिक सञ्जालमार्फत पनि आरोप–प्रत्यारोप चल्न थालेको छ । कांग्रेसको आधिकारिकता प्राप्त गर्न आफूले १८ करोड रुपैयाँ दिएको भन्ने प्रचार प्रधानमन्त्री बालेनको सचिवालयबाटै फैलाइएको थापाको गम्भीर आरोप छ । यही आरोप र १८ करोडको चर्चाले दुई नेताबीचको विवादलाई थप चर्काएको छ । गगनले पत्रकार सम्मेलन नै गरेर सरकारको आलोचना गरेपछ आइतबार प्रधानमन्त्री बालेनले फेसबुकबाट ‘सही समय आएपछि सबैको गलत समय आउँछ । एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।’ भन्ने स्टाट्स लेखे ।

त्यसको भोलिपल्ट सोमबार साँझ ठीक ६ बजे कांग्रेस सभापति गगन थापाले फेसबुकमा ‘अहिले ठीक १८ः०० बजेको छ । तर्साउने धेरै आए, तर्सिने बानी परेन ।’ भन्दै प्रधानमन्त्री बालेनलाई जवाफ फर्काए । यद्यपि, दुवैले एकअर्काको नाम प्रत्यक्ष उल्लेख गरेका छैनन् । तर, स्टाटसको भाषा र समयले यी अभिव्यक्तिलाई एकअर्काप्रतिको राजनीतिक कटाक्षका रूपमा हेरिएको छ । यसरी प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका सभापतिबीचको विवाद अब पत्रकार सम्मेलन र सार्वजनिक अभिव्यक्तिमा मात्रै सीमित नभई फेसबुक वारसम्म पुगेको छ ।

अर्कोतर्फ, गगन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भने पछिल्लो समय सम्बन्ध सुधार हुँदै गएको देखिन्छ । केही समयअघिसम्म राजनीतिक प्रतिस्पर्धीका रूपमा रहेका यी दुई नेताबीच पटक–पटक छलफल र संवाद हुन थालेको छ । आपसी कुराकानी र राजनीतिक भेटघाटसँगै दुवै नेताका महाधिवेशनमा एकअर्काको सहभागिताले पनि सम्बन्धमा आएको परिवर्तनलाई संकेत गर्छ । रविसँग संवाद र निकटता बढ्दै जाँदा गगनले प्रधानमन्त्री बालेनप्रति भने आक्रामक अभिव्यक्ति दिन थालेका छन् ।

यसले राष्ट्रिय राजनीतिमा नयाँ राजनीतिक समीकरण र सम्बन्धको बहससमेत सिर्जना गरेको छ । एकातिर रविसँग संवादको ढोका खुला राख्ने र अर्कोतिर बालेन सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाउने गगनको पछिल्लो राजनीतिक भूमिकालाई चासोका साथ हेरिएको छ । रास्वपाको नेतृत्वसँग संवाद कायम राख्दै सरकार प्रमुखको भूमिकामा रहेका बालेनलाई प्रश्न गर्नु गगनको राजनीतिक प्राथमिकताको भिन्नता पनि हुन सक्छ ।

अर्कोतर्फ, बालेन नेतृत्वको सरकारलाई प्रश्नविहीन रूपमा अघि बढ्न नदिने र कांग्रेसलाई प्रभावकारी प्रतिपक्षीका रूपमा स्थापित गर्ने चुनौती पनि गगनसामु छ । सरकारका निर्णय, कार्यशैली र अभिव्यक्तिमाथि उनले निरन्तर प्रश्न उठाइरहेका छन् । प्रधानमन्त्रीलाई प्रश्न सोध्न आफू नभाग्ने र नडराउने उनको उद्घोष केवल व्यक्तिगत चुनौती नभई सरकारको जवाफदेहितामाथि दबाब सिर्जना गर्ने राजनीतिक सन्देश पनि हो । तर, प्रश्न उठाउने र जवाफ दिने नाममा राजनीति व्यक्तिगत आरोप–प्रत्यारोपमै सीमित भयो भने प्रेस स्वतन्त्रता र सरकारको जवाफदेहिताजस्ता मूल मुद्दा ओझेलमा पर्ने जोखिम छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं