Techie IT
  • २ साउन २०८२, बिहीबार
KhojPatrika

मिथेन ग्यास र फलाम उत्खननमा शीघ्र लाग्न प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा रहेको ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानीको उत्पादनका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरूसँग छलफल गरेका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण कार्यको नतिजा र भावी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो ।

चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिल साइटमा ११२.१ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार देखिएको र अन्य क्षेत्रमा पनि ग्यासको भण्डार रहेको अनुमान गरिएको छ ।

प्रधानमन्त्री ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी परीक्षण मिथेन ग्यासको उत्पादनमा गम्भीरतापूर्वक लाग्न निर्देशन दिँदै यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कुनै कमी नहुने स्पष्ट पारे ।

यसैगरी, धौवादी फलाम कम्पनी लिमिटेडले पूर्वी नवलपरासीमा भइरहेको ड्रिलिङ कार्य तथा फलाम खानीको सम्भाव्यता अध्ययन र प्रक्रिया अगाडि बढिरहेको विषयमा प्रधानमन्त्री ओलीलाई अवगत गराइएको छ ।

कम्पनीले आगामी सय वर्षका लागि पुग्ने गरी करिब ९९ मिलियन टन फलामको धाउ भण्डार उत्खनन गर्न सकिने जानकारी गराएको छ । कम्पनीको प्रस्तुतिअनुसार नियमित प्रक्रियाबाट २०८५ सालभित्रमा फलामरस्टिल उत्पादन गर्न सकिनेछ ।

प्रधानमन्त्री ओलीले २०८५ सालअघि नै फलामरस्टिल उत्पादन गरी बिक्री र उपयोगमा ल्याउने गरी तयारी गर्न निर्देशन दिए । उनले यस कार्यका लागि स्रोत, साधन र कानुनी सहजीकरणमा सरकारले सबै प्रबन्ध गर्ने स्पष्ट पारे ।

छलफलमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, दैलेखका सांसदहरूलगायत सहभागी थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्