Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

नेपाली कांग्रेसमा सभापतिका आकांक्षी धेरै, गुटबाट उपगुट बनाउन नेताहरुको दौडधुप


काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनका क्रममा जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्मको नतिजा अनुसार शेरबहादुर देउवा र पौडेल समूहको कडा प्रतिस्पर्धा देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पुन एक पटक सभापतिमा दोहोरिने मनसायका साथ रणनीति बनाएका छन् । संस्थापनपक्षलाई टक्कर दिएर साझा उम्मेदवार बनाउने रणनीतिमा लागेको पौडेल समूह भने अझै अलमलमै देखिएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा सभापति शेरबहादुर देउवाले पुन सभापतिमा दोहोरिने रणनीतिका साथ आफू नजिकका नेतासँग छलफल गरिरहेका छन् । देउवा समूहबाट अलग भइ, विमलेन्द्र निधीले सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । पछिल्लो समय सभापति शेरबहादुर देउवाले विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ र कृष्णप्रसाद सिटौलासँग पनि विभिन्न चरणमा महाधिवेशन केन्द्रित संवाद गरेका छन् ।

आफूलाई देउवा समूहभन्दा बलियो ठान्ने पौडेल समूह भने अझै साझा उम्मेदवार बनाएर महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई चुनौती दिने विषयमा अलमलमै परेको छ । पौडेलसमूहभित्र सभापतिका आकांक्षी धेरै भएकाले एकले अर्कोलाई छाड्ने परिस्थिति देखिएको छैन । यतिसम्म कि डाक्टर शेखर कोइराला र डाक्टर शशांक कोइरालाबीच पनि सहमति हुनसकेको छैन । पौडेल समूहकै प्रकाशमान सिंहले पनि अरुलाई सहयोग गर्ने अवस्था देखिदैन । सिंह आफै पनि सभापतिका उम्मेदवार हुन् ।

यस्तो अवस्थामा पौडेल समूह कै सुजाता कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । पछिल्लो समय नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश अधिवेशनअघि केन्द्रीय सभापतिको साझा उम्मेदवार तय गरिसक्ने भने पनि अझै निर्णयमा पुग्न सकेका छैनन् । पौडेल समूहभित्रको मतमतान्तरले निर्णयमा पुग्नसक्ने अवस्था पनि देखिएको छैन ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन अन्तर्गत अहिलेसम्म ५२ जिल्लामा जिल्ला सभापति निर्वाचित भइसकेका छन् भने १४ जिल्लामा जिल्ला अधिवेशन नै चलिरहेको छ । यसैगरी दुई नम्बर प्रदेशका सात जिल्लामा क्षेत्रीय अधिवेशन हुने क्रम सुरु भएको छ । दुई नम्बर प्रदेशकै सर्लाही जिल्लामा भने वडा अधिवेशन नै विवादका कारण स्थगित छ । यस प्रदेशमा अरु प्रदेशकोभन्दा फरक तरिकाले शेरबहादुर देउवा, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल र कोइराला समूहले छुट्टाछट्टै उम्मेदवार उठाएका छन् ।

पार्टीले तोकेको समयमा अधिकांश जिल्ला र स्थानीय तहमा अधिवेशन हुन नसक्दा केन्द्रीय महाधिवेशनका लागि साझा उम्मेदवार बनाउन सवै समूहलाई समयले भने साथ दिएको छ । तै पनि आपसी खिचातानीका कारण साझा उम्मेदवार तय गर्न सकेका छैनन् । केन्द्रीय महाधिवेशनअघि प्रदेश अधिवेशन हुने भएकाले अहिले प्रदेशतिर सवैको ध्यान केन्द्रित भएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं