Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

नयाँ बसपार्कमा अव टिकट कम्युटर प्रणालीबाट


काठमाडौं । नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएकोमा अव कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ । काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यले कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको बताइएको छ ।

नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउनका लागि वैशाख १ गतेदेखि बन्द गरिएका टिकट काउण्टर कोरोनाको दोस्रो लहरको निषेधाज्ञापछि कम्युटर प्रणाली र प्रविधिको प्रयोग गरी सञ्चालनमा ल्याइएको हो । टिकट काउण्टरलाई ‘डिजिटल प्रणाली’मा लगेसँगै अब टिकट काउण्टरमा बस्ने कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनुपर्ने भएको छ । प्रविधिको प्रयोगसँगै यात्रुले अब कुन कम्पनीको कति नम्बरको गाडी कुन समयमा कुन गन्तव्यस्थानमा कति यात्रु लिएर जान्छ भन्ने कुरा स्पष्ट थाहा पाउन सकिने बताइएको छ ।

कम्युटर प्रणाली अपनाएसँगै गाडीमा सिट भए वा नभएको प्रष्ट थाहा पाउने हुनाले आफूले चाहेको टिकट सजिलै काट्न सकिनेछ । नयाँ बसपार्कबाट हाल ६५ भन्दा बढी जिल्लामा एसी, डिलक्स र साधारण खालका सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । नयाँ बसपार्कभित्रका ३२ टिकट काउण्टरले हाल कम्युटर प्रणालीमार्फत बसको टिकट काट्न सुरु गरेका छन् ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जीनियर दीपक कुँवर टिकट काउण्टरलाई प्रविधिमा लगेसँगै बसपार्कका काउण्टरमा हुने भीडभाड र यात्रु तानातानको अवस्था अन्त्य हुने जानकारी दिए । नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कका रूपमा विकास गर्ने लक्ष्यअनुसार काउण्टरमा प्रविधिको प्रयोगलाई जोड दिइएको अध्यक्ष कुँवरको भनाइ छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #नयाँ बसपार्क

तपाईको कमेन्ट लेख्नुहोस्